कान्ति अस्पतालमा बिरामीका आफन्तद्वारा चिकित्सकमाथि हातपात
काठमाण्डौ, ६ बैशाख । राजधानीको कान्ति बालअस्पतालमा बिरामीका आफन्तले ड्यूटीमा खटिएका चिकित्सकमाथि हातपात गरेपछि तनाव उत्पन्न भएको छ ।
मानसिक समस्याको उपचार गराउन अस्पताल ल्याइएका दुई वर्षीया बालक सोहन श्रेष्ठलाई लिएर आएका उनका ठूलाबुबा मोहन श्रेष्ठले ड्युटीमा खटिएका आवासीय चिकित्सक डा. मोहन देवमाथि हातपात गरेका हुन् । बालरोग विशेषज्ञतामा स्नातकोत्तर तह पहिलो वर्षमा अध्ययनरत डा. देवमाथि श्रेष्ठले उपचार नगरेको, ध्यान नदिएको भन्दै हातपात गरेको अस्पतालका अर्का चिकित्सक डा. सन्तोष मिश्रले हाम्रो डक्टरलाई जानकारी दिए । श्रेष्ठले चिकित्सक देवलाई कान्तिमा काम गर्न नदिने भन्दै धम्क्याएको पनि मिश्रले बताए ।
चिकित्सकमाथि हातपात भएसँगै आक्रोशित भएका आवासीय चिकित्सकले आन्दोलन थालेका छन् । उनीहरुले दोषीमाथि कार्वाही नभएसम्म अस्पतालको आकस्मिक बाहेकका सेवामा सहभागी नहुने बताएका छन् । प्रहरीले दोषी श्रेष्ठको खोजतलास गरिरहेको बताइएको छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।