गर्मी बढेसँगै दमौली अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो
दमौली, ८ वैशाख । एक सातायतादेखि दमौली अस्पतालमा रुघाखोकी र झाडापखालाका बिरामीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।
दैनिक १५० भन्दा बढी त्यस्ता रोगका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
वैशाख लागेदेखि नै त्यस्ता रोगका बिरामीको सङ्ख्या बढेको हो । यसअघि उक्त रोगका बिरामी छिटफुट रुपमा मात्रै उपचारका लागि आउने गर्थे ।
दमौली अस्पतालका डा कुलदीप केसीले रुघाखोकी र झाडापखालाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको बताए । डा केसीले भने, अत्यधिक गर्मी बढेसँगै त्यस्ता बिरामीको सङ्ख्या बढेको हो,। आकस्मिकमा समेत दैनिक ३५-४० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालकी अहेब रामकला पन्थले बताइन् ।
बिरामीको अवस्था हेरेर एन्टिबायोटिकसमेत दिने गरिएको उनले बताइन् । बिरामीलाई पानी उमालेर खान, बासी सडेगलेका खानेकुरा नखान, वरपरको वातावरण सफा राख्न, शौचालय गएपछि साबुन पानीले हात धुन, सफा सुग्धर भएर बस्न सल्लाह दिँदै आएको अस्पतालका चिकित्सकले बताए ।
ब्यास नपा, जामुने, रिसिङ, म्याग्देलगायतका गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>