स्वास्थ्य बीमा गरेकामध्ये २३ जनाले राजधानीबाट सेवा लिए, १९ जनाको वीरमा मात्रै 



Download our app to get more features

काठमाण्डौं, २९ चैत । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत सदस्यता लिएकमा २३ बीमितले उपत्यकाका रेफरल अस्पतालबाट सेवा लिएका छन् । 

बीमितले स्वास्थ्य सेवा लिएका अस्पतालमा वीर अस्पताल, मनमोहन कार्डियो भास्कुलर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । जसमा १९ जना वीर अस्पताल, तीनजना कार्डियाक भास्कुलर सेन्टर र एक जना पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा लिएका सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका शाखा अधिकृत जागुराम चौधरीले बताए । 

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले वीर अस्पतालमा १९ जनाले सेवा लिएको जानकारी दिए पनि त्यहाँबाट २५ जनाले सेवा लिइसकेको वीर अस्पतालका सामाजिक सुरक्षा इकाई प्रमुख तथा बीमाको वीर अस्पतालको फोकल पर्सन टिका पनेरुले जानकारी दिए । पनेरुले भने ‘वीरबाट २५ जनाले सेवा लिइसकेका छन्, १९ जनाको मात्र रेकर्ड बीमा समितिमा पठाएको छौं बाँकी पठाउने तयारीमा छौं ।’ 

वीरबाट सेवा लिनेमा अधिकांश कैलालीका बीमित रहेको पनेरुले बताए । कैलाली पछि सेवा लिनेमा बाग्लुङ्ग र इलामका बीमित धेरै रहेका छन् । पनेरुका अनुसार अहिले पनि वीरमा तीन जना बिरामी उपचाररत छन् । 

सामान्य उपचारदेखि जटिल प्रकारका शल्यक्रिया समेत भएको वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए । जटिल शल्यक्रिया अन्र्तगत फोक्सो प्वाल टाल्ने शल्यक्रिया गरीएको थियो भने मिर्गौलाको पत्थरी तथा पिसाब थैलीको पत्थरीको समेत शल्यक्रिया भएको अस्पतालले जनाएको छ । 

स्वास्थ्य मन्त्रालय अन्र्तगत सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले स्वास्थ्य बीमा सुरु गरेसँगै उपत्यकाका विभिन्न ९ वटा अस्पतालसँग सहुलियत दरमा उपचारका लागि सम्झौता गरे अनुसार उनीहरुले सेवा लिएका हुन् ।

सम्झौता भएका अस्पतालमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, शहिद गंगालाल हृदय केन्द्र, मनमोहन कार्डियाक भास्कुलर सेन्टर, पाटन अस्पताल, मानसिक अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र रहेका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीका अनुसार स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लामा सेवा लिने बीमित बिरामीहरुलाई त्यहाँका अस्पतालहरुले सेवा दिन नसकेको खण्डमा वा थप उपचारका लागि चिकित्सकको सल्लाहका आधारमा मात्र रिफर गर्न सकिने छ ।    

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७२ चैत्र २५ गते कैलालीबाट सुरु भएको बीमा कार्यक्रम हालसम्म आठवटा जिल्लामा सुरु भइसकेको छ । पहिलो वर्ष २५ जिल्लामा बीमा कार्यक्रम सुरु गर्ने भनिएपनि हालसम्म कैलाली, बाग्लुङ्ग, इलाम, बैतडी, अछाम, पाल्पा, म्याग्दी, कास्कीमा मात्र सुरु गरिएको छ । 

निर्देशक डा. लोहनीले एक वर्षमा आठ हजार सात सय ३८ घरधुरीका ४५ हजार दुई सय ७७ जनामा बीमा गरेको जानकारी दिए । उनका अनुसार बीमा गरेका मध्ये ६ हजार ६७ जनाले बीमा बाफत स्वास्थ्य सेवा लिएका छन् ।

Last modified on 2017-06-18 15:22:18

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts