गर्मी मौसममा छालामा देखिने समस्या र बच्ने उपाय



Download our app to get more features

बानेश्वरकी दिक्षा बस्नेत हातभरी रातो डाबरहरु आएर चिन्तित थिईन् । हाफूलाई के भयो भन्ने चिन्ताले उनलाई सतायो र चिकित्सकसम्म पुगिन् । 

हिजआज दिक्षा जस्तै धेरै मानिसहरु चिन्तित छन् यस्तै समस्याले । गर्मी बढ्दै गएको छ । काठमाण्डौमा मेलम्चिको पानी ल्याउने भन्दै खनिएको सडकबाट धुलो धुँवा पनि उत्तिकै छ । जसका कारण मानिसहरुमा एलर्जी हुने गरेको छ । 

टन्टलापुर घाम, चर्को गर्मी र धुलोधुँवाले हैरान नभएको को होला र ? जसले गर्दा गर्मी सुरु भएसँगै छालामा समस्या देखिने क्रम पनि बढेको छ ।  गर्मीले विशेषगरी अनुहारको छालालाई डढाउने र मेकआप बगाउने हुँदा महिलाहरुले घर बाहिर निस्कँदा छाताको प्रयोग गर्ने गरेका छन् । 

तापक्रम बढ्दै जाँदा सुर्यबाट निस्कने पराबैजनी किरणले छालालाई असर गरिरहेको हुन्छ ।  त्यस्तै पसीना धेरै आउने र धुलो धुँवाका कारण पनि छालामा समस्या देखिने गर्छ । पसिना धेरै आउने र उपत्यकाको धुलो धुँवाले धेरैलाई छालामा समस्या हुने गरेको छ । 

गर्मी मौसममा छालामा विविध समस्या देखा पर्छ । चर्को गर्मी र धुलोधुँवाले छालामा हुने समस्याहरु निम्न छन् : 

एलर्जी
गर्मी मौसममा सबै भन्दा धेरै देखिने समस्या घामको एलर्जी हो । अत्याधिक गर्मीका कारण शरीरमा रातो डाबर बिबिरा आउने, चिलाउने लगायत लक्षण देखिन्छन् । यस्तो समस्या लामो समयसम्म सिधै घाममा बस्दा वा घाममा बसेर काम गर्दा आउने गर्दछ । बिशेषगरी अनुहार, हात तथा घाँटीमा यस्तो समस्या देखिन्छ । 

फंगल इन्फेक्सन
शरीरमा पसीना धेरै आएर गुम्सिने हुदा फंगल इन्फेसन(ढुसी), गर्मी मौसममा धेरै देखिने समस्या हो । यस्तो समस्या काखीमा बढि देखिनुको साथै धेरैलाई काछ लाग्ने समस्या हुन्छ । फंगल इन्फेक्सनका कारण चिलाउने र घाउ हुने सम्भावना धेरै रहन्छ । 

डन्डिफोर
गर्मी मौसममा धेरै देखिने समस्या मध्ये डन्डिफोर पनि एक हो । गर्मीका कारण अत्याधिक पसिना आउनुको साथै अनुहारमा चिल्लोपना बढ्ने हुन्छ । पसिना र चिल्लो छालामा धुलोधुँवा टासिएर डन्डिफोर आउने सम्भावना धेरै रहन्छ । दिनमा २÷३ पटक मुख धोएमा अनुहारमा आउने डन्डिफोरलाई कम गर्न सकिन्छ । 

चाया, पोतो
गर्मीको समयमा पसिना धेरै आउदा अनुहारमा पोतो आउने सम्भावना धेरै रहन्छ । साथै गर्मीमा कपालको चायाले अनुहारमा सेतो, फुर्सो भएर चिलाउने हुन्छ । 

छाला डढ्ने समस्या
चर्को घाम लागेको समयमा घर बाहिर निस्कदा वा चर्को घाममा काम गर्दा छाला डढ्ने समस्या देखा पर्छ । यस्तो समयमा छाला चिलाउने, सुख्खा हुने हुन्छ । छाला सुख्खा भएर धेरै चिलाउदा कहिले काहीँ घाँउ समेत हुन सक्छ । 

बच्ने उपाय

गर्मीको मौसममा छालामा देखिने समस्याबाट जोगिन शरीरको सरसफाईमा ध्यान दिनुपर्छ । यस्तो अवस्थामा बिहान बेलुका नुहाउने तथा पसीना सोस्ने सुतीको कपडा लगाउने गर्नु पर्छ ।  

घर बाहिर निस्कँदा ‘सनब्लक’ र माक्सको प्रयोग गर्ने, शरीर पुरै छोप्ने गरी पातलो कपडाको प्रयोग गर्नु राम्रो हुन्छ । गर्मीले गर्दा एलर्जी वा फंगल इनफेक्सन भएमा समस्या पत्ता लगाएर उपचार गर्नुपर्छ । शरीरमा रातो डावर आएमा यसलाई सामान्य रुपमा लिनु हुँदैन । इन्फेक्सनका कारण यस्तो समस्या आउने हुदाँ एक पटक छाला रोग विशेषज्ञसँग जाँच गर्नु उत्तम मानिन्छ । 

सनबल्कको प्रयोगका बिषयमा मानिसहरुमा गलत धारणा रहेको पाईन्छ । घाममा निस्कँदा मात्र प्रयोग गर्नु भन्दा निश्चित समय अन्तरालमा प्रयोग गरेमा धेरै फाइदाजनक हुन्छ । 

प्रस्तुतीः बासुदेव न्यौपाने

Last modified on 2017-06-11 17:33:46

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts