धवलागिरि अञ्चल अस्पतालको आफ्नै ‘फार्मेसी’



Download our app to get more features

बाग्लुङ, १५ वैशाख । धवलागिरि अञ्चल अस्पतालले आफ्नै औषधि वितरण केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएको छ । 

स्वास्थ्य मन्त्रालयले केही समयअघि अस्पतालले आफैँ  ‘फार्मेसी’ चलाउनुपर्ने नियम बनाएको थियो । 

केन्द्रबाट पाँचसय ६२ प्रकारका औषधि उपलब्ध हुने अस्पतालका प्रमुख चिकित्सक सागरकुमार राजभण्डारीले बताए । ‘चौबीसै घन्टा सेवा दिने गरी फार्मेसी खुलेको छ’, चिकित्सक राजभण्डारीले भने ‘बिरामीले अब १० देखि ५० प्रतिशतसम्मको छुटमा औषधि पाउँछन् ।’ केन्द्रमा उपलब्ध हुने औषधिको सङ्ख्या थप्दै जाने योजनामा अस्पताल छ । अस्पतालभित्रै ‘फार्मेसी’ खुलेपछि महँगो मूल्यमा बाहिरबाट औषधि किन्नुपर्ने बाध्यताबाट बिरामीले छुटकारा पाएका छन् । 

स्वास्थ्य बीमा कार्यक्रम र विपन्न नागरिकको उपचारका लागिसमेत सोही ‘फार्मेसी’ बाट निःशुल्क रुपमा औषधि वितरण हुनेछ । ‘फार्मेसी’को प्रभावकारिता बढाउन औषधि र जनशक्ति व्यवस्थापनमा अस्पताल लागिपरेको समितिका अध्यक्ष मल्लले बताए । उनले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पताल सुधारका प्रयास अघि बढेको समेत जानकारी दिए । ‘सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउनुपर्ने खाँचो छ’, अध्यक्ष मल्लले भने ‘हामी त्यसकै लागि दिनरात खटेका छौँ ।’

उनले लामो समयदेखि रिक्त रहेका दरबन्दीमा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी खटेको बताए । अस्पतालमा अहिले फिजिसियन, स्त्रीरोग विशेषज्ञ, रेडियोलोजिस्ट, अर्थोपेडिक सर्जन, एनेस्थेसियोेलोजिस्ट, डेन्टल सर्जनलगायतका विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । 

दरबन्दीअनुसार अझै पनि चिकित्सक र अन्य स्वास्थ्यकर्मीको अभाव छ । नियमित सेवाका अतिरिक्त केही नयाँ सेवा थप गरिएको अस्पतालले जनाएको छ । सुरक्षित गर्भपतन सेवालाई गत पुसदेखि निःशुल्क गरिएको प्रमुख चिकित्सक राजभण्डारीले बताए । हरि खड्का ट्रमा सेन्टर र डायलाइसिस सेवा सञ्चालनको तयारीमा अस्पताल रहेको छ । 

विसं २०६७ मा अञ्चल अस्पतालमा परिणत भएको यस अस्पतालको निर्माणाधीन भवन समयमै पूरा नुहँदा सेवा सञ्चालमा कठिनाइ भएको छ । भवनको ‘ए ब्लक’ बाट अस्पताल सञ्चालनमा आए पनि बाँकी ‘बी’, ‘सी’ र ‘डी’ ब्लक अहिले पनि निर्माणको चरणमा छन् । ठेकेदार कम्पनीको लापर्बाहीका कारण भवन निर्माणमा ढिलाइ भएको अस्पतालले जनाएको छ । रासस 

Last modified on 2017-06-15 15:20:20

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts