एकजना विशेषज्ञ डाक्टरले चलेको ५० बेडको इलाम अस्पताल...
काठमाण्डौ । पूर्वी नेपालको समृद्ध जिल्लाका रुपमा बुझिने इलाम सबै किसिमले भने अझै समृद्ध हुनसकेको छैन । ‘पाँच अ’ बाट ‘आठ अ’ को जिल्ला बनिरहेको इलामको जीवनस्तर साह्रै कमजोर पनि छैन । इलाम मानव विकास सूचाकांकमा ११ औं नम्बरमा पर्छ । जसरी, कन्यामको चिया बगान, नागबेली सडक, डाँडालाई छोएर उडिरहने कुइरो, स्वावलम्बी र उद्यमशिल मान्छेहरुले इलामलाई सजाएका छन् । तर, त्यसैगरी राज्यले त्यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा भने दिनसकेको छैन ।
जसले गर्दा स्वास्थ्य सेवा खोज्दै इलामेली झापा झर्नुपर्दा समय र आर्थिक भार थपिएको छ । इलाम जिल्ला अस्पताल बाहिर भेटिएका अधवैंसे सुजन लिम्बूले भने ‘हाम्रो प्रकृतिजस्तो सुन्दर यहाँको अस्पताल छैन ।’
नाममात्रको ५० बेड
इलाम अस्पताल गतसालबाट जिल्ला अस्पताल रहेन । २५ बेडबाट क्षमता विस्तार भएर ५० बेड भएको छ । विकास समितिले अस्पताल सञ्चालन गर्छ । अस्पताल ५० बेडको बनाइएपनि त्यो घोषणामा मात्र सीमित छ । जिल्ला अस्पताल हुँदासम्म जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने अस्पताल स्वायत्त त भएको छ । तर सहज भएको छैन । अस्पताल ५० बेड भएपनि ३५ बेडमात्र सञ्चालनमा रहेको अस्पतालका निमित्त मेसू डा. प्रभू साले जानकारी दिए ।
९ जना कन्सल्टेन्ट हुुनुपर्नेमा १ जनामात्र
जिल्ला अस्पतालबाट स्तरोन्नति भएर ५० बेडे अस्पताल भएपनि भौतिक संरचना, क्वार्टनर, फार्मेसी भने उही पुरानै छ । डाक्टर हेर्ने हो भने त पुरानो कै भन्दा पनि कम छ । अस्पताल ५० बेडको भएसँगै ९ जना विशेषज्ञ चिकित्सक हुनुपर्छ । दरबन्दी पनि ९ जनाकै छ । तर डाक्टर भने एकजना । इलाम अस्पतालका निमित्त मेसू समेत रहेका डा. प्रभू साह एकजनामात्र विशेषज्ञ चिकित्सक हुन् । उनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी बाहेक जनरल फिजिसियन, जनरल सर्जन, हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ, रेडियोलोजिष्ट, मानसिकरोग विशेषज्ञ, ग्यास्ट्रोइन्ट्रोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, ११ औं तहको स्वास्थ्य समूहका मेसू लगायत गरेर विशेषज्ञहरु हुनुपर्ने हो । तर एकजना मात्र कन्सल्टेन्ट डाक्टर हुँदा सुत्केरी गराउने बाहेक अन्य मुख्य शल्यक्रिया अस्पतालमा हुनसक्दैन ।
कसरी चल्या छ ?
अस्पतालमा सम्पुर्ण गरे ६४ जनाको दरबन्दी छ । तर उपलब्ध छन् जम्मा ३० जना हाराहारीमा । अस्पतालमा ५ जना मेडिकल अफिसर (एमबीबीएस डाक्टर) को दरबन्दी भएपनि १ जनामात्र छन् । बाँकी चारजनालाई करारमा राखिएको छ । त्यसमध्ये एकजना बालरोग विशेषज्ञ अध्ययन गरिसकेका डाक्टरपनि छन् । जसले गर्दा केही सजिलो भएको छ । त्यस्तै एकजना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्ने रेजिडेन्ट डाक्टर आउँछन् । ११ जना कार्यालय सहयोगी हुनुपर्नेमा २ जनामात्र छन् । १५ जना नर्सको दरबन्दीमा १० जनामात्र छन् । अस्पतालमा २ जना डेन्टल सर्जन र चारजना एचए पनि छन् । जनशक्ति अभावमात्र होइन ५० बेड भएपछि हुनुपर्ने भौतिक संरचना र उपकरण पनि अस्पतालमा अभाव छ ।
क्वार्टर पुगेन, इमर्जेन्सी ब्लक पनि पुरानो भो
अस्पतालको स्तरोन्नति गरपनि त्यहाँ बस्ने कर्मचारीलाई क्वार्टर भने पुरानै छ । पुरानै २५ बेड छँदा समेत साँघुरो भएको कोठाले अब कसरी धान्ने भन्ने चिन्ता रहेको नि.मेसू साहले बताए । त्यस्तै अस्पतालको इमर्जेन्सी ब्लक धेरै पुरानो र कमजोर भैसकेको छ । उक्त भवन भारतीय दूतावासले बनाइदिएको थियो । ‘भवन नयाँ निर्माण गर्न अस्पतालले मास्टर प्लान स्वास्थ्य मन्त्रालय र भारतीय दूतावास दुवै ठाउँमा पुर्याइएको छ । तर, रेस्पोन्स आएको छैन ।’ साहले भने ।
निशुल्क औषधि खरिद गर्नै ढिला
इलाम अस्पतालमा सामान्य न्यून बजेटबाहेक तलब भत्ताको व्यवस्थामात्र सरकारले गर्छ । बाँकी अस्पतालबाटै आम्दानी गरेर चलाउने हो । जसले गर्दा निशुल्क औषधिको अस्पतालमा अभाव थियो । स्वास्थ्यमन्त्री गगनथापाले मन्त्री भएसँगै सबै जिल्लाबाट औषधि किन्न भन्दै २० लाख व्यवस्था गरेपछि अस्पतालले खरिद प्रकृया थाल्यो । तर अझै खरिद सम्झौता भने भइसकेको छैन । ‘अहिले त निशुल्क औषधि छैन । टेन्डर भएको छ अब केहीदिनमै निशुल्क औषधिको व्यवस्था हुन्छ ।’ नि.मेसू शाहले बताए ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।