सुत्केरी खर्चसमेत पाउने भएपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने बढे



Download our app to get more features

संखुवासभा, ४ वैशाख । खराङबजारकी ६३ वर्षीया भगवती श्रेष्ठले बुहारी खेमकुमारीलाई सुत्केरी गराउन स्वास्थ्य संस्थामै पुर्याइन् । आफू सुत्केरी हुँदा उनले ३ वटा बच्चा गुमाएकी थिइन् । १९ वर्षको उमेरमा भगवतीले पहिलो बच्चा घरमै जन्माएको बताइन् । 

‘मैले ५ बच्चा जन्माएँ,’ उनले भनिन्, ‘२ वटा गुमाए, ३ लाई धेरै कष्ट गरेर हुर्काएँ ।’ मैलेजस्तो दुस्ख बुहारीले नपाउन् भनेर खराङ स्वास्थ्य चौकी लगेको उनले बताइन् । उनले गर्भवती भएदेखि नै बुहारीलाई नियमित स्वास्थ्य चौकी लगेको जानकारीसमेत दिइन् । अहिलेको समयमा फेरि हामीले जस्तो दुस्ख भोग्नु नपरोस् भनेर बुहारीको हेरचार गरेको उनी बताउँछिन् । यहाँका ग्रामीण क्षेत्रका गर्भवती महिला स्वास्थ्यचौकीमा गएर सुत्केरी हुनेको संख्या बढेको डा. विनितकुमार झाले बताए ।

जिल्लाका प्रायः सबै स्वास्थ्य चौकीमा २४ घण्टे आकस्मिक प्रसूति सुरु भएपछि ग्रामीण महिला बढी लाभान्वित भएका हुन् । यहाँका २६ स्वास्थ्य चौकीमा यो सेवा उपलब्ध छ । बाँकी १३ मा चाँडै सुरु हुने झाले बताए । मातृशिशु मृत्यु दर घटाउने उद्देश्यसहित सरकारले यो सेवा ल्याएको हो ।  

पहिले ग्रामीण क्षेत्रबाट सुत्केरी गराउन सदरमुकाम खाँदबारी र प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर जानुपर्ने बाध्यता थियो । स्वास्थ्यचौकीमा चारपटक गर्भवती जाँच गराई सुत्केरी हुन आउने महिलालाई १ हजार ५ सय यातायात खर्च प्रोत्साहनस्वरूप दिन थालेपछि पाथीभरा, नुम, हटिया, आँखीभुईलगायत ग्रामीण क्षेत्रका महिला पनि स्वास्थ्यचौकी गएर सुत्केरी हुन थालेको उनले बताए ।

सुविधापूर्ण तरिकाले सुत्केरी गराउन पाएकामा सजिलो भएको र स्वास्थ्यचौकीमा सुत्केरी गराउँदा खर्चसमेत पाएपछि झनै खुसी लागेको हटियाकी फुर्लमु भोटिनीले बताइन् । प्रसूतिगृह नहुँदा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता भए पनि अब त्यस्तोमा कमी आएकाले उनले बताए । 

‘हामीले जिल्ला अस्पताल खाँदबारीमा शल्यक्रियासहित २४ घण्टे आकस्मिक प्रसूति सेवा दिँदै आएका छौं,’ उनले भने, ‘यो सेवा सञ्चालनमा आएपछि पछिल्लो ४ महिना आवधिमा ८६ शल्यक्रियाबाट सुत्केरी भएका छन् ।’ घरमै सुत्केरी गराउनाले कतिपय महिलामा पाठेघर खस्ने, योनीमा समस्या आएर ज्यानै जाने खतरा रहेको उनले बताए । यो सेवा सुरु नहुँदा गत वर्षमात्र सय जनालाई अन्यत्रै पठाइएको थियो । 

गत वर्ष १ हजार ३ सय ४२ स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । ‘यो वर्षको ८ महिनामा १ हजार १ सय २ ले सेवा लिइसकेका छन्,’ उनले भने, ‘२६ स्थानमा सेवा सुरु भएपछि सुत्केरी गराउन आउनेको संख्या पनि बढदै गएको छ । सुरुसुरुमा महिलाले आफूमा भएको प्रजनन स्वास्थ्यसम्बन्धी कुरा सोध्न लजाए पनि बिस्तारै नहिचकिचाई सल्लाह लिने गरेको उनले बताए ।

 

(आजको कान्तिपुर दैनिकमा लेखेको समाचार)

Last modified on 2017-06-18 13:37:04

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts