‘एम्स अस्पताल’का चिकित्सक किन सिक्दैछन् कराते ?
मार्शल आर्टको तालिम लिनु सामान्य कुरा हो । तर, आत्मरक्षाको लागि भन्दै चिकित्सकहरुले मार्शल आर्टको तालिम लिन थालेको समाचार पक्कै अनौठो हो ।
भारतको चर्चित अस्पताल ‘एम्स’ का चिकित्सकहरुले आत्मरक्षाको लागि भन्दै मार्शल आर्टको तालिम लिन थालेका छन् । चिकित्सकहरुले १५ मेदेखि मार्शल आर्टको तालिम कलेजमै लिने भएका हुन् ।
अस्पताल स्रोतका अनुसार आवासीय चिकित्सकहरुका लागि बेलुकी दुई सिफ्टमा मार्शल आर्टको क्लास सञ्चालन हुनेछ । जसमा चिकित्सकका साथसाथै नर्सले समेत मार्शल आर्टको तालिम लिने भएका छन् ।
चिकित्सकहरु माथी हुने हातपात र दुर्व्यवहार बढ्दै गएका कारण आत्मरक्षाका लागि कराते, तेक्वान्दोलगायत मार्शल आर्टको विधामा प्रशिक्षण दिन लागिएको हो ।
एम्स अस्पतालका आवासीय चिकित्सक एसोसिएसनका महासचिव डा. हरजीत सिंहका अनुसार चिकित्सक र बिरामी बिचको सम्बन्ध धेरै खराब भएको कारण यस्तो कदम उठाउन आफुहरु बाध्यता भएको बताएका छन् । ‘आत्मरक्षाका लागि केही त गर्नैपर्छ, किनकि हामी प्रायः हमलाको सिकार हुने गरेका छौं’, उनले भने । यसका लागि चिकित्सकहरुले प्रशासनसँग अनुमति समेत लिइसकेका छन् ।
यसअघि दिल्लीका दुई अस्पताल लोक नायक र लेडी हार्डिङ्गमा दिल्ली प्रहरीका केही विज्ञले आत्मरक्षाको प्रशिक्षण दिइसकेका छन् ।
‘बिरामी वा उनको परिवारको रिस ठिक हो तर त्यसपछि चिकित्सकको मानसिक तनावमा पनि ध्यान दिन जरुरी छ ।’ चिकित्सक अरुणा सिंह भन्छिन्, ‘हामीले खुल्लारुपमा गाली सुन्नु परेको छ, कोही व्यक्ति आक्रमण शैलीमा कुरा गर्छन् । जसका कारण बिरामीको उपचार गर्न पनि मलाई डर लाग्छ ।’
बीबीसी
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>