आइसियुका सामग्री राप्ती उपक्षेत्रीय अस्पतालको स्टोर मै थन्किए



Download our app to get more features

दाङ, १० वैशाख । दाङ्गको अस्पतालमा सघन उपचारसेवा लिने धेरै बिरामीलाई आइसियु सेवा नहुँदा समस्या परेको छ । 

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने पहल सरकारले थालिसकेको छ । त्यसका लागि भौतिक पूर्वाधारका आवश्यक स्वास्थ्य उपकरणलगायतका सामग्रीसहित बजेटसमेत उपलब्ध गराइरहेको छ । तर पछिल्लो समयमा उपक्षेत्रीय अस्पतालमा आइसियु सञ्चालनका लागि आएका करोडौँ मूल्य बढीका आवश्यक सामग्री भने स्टोरमा थन्किएका छन् । 

अस्पतालमा आइसियु सेवाका लागि ती लाखौँका सामान आएको करिब डेढ वर्ष भइ सकेको छ । आइसियुका सामग्री लिएको पनि डेढ वर्षभन्दा धेरै भइसकेको छ, आइसियु सेवा सुरु हुन सकेको छैन । स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाबाट भेन्टिलेटर ल्याइएको हो । दुईवटा भन्टिलेटर लिएर राखेको हो तर त्यो भेन्टिलेटर भित्र्याएको डेढ महिना बितिसक्दा पनि सुरु नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउने गरिएको छ । 

दैनिकजसो बिरामीलाई आइसियुका लागि जिल्ला बाहिर पठाइन्छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा आइसियु सेवा नहुँदा नवजात शिशुलाई दैनिकजसो अन्यत्र पठाउने गरिएको छ । दाङ, सल्यान, रुकुम, रोल्पालगायतका जिल्लाबाट सुत्केरीका लागि यस अस्पतालमा ल्याउने गर्छन् । तर यस क्षेत्रको ठूलो भनिएको अस्पतालमा आइसियु सेवा नहुँदा कतिपय नवजात शिशुले अकालमै ज्यान गुमाउने गरेका छन् ।

 अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले आइसियु अस्पतालका लागि हात्ती भएको बताउँदै अस्पतालले हात्ती चलाउन नसक्ने बताए । उनले आइसियुका लागि मात्र १२÷१५ जना दक्ष कर्मचारी आवश्यक पर्ने तर अस्पतालसँग जनशक्ति नहुँदा सञ्चालनमा समस्या भएको बताए। 

नयाँ अस्पताल विकास समिति आएसँगै यसलाई सञ्चालनको पहल आफूले गरिरहेको भन्दै पन्थीले असार मसान्तसम्म आइसियु सेवा सुरु गर्ने बताए । बर्सेनि अस्पताल व्यवस्थापन समिति फेरिने परम्पराले पनि अस्पतालमा राज्यले दिएका सुविधा पनि नागरिकले पाउन सकेका छैनन् । लाखौँका सामग्री आएर पनि आइसियु सेवा तथा आएका भेन्टिलेटरसमेत सञ्चालन हुन नसक्नु दुर्भाग्यपूर्ण भएको आमनागरिकले गुनासो गर्दै आएका छन् । रासस 

Last modified on 2017-06-16 14:27:44

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts