पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउँदै



Download our app to get more features

काँकडभिट्टा । वर्षदेखि डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो चलाउन थालेकी छन् ।  

शान्ताका पति ३६ वर्षीय भूपिन राईको दुवै मिर्गौला खराब छ । आर्थिक अवस्था ज्यादै नाजुक भएकाले दाताबाट आर्थिक सहयोग जुटाएर उनको उपचार भइरहेको छ । 

सातामा तीनपटक डायलासिस गर्नुपर्ने अवस्था भएका भूपिनलाई उपचारका लागि सहयोग जुटाउन स्थानीयवासीले युवा नेता चतुर्भुज काफ्लेको संयोजकत्वमा ‘भूपिन राई बचाऊ अभियान’ गठन गरेका थिए । सोही अभियानबाट सङ्कलित रकमले टिभिएस कम्पनीको टेम्पो आइतबार खरिद गरिएको हो । 

‘सधैँभरि चन्दा मागेरमात्र साध्य नभएपछि उहाँ (पति)को उपचार खर्च जुटाउन टेम्पो चलाउने निर्णय लिएकी हुँ’ शान्ताले बताइन् । 

सहयोग जुटाउन गठित अभियानले विगत छ महिनामा रु १६ लाख सङ्कलन गरेको थियो । काठमाडौँ, धरान र बिर्तामोडमा उपचार गराउँदा खर्च भएर अब सो अभियानको नाममा बैंकमा रु ११ लाखमात्र बाँकी रहेको संयोजक काफ्ले बताउछन् । 

बारम्बार सहयोग नजुट्ने र दिगो स्रोतको खोजी नगर्दा भएको ढुकुटी पनि रित्तिने भएकाले बेलैमा आय आर्जनको बाटो पहिल्याउँदै भूपिनकी पत्नी शान्तालाई टेम्पो किनेर दिएको उनको भनाइ छ । 

मजदुरी गर्ने भूपिनका दुवै मिर्गौला खराब भएपछि परिवारकै अवस्था पनि नाजुक हुँदै आइरहेको थियो । 
हाल बिर्तासिटी अस्पतालमा सातामा तीनपटक डायलासिस गराइरहेका भूपिनलाई पत्नी शान्ता र आफन्तहरुले एउटा मिर्गौला दान गर्न मञ्जुर भएपनि परीक्षण गर्दा फरक देखिएको अभियानका सदस्य चन्द्रलाफा मगरले बताए ।  

मिर्गौला प्रत्यारोपण हुन नसक्ने अवस्था भएकाले समितिले हाल उठेको सहयोग रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्न चाहेपनि परिवारको सल्लाहमा दिगो आर्थिक स्रोतको पहिचान गर्ने क्रममा त्यही रकमबाट टेम्पो किनिएको हो । 

टेम्पोको बजार मूल्य पाँच लाख ३५ हजार हो । तर सहारा नेपालले रु २५ हजार छुट गरिदिएकाले शान्ताले रु पाँच लाख १० हजारमा टेम्पो पाउकए छन् ।  टेम्पो कुदाएर दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुने शान्ताको अपेक्षा छ । त्यसबाट उनले सातामा तीनपटक पति भूपिनको डायलासिस र परिवारको भरणपोषण खर्च पु¥याउनुपर्छ । उनीहरुका १० वर्षकी एक छोरी सगुन कक्षा ४ मा पढ्छिन् भने छ वर्षका छोरा तान्छोप्पा एलकेजीमा पढ्छन् । 

शान्ताले बिहानै उठेर परिवारका सबैलाई खाना पकाएरमात्र टेम्पो लिएर बजारतिर आउने गर्छिन् । बिरामी भूपिनले छोराछोरीलाई भात खुवाएर स्कुल पठाउने गर्छन् । 

भूपिन बचाऊ अभियानका संयोजक काफ्लेले अब टेम्पो चलाएर गरेको आम्दानीले भूपिनको उपचार र परिवारको पालनपोषणमा सहयोगी हुने बताए । रासस 
 

Last modified on 2017-06-14 16:56:12

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts