‘आइओएम’मा कोटा प्रणाली राख्नु गलत : विद्यार्थी संगठन
काठमाडौ, २० बैशाख । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले स्नातकोत्तर तह पीजीमा आरक्षण कोटा लागू गरेको भन्दै महाराजगञ्ज क्याम्पसका चार विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् । चार सगंठनले सयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
नेशनल रेसिडेन्ट डक्टर एसोशिएसन, एनएमएसएस, नेवि संघ, र अनेरास्ववियू र अखिल क्रान्तिकारीले संयुक्त रुपमा विज्ञप्ती जारी गरि आन्दोलनको घोषणा गरेका हुन् ।
विज्ञप्तीमा चिकित्साशास्त्र जस्तो संवेदनशील शिक्षाको स्नातकोत्तर तहमा विपन्न महिला तथा आदिवासी जनजाती समूहको नाममा आरक्षण प्रणाली भित्राएको र विद्यार्थीहरुको मागको वेवास्ता गर्दै पद र शक्तिको प्रयोग गरी समस्त मागलाई तुहाउन खोजिएको आरोप लगाइएको छ ।
‘चिकित्साशास्त्र जस्तो संवेदनशील शिक्षाको स्नातकोत्तर तहमा यस प्रकारको आरक्षणले विपन्नताको परिभाषामा नै प्रश्न चिन्ह खडा गरेको छ । यसको घोर भत्सर्ना गर्दै आजको मितिबाट न्याय नपाएसम्म आन्दोलनको घोषणा गर्दछौँ ।” विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा नेशनल रेसिडेन्ट डक्टर एसोशिएसनका तर्फबाट अध्यक्ष डा लिजन महर्जन, एनएमएसएसका अध्यक्ष डा प्रियंका शाही, नेवि संघका अध्यक्ष सन्तोष उपाध्याय, अनेरास्ववियूका अध्यक्ष डा विनोद खनाल र अखिल क्रान्तिकारीका अध्यक्ष बसन्त शर्मा पौडेल लगाएतले हस्ताक्षर गरेका छन् ।
मंगलवार मात्रै महाराजगञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आरक्षणको विरोध गर्दै डिन कार्यालय र क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेको थियो ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>