ध्वनि प्रदूषण रोक्न हर्न निषेधको प्रयासले बहिरोपन हुुने खतरा कम होला त !
काठमाडौँ, १ वैशाख । सरकारले नयाँ वर्ष २०७४ को आगमन सँगै आजदेखि ध्वनि प्रदूषणलाई कम गर्न पूर्ण रुपले हर्न बजाउन नपाउने नियम लागु गरेको छ । सरकारले ल्याएको यो नयाँ नियमले नेपालमा बढ्दो बहिरोपन हुने खतरा भने अब कम हुने देखिन्छ ।
शहरमा बढ्दो सवारी साधन चापले गर्दा उत्पन्न हुने ध्वनिले हामीलाई कतिसम्मको हानी पुर्याइरहेको हुन्छ त्यो हामीले थाहै नपाएको हो कि जस्तो देखिन्छ । अझ ब्यस्त सडक छेउ कार्यालयमा कार्यरत कर्मचारी, विद्यालयका विद्यार्थी, घरमा बस्नेहरु पनि विभिन्न समस्याका कारण दिनहुँ अस्पताल धाउनु परेको देखिन्छ । कारण जुनैपनि ठाउँमा हुने ध्वनि प्रदूषणले टाउको दुख्ने, रिङ्गटा लाग्ने, झर्को लाग्ने अनि एकाग्रता नहुँने हुन्छ । जसले गर्दा हामी जतिबेला पनि तनावमा रहने गर्छौ र हामी सबैलाई थाहा भएकै कुरा हो तनावमा हुँदा हामीलाई विभिन्न रोगले समात्न सक्छ ।
टेलिभिजन, बिजुलीको सामान, बिभिन्न सामाजिक प्रक्रियाहरु, हवाई ट्राफिक, साथै घरमा प्रयोग गरिने भाडाकुडाबाट आउने आवाज ध्वनि भिन्न भिन्न श्रोत भएतापनि सडकबाट आउने ध्वनी बिशेष गरी हानीकारक रहने विशेषज्ञहरुको भनाइ छ । सहरी क्षेत्रका बासिन्दा ध्वनि प्रदूषणको समस्याले नजानिदो गरी पीडित छन् ।
स्कुल, कलेज, अस्पताल जस्ता संवेदनशील क्षेत्रमा मात्रै होइन सामान्य बसोबास गरिने क्षेत्रमा समेत ध्वनि प्रदूषण ठूलो समस्या बन्दै छ । बढ्दो ध्वनि प्रदूषणका कारण मानिसमा विभिन्न मानसिक एवं शारीरिक समस्या उत्पन्न हुने गरेको छ । वायु प्रदूषणको मात्रै बढी चर्चा हुने गरेकोमा ध्वनि प्रदूषणले पनि गम्भीर रुप लिँदै छ ।
प्रेसर हर्नबाट हुने ध्वनी प्रदूषणका कारण शारीरिक र मानसिक दुवै किसिमका समस्या सिर्जना हुने नाक कान घाँटी विशेषज्ञ डाक्टर रुपेशराज जोशीको भनाइ छ । जोशीका अनुसार ध्वनि प्रदूषणका कारण टाउको दुख्ने, कान कम सुन्ने, एकाग्रता नहुने, वाक वाक लाग्ने, मुटु सम्बन्धी समस्या हुने, चिडचिडापन बढ्ने, तनावमा रहने, निद्रा कम लाग्ने, बोलिमा प्रभाव कम पर्ने, रिस उठ्ने जस्ता स्वास्थ्य समस्या देखा पर्दछ ।
ध्वनि प्रदूषणको कारणले हुने तनावले गर्दा उच्च रक्तचाप, मुटुसम्बन्धी अनेक रोगहरु लाग्न सक्छ । गर्भबती महिलामा चर्को ध्वनि प्रदूषणबाट प्रभावित भएमा जन्मने बच्चाको श्रवण शक्ति गुम्न सक्ने र भ्रुणको विकासक्रममा समेत असर पुग्छ । अत्याधिक ध्वनीले मानिसलाई मात्र असर पर्ने नभई व्यस्त सडक, आससपास बस्ने चरा चुरुङी तथा जनावरको बासस्थान तथा प्रजनन् क्षमता र जीवनचक्रमा समेत असर गर्छ । बिशेष गरी मोटरसाइकलहरुले अनावश्यक रुपमा हर्न बजाउँदा यो समस्या उत्पन्न भएको पाइएको छ ।
बढ्दो सवारी साधनको संख्या, चालकहरुमा जथाभावी हर्न बजाउने प्रवृती, पुराना सवारी, उद्योगधन्दा, कलकारखाना ध्वनि प्रदूषणका प्रमुख स्रोत हुन् ।
औषत भन्दा बढी अर्थात स्विकार गर्न नसकिने ध्वनिले शरीरमा कोर्टिसोल बन्दछ । जसले प्रतिरक्षात्मक प्रणालीलाई राम्ररी काम गर्न दिँदैन । कोर्टिसोल कम हुँदा विशेषगरी क्यान्सर र एचआइभी भएका व्यक्तिलाई दीर्घकालीन रुपमा हानी गर्छ । चिकित्सकका अनुसार तनावले गर्दा बिभिन्न किसिमका स्ट्रेस हर्मोन उत्पादन भई मुटुको धडकनमा परिवर्तन आउने, रगतमा कोलस्ट्रोलको स्तर बढ्ने तथा पाचन क्रियामा उतारचडाव आउने हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अस्पताल क्षेत्रमा ५० डेसिबल र अस्पतालको कोठामा ३५ डेसिबल भन्दा चर्को ध्वनि हानीकारक हुन्छ , मानिसको सामान्य बोलीचालीको आवाज नै ५० डेसिबल हुन्छ , ध्वनिको स्तर घरमा ४०–५५ भन्द बढी बाहिर ७५–८५ भन्दा बढी र उद्योगमा ९० डेसिबल भन्दा बढी हुनु हुँदैन ।
नेपालमा कानूनी प्राबधान र कार्यान्वनमा तत्परता नदेखाए ध्वनि प्रदूषण कम गर्न सकिदैन । सरकारले ल्याएको नो हर्न नियमले यदि सफलता पाउनका लागि सरकार मात्र नभई हामी आम नागरिकले नै सजगता र चेतनाका साथ काम गर्नु आवश्यक छ । जसरी पछिल्ला दिनमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवनको अभियान चलाएर सडक दुर्घटना धेरै कम भएको थियो त्यसरी नै ध्वनि प्रदूषण हटाउन चलाइएको यो अभियानले पनि बहिरो हुने समस्या कम गराउँछ भन्ने शुभकामना छ ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>