राष्ट्रिय स्वास्थ्य बीमा ऐन मन्त्रिपरिषदबाट स्वीकृत
काठमाण्डौ, २९ चैत । राष्ट्रिय स्वास्थ्य बीमा ऐन मन्त्रीपरिषद्ले स्वीकृत गर्दै संसदमा पठाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले पेश गरेको बीमा ऐनलाई छलफल गरी संसदमा लैजाने निर्णय गरिएको हो । हाल गठनादेशमा चलेको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम ऐन बनेसँगै स्वायत्त बोर्डबाट चल्नेछ । ऐन पारित भएसँगै बन्ने नियमावलीले बीमालाई थप प्रभावकारी ढंगबाट चल्नेछ ।
बीमा ऐन पारित भएसँगै अध्यक्ष, कार्यकारी निर्देशक सहितको स्वायत्त बोर्ड बन्नेछ । जसलाई प्रतिस्पर्धाका आधारमा नियुक्त गरिने छ । त्यस्तै बीमा सञ्चालनका लागि छुट्टै कोष बन्नेछ । उक्त कोषमा प्रिमियम उठाएको पैसा र राज्यले लगानी गरेको पैसा सञ्चित गरेर बीमा कार्यक्रम सञ्चालन गरिने छ । कोष बनाएसँगै आर्थिक वर्षमा खर्च हुन नसकेको पैसा फ्रिज हुँदैन ।
ऐनमा व्यवस्था भएअनुसार कर्मचारी र मजदूरहरुको बीमा उनीहरु कार्यरत संस्था वा कम्पनीले गरिदिनुपर्ने व्यवस्था गरिएको छ । देश संघीयतामा गएसँगै बीमा कार्यक्रमको स्वरुप सांगठानिक संरचना अनुसार प्रदेश र केन्द्रमा रहनेछ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।