दुर्गम हुम्लाका महिलालाई वरदान, पहिलोपटक महिला डाक्टर पाएपछि रोग लुकाउने घटे 



Download our app to get more features

हुम्ला । दुर्गम र अझै कर्णाली भनेपछि नाक खुम्च्याउने प्रवृत्ति बाँकी रहेकै बेला एकजना महिलाले कर्णालीको अति दुर्गम हुम्ला पुगेर बिरामीहरुको घाउमा मल्हम लगाइरहेकी छिन् भन्दा केहीलाई अचम्म लागेपनि धेरैले उनिप्रति श्रद्धा र आभार व्यक्त गर्छन ।

सामाजिक रुपमा धेरै सहज हिँडडुल र पेशा गर्नसक्ने पुरुषहरुले समेत चासो नदेखाउने हुम्लामा पहिलो पटक महिला चिकित्सकले सेवा दिन थालेपछि हुम्लाबासी गदगद भएका छन् । कर्णाली अञ्चलको हुम्ला जिल्लामा डाक्टर नहुने खवर पटक पटक आइरहेपनि हुम्लाबाट त्यस्तो खबर नआएको वर्षदिन भयो । जिल्ला जनस्वास्थ्य कार्यलय हुम्लामा प्रमुख समेत रहेर डाक्टर स्मृति महतले हुम्लाका घाउहरु चहराउन दिएकी छैनन् । 

उनी हुम्लामा मात्र नभई कर्णाली अञ्चलमै महिला चिकित्सकका रुपमा पहिलो पटक काम गर्न पुगेको मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता भण्डारी जोशीले बताइन् । एकाधपटक शिविर सञ्चालनका बेला केही दिनका लागि हुम्लामा महिला चिकित्सक पुगेपनि लामो समय सेवा गर्ने गरी डा. स्मृति महत पहिलो पटक हुम्ला पुगेको भण्डारीले बताइन् । महिला चिकित्सकका दरबन्दी नभएपनि डा. महत जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा स्थायी पदमा पहिलो पटक पुगेकी हुन् । यातायात पहुँच नभएको हुम्लामा मेडिकल अधिकृत मात्र नभई अन्य तल्लो तहका कर्मचारी समेत आउन मान्दैनन् । हुम्ला पुग्नका लागि नेपालगञ्ज र सुर्खेतबाट एकमात्र साधन हवाईजहाज मात्र यातायातको साधनका रुपमा रहेको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा अध्यनरत डा. स्मृति महतले स्थायी मेडिकल अधिकृतमा नाम निकाल्ने बित्तिकै पहिलो पटक हुम्ला रोजेकी थिईन् । हुम्लामा उनि २०७२ माघ ११ गते पहिलोपटक हाजिर भएकी थिइन् । स्थायीमा नाम निकाल्ने बित्तिकै महिला भएकै कारण पनि शहरमा पाउँथे, तर आफैले जिल्ला स्वास्थ्य कार्यलयमा हुम्ला मागेर आएको डा. स्मृति महतले बताइन् । भैरहवाको दुर्गम सखुवानी गाविसमा जन्मेकी महतले दुर्गमका महिलाको पीडा बुझेकोले आफैले हुम्ला सरुवा मागेकी हुन् । उनले भनिन् ‘नेपालगञ्ज मेडिकल कलेजमा पढदा पनि कर्णालीमा धेरै समस्याको उपचार नपाएर अकालमै ज्यान गुमाउने जस्ता खबर सुनिरहन्थें, त्यहि भएकाले पनि हुम्ला रोजेको हुँ ।’

मानव सुचकाङ्कमा ७३ औ स्थानमा रहेको हुम्लाका महिलाको स्वास्थ्य अवस्था निकै नाजुक छ । डा. महतले भनिन् ‘अहिले हुम्लाका महिलाको स्वास्थ्य अवस्था निकै दयनीय रहेको छ । यहाँको जीवनस्तर लाई गुणस्तरी बनाउने मेरौ प्रयत्न रहेको छ ।’  हुम्लाको श्रीमष्टा बस्ने ३२ वर्षीया रुपशिला बोहाराले जिल्लामा महिला डाक्टर आएपछि आफ्नो बिरामीको बारेमा उपचार गराउन सहज भएको बताइन् । ‘पुरुष डाक्टर हुँदा भन्न लाज लाग्ने गरेको थियो, अहिले महिला हुँदा आफ्ना कुरा राख्न निकै सहज भएको छ ।’ उनले थपिन् । 

शहरमा बसेर त सबैले सेवा दिन्छन, दुर्गममा चिकित्सक बस्दैनन्, आफुलाई दुर्गममा बसेर सेवा दिने ईच्छा जागेको बताईन्’ । आफुलाई सुविधा भन्दापनि गरिव जनताको सेवा गर्न पाँउदा थप खुशि मिलेको महतले हाम्रो डक्टरसँग बताइन् । हुम्ला आएको एकवर्षमा धेरै गरिव महिलाको उपचार गरेको सुनाइन् । सेवा आवश्यकता भएको ठाँउमा आफु भएको र त्यसैमा आफु खुशि भएको डा. महतले थपिन् । उनले भनिन् ‘अझै पनि धेरै महिलाहरुले रोग लुकाउने गरेका रहेछन् धेरै महिलालाई सोध्दा यस्तै पाएँ । लामो समयदेखि यौन समस्या भएका महिलाहरु अहिले मात्र खुलेर उपचारमा आउने गरेका छन् ।’ अझै पनि दुर्गममा चेतनाको कमी रहेकाले महिलाहरु खुल्न नसकेको महतको अनुभव छ । आर्थिक अभाव र पोषिलो खानेकुरा राम्ररी खान नपाउनुले पनि यस क्षेत्रका महिलाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको छ । 

महिला चिकित्सक हुँदा आफ्नो रोगबारे खुल्दै महिला

हुम्लाको श्रीमष्टा बस्ने ३२ बर्षिय रुपशिला बोहाराले महिला डक्टर आएपछि महिलाहरुले रोगका बारेमा खुलेर व्यक्त गर्न सहज भएको बताइन् । उनले थपिन् ‘वर्षांैदेखी पिसाव सम्बन्धी समस्या देखिएपनि कसैलाई भन्न सकेको थिइँन । बल्ल अहिले आएर जिल्लामै उपचार पाएको छु ।’ राय –८ कि २८ वर्षीय सन्तोषी विकको ३ वर्षदेखि यौनीबाट सेतो पानि बग्ने समस्या थियो । जिल्ला स्वास्थ्य कार्यालयमा पटक उपचार गर्न आएको भएपनि पुरुष स्वास्थ्यकर्मी हुँदा उनले आफ्नो समस्याको बारेमा भन्न सकेकी थिइनन् । तर उनले महिला डाक्टरसँग आफ्नो समस्या भनिन् र उपचार पाइन् । 

त्यस्तै डाडाफयाँकी २७ वर्षीया धना रोकायाले पनि आफ्नो समस्याको बारेमा भन्न नसकेर केही बर्ष देखिनै रोग लुकाउँदै आएकी थिइन् ।यौनरोग सम्बन्धी समस्या भएपनि पुरुष स्वास्थ्यकर्मीसँग भन्न लाग लागेको उनले सुनाइन् । महिला डाक्टर आएपछिमात्र धनाको समस्या निको भएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा बिगतमा यौन रोग भएका महिलाहरु धेरै कम आउने गरेका थिए । अहिले त्यो बढेको छ । महिलाले आफ्नो यौन समस्या डाक्टरसँग भन्नसक्ने भएका छन् । 

महिला चिकित्सक नहुँदा थोरै मात्रामा महिला आउने गर्थे, अहिले जिल्ला स्वास्थ्य कार्यलयमा दैनिक उपचारमा आउनेमध्ये ६० प्रतिशत भन्दा बढि महिला रहेका छन् । यिनीहरु मध्ये यौनरोग, गर्भनिरोधको सल्लाह लिने र आङ्ग खस्ने समस्या भएका महिलाहरु बढि लाभान्वित भएका छन् । पुरुष चिकित्सक हुँदा कम महिलाहरु उपचारमा आउने गरेको थिए, अहिले भने उपचारमा आउने महिलाको संख्यामा निकै बृद्धि भएको बाजुराकी सिअनमि सरिता बोहोराले वताईन् । उनले भनिन्, ‘पुरुष चिकित्सक हुँदा रोगको बारेमा खुलेर भन्न नसक्ने, रोग लुकाउने, यौनरोग भएका महिलाहरु चेकजाँच गर्न नआउने गरेका थिए । महिला चिकित्सक आउँदा बिरामी महिलाको संख्या पनि बढेको छ ।’

जति महिला डाक्टर हुँदा सहज हुन्छ, त्यति पुरुष चिकित्सक हुँदा नहुने गरेको स्थानीय महिला अधिकारकर्मी मालती रोकायाले बताइन् । अहिले स्त्रीरोग सम्बन्धी समस्या भएका महिला खुल्न सक्ने भएका छन् । महिला डाक्टर हुँदा सहज रुपमा खुल्ने र बोल्नसक्ने भएका छन् । हुम्ला प्राय चिकित्सकविहीन हुने गरेको थियो । तर अहिले महिला चिकित्सकनै हुम्लामा आएर सेवा पाउँदा बाजुराका महिलालाई निकै सहज भएको नागरीक समाजका नवराज महतराले बताए । डा. स्मृति महत आएर सेवा दिनुले सिटामोल समेत नपाउने हुम्लाका महिलाका लागि निकै सहज भएको नवराजले वताए । महिलाहरुले भन्न नसक्ने रोगहरु अहिले प्रस्ट रुपमा भन्ने गरेका छन् । अर्कोतिर महिला बिरामी हुँदा जहाजबाट बाहिर लैजानुपर्ने बाध्यतामा कमि आएको छ । 

हुम्लामा अहिले अस्थायी करारमा एकजना एमडीजीपी र अस्थायी करारमा २ जना चिकित्सक रहेका छन् । जिल्ला स्वास्थ्य कार्यलयमा एकजना मेडिकल सुपरिटेन्डेन्ट रहने व्यवस्था भएपनि लामो समयदेखि रिक्त रहँदै आएको छ । जिल्लाका २६ वटा स्वास्थ्य संस्थामा २५ जना एचए र २६ जना अहेब रिक्त रहेको जनस्वास्थ्य कार्यालय हुम्लाले बताएको छ ।
तस्विरः रेशम बहादुर शाही, हुम्ला

    

Last modified on 2017-06-18 15:14:09

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts