अस्पतालभित्रै मन्दिर : चिकित्सक भन्छन्–  भगवानको नाम लिनूस् 



Download our app to get more features

निमोनियाले समातेपछि दोलखाका रामहरि सिवाकोटीकी आमा शिक्षण अस्पतालमा उपचाररत थिइन् । सिवाकोटीकी आमाको स्वास्थ्य अवस्था जटिल थियो । उनकी आमाको उपचारमा चिकित्सक लागिपरेकै समय आफन्तचाहिँ बिरामीको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालपरिसरमा रहेको मन्दिरमा पूजाआजा गरिरहेका भेटिए ।

 मानिस बिरामी परेपछि अस्पताल पुग्नु स्वाभाविकै हो । आस्तिकले भगवान्लाई सर्वेसर्वा ठाने पनि बिरामीलाई भगवान्ले होइन चिकित्सकले बचाउँछ । बिरामीलाई पुनःजीवन दिने चिकित्सक साक्षात् भगवान हुन् भन्ने जान्दाजान्दै पनि मानिस कहिल्यै नदेखिएका/नभेटिएका भगवानको प्रार्थना गर्छन् । पुकारा गर्छन् । मन्दिरमा राखिएका भगवानको मूर्तिको शरणमा पुग्छन् । 

जटिल अवस्थामा रहेका बिरामीको स्वास्थ्य अवस्था बुझ्दा चिकित्सकले नै भन्ने गर्छन्, ‘हामीले सक्दो प्रयास गर्छौं । भगवानको नाम लिनुस् ।’ बिरामीलाई पुनःजीवन दिने चिकित्सकले नै भगवानको नाम लिनुहोला भन्दा आस्तिकलाई स्वाभाविक लागे पनि नास्तिकलाई आश्चर्य लाग्न सक्छ । तर, अप्ठ्यारोमा परेका उनीहरूले चिकित्सकको भनाइको व्याख्या-विश्लेषण गर्न लाग्दैनन् । 

अस्पताल परिसरमा मन्दिर बनाउन कहिलेदेखि थालियो ? कसले राख्न लगाएका हुन् ? किन राखिएका हुन् ? ठोस कारण नभए पनि अस्पताल सञ्चालक भन्ने गर्छन्, अस्पतालपरिसरमा मन्दिर देख्दा बिरामी र उनका आफन्तको आत्मबल बढाउँछ ।’

सरकारी अस्पतालमा मन्दिर बनाउन सरकारीस्तरबाटै प्रत्यक्ष वा परोक्ष सहयोग रहेको देखिन्छ । त्यतिमात्रै होइन, सरकारी अस्पतालपरिसरमा सरकारले नै पुजारी नियुक्त गरेका हुन्छन् । यो प्रचलन पहिल्यैदेखि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती पुजारीले बिहान बेलुका मन्दिरमा पूजाआजा गर्ने गर्छन् । 

काठमाडौंको महाराजगन्जमा रहेको शिक्षण अस्पतालमा महादेवको मन्दिर बनाइएको छ । संवत् २०४१ मा निर्मित महादेव मन्दिरलाई मृत्युञ्जयश्वर नामकरण गरिएको छ । महादेव मन्दिरको नामकरणबारे प्रस्टीकरण दिँदै अस्पताल प्रशासनप्रमुख गोविन्द प्रधानले सुनाए, ‘अस्पतालमा बिरामीले मृत्युलाई पराजित गर्दै पुनःजीवन पाउने भएकाले मन्दिरको नाम मृत्युञ्जयश्वर राखिएको हो ।’

बिरामी र बिरामीका आफन्तलाई मन्दिर देख्दा मनोबल बढ्ने मृत्युञ्जयश्वर महादेव मन्दिर पुजारी चन्द्रमणि न्यौपानेको दाबी छ । पुजारी न्यौपानेले मृत्युञ्जयश्वर महादेव मन्दिरमा बिहान बेलुका विधिपूर्वक पूजाआजा गर्छन् । ‘अस्पताल प्रशासनले समेत विभिन्न सन्दर्भ पारेर विधिपूर्वक सामूहिक पूजा गर्दै आएको छ,’ पुजारी न्यौपानेले भने, ‘पूजाआजा गर्दा अस्पतालमा अनिष्ट हुनबाट जोगाउँछ । मन्दिर भनेको मनलाई धीर गर्ने वा एकाग्र गर्ने ठाउँ हो ।’

जीवन र मृत्युको दोसाँधमा रहेका बिरामीका आफन्त मन्दिर पुगी बिरामी निको हुन् भन्ने प्रार्थना गर्ने गरेको पुजारी न्यौपानेको कथन छ । ‘मन्दिरमा त्यस्तो प्रार्थना गर्दा उनीहरूको पीडा कम हुन्छ,’ उनले भने, ‘त्यतिमात्र नभएर मन्दिरमा ग्रहशान्ति गराउने, रुद्री, जप लगाउने उल्लेख्य हुन्छन् ।’ 

यसैगरी, कान्ति बाल अस्पतालमा कृष्ण मन्दिर बनाइएको छ । अस्पताल निर्देशक डाक्टर अजित रायमाझी मन्दिर बनाउनुको कारण प्रस्ट्याए, ‘भगवान् कृष्ण बच्चाहरूलाई प्रिय लाग्ने भएकाले कृष्ण मन्दिर निर्माण गरिएको हुन सक्छ ।’ यस मन्दिरमा पनि सरकारले नै पुजारी नियुक्त गरेको थियो । तर, अहिले पुजारी छैनन् । अस्पताल प्रशासनले चाडबाड विशेषमा पूजा गर्छ । उपचार गर्न अस्पताल पु¥याइएका बालबच्चा र उनीहरूका आफन्तले मन्दिरमा आराधना गरेको देखिन्छ । 

नेपालकै सबैभन्दा जेठो वीर अस्पताल परिसरमा महादेवको मन्दिर बनाइएको छ । ललितपुरको अल्का अस्पतालमा गणेशको मूर्ति राखिएको छ । गणेश भगवान्लाई कार्य सिद्धिदाता मान्ने जनविश्वास रहँदै आएको छ । मन्दिरले बिरामीलाई मानसिक रूपमा बलियो बनाउने अल्का अस्पताल प्रशासन प्रमुख रोजिका प्रधानको बुझाइ छ ।

Last modified on 2017-06-15 12:56:10

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts