यस्ता छन् ठूला दलहरुको घोषणापत्रमा ‘स्वास्थ्यका एजेण्डा’
काठमाडौं । करिब २० वर्षपछि नेपालमा स्थानीय निकायको चुनाव हुँदैछ । अन्योलका बिच दुई चरण बैशाख ३१ र जेठ ३१ गते स्थानियतहको निर्वाचन तय भएको छ ।
चुनावसँगै राजनीतिकदलहरुले आफ्ना महत्वकांक्षी घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् । घोषणपत्रमा सबै राजनीतिकदलहरुले स्वास्थ्यका कुराहरुलाई प्रथामिकताका साथ समावेश गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति लगायतका दलले घोषणपत्रमा स्थानीयतहमा सुविधा सम्मन्न अस्पताल स्थापना गर्ने, सरकारले नै लागु गरिरहेको स्वास्थ्य बीमालाई अनिवार्य गर्ने जस्ता योजनाहरु छन् ।
कांग्रेसको प्राथमिकता अस्पताल
नेपाली कांग्रेसले स्थानीयतहको निर्वाचनको घोषणपत्रमा स्वास्थ्यका निम्न विषय वस्तुलाई प्राथमिकतामा राखेको छ ।
प्रत्येक गाँउपालिकामा प्रसुती सहितको १५ शैयाको अस्पताल निमार्ण देखि सबै नगरपालिकामा २५ देखि ५० शैयाको अत्याधुनिक अस्पताल निमार्ण गर्ने ।
त्यसैगरी प्रत्येक वडामा तलबी नर्स स्वयंसेवक खटाएर सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारको व्यवस्था गर्ते । महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीयस्तरसम्म विस्तार गर्ने ।
निशुल्क गरिसकेको डायलासिस, मृगौला प्रत्यारोपण, बाथ मुटु रोगको उपचारलाई स्थानीय तहसम्म विस्तार गर्ने ।
पोषिलो खाना भन्ने नाराका साथ स्थानीय स्वास्थ्य संस्थाबाट सुत्केरी भएको २ वर्षसम्म पोषण कुपन वितरण गर्ने । साथै गर्भवती महिलाको पोषणको लागि नियमित भत्ताको व्यवस्था समेत गर्ने ।
त्यसैगरी सबै नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमलाई देशभर विस्तार गर्ने तथा हाल कार्यान्वयनमा रहेको सुनौलो हजार दिन कार्यक्रम सबै वडाहरुमा पु¥याउने ।
स्वास्थ्य बीमालाई प्राथामिकता दिँदै एमालेको घोषणापत्र
एमालेले स्थानीयतहको चुनावमा आफ्नो घोषणापत्रमा स्वास्थ्य बिमालाई प्रमुखताको साथ अघि ल्याएको छ । घोषणपत्रमा भनिएको छ ‘सबै नागरिकहरुलाई अनिवार्यरुपमा स्वास्थ्य बीमामा आवद्ध बनाइने छ । जसका लागि गरिबि रेखामुनि रहेका जनतालाई बीमा रकमको ५० प्रतिशत सरकारले भुक्तानी गर्नेछ ।’
यो बाहेक एमालेको घोषणापत्रले समावेश गरेका बिषय निम्न छन् :
हरेक गाउँपालिकामा कम्तीमा २५ तथा नगरपालिकामा ५० शैयाको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने ।
त्यसैगरी संघिय, प्रदेश र स्थानीय सरकारहरूले सञ्चालन गरेका अस्पतालहरूबाट नेपाली जनताले तोकिएका रोगहरूको निःशुल्क उपचार उपलब्ध गराउने ।
हरेक वडामा आवश्यक दक्ष जनशक्ति, उपकरण, प्रविधि र स्वास्थ्यकर्मी सहितको स्वास्थ्य चौकी पु¥याउने । साथै टोलसम्म खोप सेवा, प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व एवम् शिशु स्वास्थ्य सेवाहरु सञ्चालन गर्ने ।
हरेक स्थानीय तहको केन्द्रमा स्थापना हुने अस्पतालमा वैकल्पिक उपचार पद्धति तथा प्राकृतिक चिकित्सालाई एकीकृत र समन्वयात्मक रुपमा सेवामा ल्याउने ।
जनस्वास्थ्यमा असर पार्ने खाद्य पदार्थको विज्ञापन नियन्त्रण गरी ६ वर्षमुनिका बालबालिकाको शारीरिक र बौद्धिक विकासका लागि हरेक टोलमा बाल विकास केन्द्र स्थापना गर्ने ।
माओवादी केन्द्रले स्थानीय तहमा १५ शैयाको अस्पताल निमार्ण गर्ने
माओवादी केन्द्रले आफ्नो घोषणापत्रमा राज्यद्वारा नै निःशुल्क रूपमा गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिने बिषय प्राथमिकतामा राखेको छ । यस्तै, प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल स्थापना गर्ने उल्लेख गरेको छ ।
प्रत्येक वडाहरूमा दक्ष जनशक्तिसहितको स्वास्थ्य चौकीको स्थापना र स्वस्थ पिउने पानीको व्यवस्था गर्ने बिषय समेत घोषणापत्रमा उल्लेख छ । यस्तै, सुत्केरी महिला र बच्चाको निम्ति भत्ताको व्यवस्था गरिने समेत माओवादीले घोषणापत्रमा प्राथमिकतामा राखेको छ ।
स्थानीय तहमा २५ शैयाको अस्पताल निमार्ण गर्ने राप्रपा घोषणा
राप्रपाले आफ्नो घोषणापत्रमा प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तिमा २५ शैयाको अस्पताल स्थापना गर्ने उल्लेख गरेको छ । ५ वर्षभित्र सम्पूर्ण नागरिकको स्वास्थ्य बिमा गर्ने समेत उल्लेख गर्दै घोषाणापत्रमा भनिएको छ ‘५ वर्षभित्र प्रत्येक नगारिकको स्वास्थ्य बिमा गरिनेछ ।’
यस्तै, राप्रपाले प्रत्येक गाउँ र नगरपालिकामा स्वास्थ्य उपचार कोष खडा गरी कोषबाट प्राप्त रकम सोही क्षेत्रका क्यान्सर र मिर्गौला रोगीलाई औषधि उपचार खर्चबापत एक लाख रुपैयाँ दिने उल्लेख गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार रूपैयाँ भत्ता दिने र विपन्न परिवारका छोराछोरीलाई कुपोषणबाट बचाउन जन्मिनासाथ पाँच हजार रुपैयाँ दिने घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी, समुदायमा विभिन्न कार्यक्रम सञ्चालन गरी डेंगु, चिकनगुनिया, मलेरिया, कालाजार, हात्तीपाइलेजस्ता रोगहरूको अन्त्य गर्ने बिषय प्राथमिकताका साथ राखिएको छ ।
२५ वर्षभित्र शिशु मृत्युदर प्रतिहजार ५ मा झार्ने नयाँ शक्ति घोषणा
नयाँ शक्ति पार्टीले आफ्नो घोषणापत्रमा स्वास्थ्यका बिषयमा २५ वर्षिय योजना अगाडी सारेको छ । ५, १५ र २५ वर्षभित्र आउने नतिजाको प्रक्षेपण गरेर आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।
अबको पाँच वर्षभित्रमा सबैको लागि खाद्य–पोषण सुरक्षा सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । शिशु मृत्युदर प्रतिहजार १६ र मातृ मृत्युदर प्रतिलाख एकसयमा झार्ने योजना सार्वजनिक गरेको छ । अबको २५ वर्षभित्र शिशु मृत्युदर प्रतिहजार ५ र मातृ मृत्युदर प्रतिलाख ४० मा झार्ने बिषय पनि उल्लेख छ ।
त्यसैगरी, १५ वर्ष मुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने योजना घोषणापत्रमा उल्लेख छ ।
पूर्ण शारीरिक अपांगता, द्वन्द्व पीडित, एकल महिला, गर्भवती महिला, लोपोन्मुख जाती, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक र गरिबीको रेखामुनि रहेका परिवारका लागि सम्पूर्ण स्वास्थ्य सेवामा कम्तिमा ७५ प्रतिशत छुटको व्यवस्था गरिने उल्लेख गरेको छ । साथै प्रत्येक घरमा अबको पाँच वर्षभित्र सफा खानेपानी पु¥याउने घोषणा गरेको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>