कोरिया नेपाल मैत्री अस्पताललाई स्थानीय निकायका कर्मचारीको मुख्य अस्पताल बनाइने
भक्तपुर, बैशाख १७ । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित कोरिया नेपाल मैत्री अस्पताललाई आगामी आर्थिक वर्षदेखि नेपालका ७ सय ४४ वटा स्थानीय तहका कर्मचारीको उपचारको लागि एकमात्र मुख्य अस्पतालको रुपमा विकास गरिने भएको छ ।
अस्पतालको आठौं बार्षिकोत्सव कार्यक्रममा बोल्दै सरोकारवालाले अस्पताललाई स्थानीय निकायका कर्मचारीको उपचारको लागि एकमात्र केन्द्रीय अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
स्थानीय विकास मन्त्रालय मातहतको मध्यपुर ठिमी नगरपालिकाद्धारा सञ्चालित कोरिया नेपाल मैत्री अस्पताललाई देशका सबै स्थानीय तहका कर्मचारीको उपचारको लागि एकमात्र केन्द्रीय अस्पतालको रुपमा विकास गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम मध्यपुरठिमी नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले बताए ।
अस्पतालका कार्यकारी निर्देशक एवम् वरिष्ठ छारेरोग विशेषज्ञ डा.दिपेन्द्रकुमार रौशनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको एकमात्र केन्द्रीय अस्पतालको रुपमा विकासका लागि मन्त्रालयसंग पटकपटक प्राविधिक र बजेट विनियोजनबारे छलफल गरिएको बताए ।
कार्यकारी निर्देशक डा.रौशनका अनुसार सम्वन्धित मन्त्रालयबाट आगामी आर्थिक वर्षमा वजेट विनियोजन हुने वित्तिक्कै आफुहरु सो अस्पतालमा थप उपचार सेवा विस्तार सहित नयाँ मोडेलमा जाने तयारीमा रहेको छ ।
यसका साथै सो अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्दै केन्द्रीय स्तरको छारेरोग रिफरल अस्पतालको रुपमा पनि विकास गरिने उल्लेख गर्दे कार्यकारी निर्देशक डा.रौशनले गत एकवर्षको अवधिमा सो अस्पतालमा ७ सय ९१ जना छारेरोगका विरामीको उपचार गरिएको बताए ।
वार्षिकोत्सवको अवसरमा प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले अस्पतालमा १० वर्षदेखि १५ वर्षसम्म काम गरेका चिकित्सक, प्राविधिक तथा कर्मचारीहरुलाई दीर्घसेवा पदक र प्रशंसापत्र वितरण गरे ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>