कपाल झर्ने समस्याबाट छुटकारा पाउन यसो गर्नुहोस्
राम्रो कपालले हरेक व्यक्तिको सौन्दर्य झल्काउँछ । त्यसकारण पनि कपालको स्याहार गर्नु जरुरी हुन्छ । यदि कपालको स्याहारमा ध्यान दिएन भने कपाल झर्ने, टुक्रिने र हाँगा आउने जस्ता समस्याहरु देखिने गर्दछ । कपाललाई सफा र चम्किलो राख्न सधै एकै किसिमको स्याम्पुको प्रयोग गर्नु पर्दछ । कपाल भिजेको अवस्थामा कोर्नु हुँदैन । यसले गर्दा कपालमा अनावश्यक दवाब आई टुक्रिने र झर्ने हुन्छ । कपाल कोर्दा सफा काइयो वा ब्रसले कपालको जरा सम्म पुर्याएर कोर्दा कपालको व्यायाम हुन्छ भने टाउको र छालामा पनि राम्रोसँग रक्तसञ्चार हुन्छ ।
टाउकोलाई सकेसम्म चर्को घामबाट बचाउनु पर्छ । बाहिर निस्कदा धुलो, माटोबाट बचाउनुपर्छ नत्र कपाल सुख्खा भई झर्ने र टुक्रिने समस्या देखिन्छ । तर बिहानीको हल्का घाममा कपाल खुल्ला छोडेर हातले मालिस वा हल्का स्पर्श गरेमा कपालको जरा बलियो भई टुक्रिन र झर्न पाउदैन । त्यसैगरि नुहाउनुअघि तोरीको तेल लगाएर २० मिनेटजति कपाललाई मालिस गर्ने र त्यसपछि पानीमा केही थोपा ग्लिसिरल मिसाएर नुहाएमा कपाल नरम हुन्छ भने कपाल झर्ने समस्या पनि कम हुन्छ । यसरी कपालको स्याहार पुर्याउँदा पनि कपाल झर्ने समस्या देखियो भने रोग लागेको हुनसक्छ । यदि कपालको उचित स्याहार गर्दा पनि कपाल झर्ने समस्या समाधान नभएमा तुरुन्त फिजीसियन तथा विशेषज्ञसँग परामर्श लिनु जरुरी हुन्छ ।
कपाल झर्न नदिने उपाय
कपाल झर्ने समस्याबाट छुटकारा पाउन आफ्नो दैनिकी धेरै कुराहरु पालना गर्नुपर्दछ । जसमध्ये कपाल झर्ने समस्याबाट मुक्ति पाउन निम्न कुराहरु अपनाउनु पर्छ ।
- नुहाउनुअघि कपालमा तोरीको तेल लगाएर मसाज गर्नुपर्छ ।
- केशलाई सुख्खा राख्नु हुँदैन।
- पोषणयुक्त खानाको प्रयोग गर्नुपर्छ ।
- सकेसम्म गाउँघरमा पाइने घिउकुमारीको पातमा हुने रस कपालको जराजरामा लगाएमा कपाल झर्ने समस्या कम हुन्छ ।
- तनावग्रस्त जीवनबाट टाढा रहनुपर्छ । आफुभन्दा माथिका मान्छेलाई हेरेर तनाब हैन तलका मान्छेलाई हेरेर आफु सन्तोष लिन सक्नुपर्दछ ।
- सदैव सकारात्मक सोचाई राख्नुपर्छ ।
- एकिकृत दिमागले सकारात्मक सोचतर्फ मानिसलाई डोर्याउने हुनाले समय मिलाएर योग ध्यान गर्ने ।
- शरीरका अन्य रोगहरु भएमा पनि कपाल झर्ने समस्याले सताउने हुनाले बेलाबेला शरीरको चेकजाँच गराइराख्नुपर्छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>