प्लास्टिकमा आन्द्रा बोक्नेकोे निःशुल्क उपचार
मोरङ, २८ चैत । प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका मोरङको मिक्लाजुङ–१ साम्पाङ टोलका ४० वर्षीय मनबहादुर राईको उपचार नोबेल अस्पताल, विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ ।
‘प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिँड्न बाध्य’ समाचार शीर्षकको समाचार देशका विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । सो समाचार सञ्चारमाध्यममा आएपछि उर्लाबारीका समाजसेवी खड्ग फागोको समन्वयमा नोबेल अस्पतालमा उपचारका लागि ल्याइएको हो ।
राईको त्यस्तो अवस्था देखेपछि नोबेल अस्पताल, विराटनगरका सञ्चालक सुनिल शर्माले निःशुल्क उपचार गर्ने भएका छन् । उनले भने ‘हामीले राईको उपचार निःशुल्क गर्ने भएका छौँ ।’ सञ्चालक शर्माले राईलाई निको पारेर तन्दुरुस्त बनाएर घर पठाउने बताए । ।
नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यो वर्ष अस्पतालले पाँचसय जना विपन्न अवस्थाका विरामीको निःशुल्क उपचार गरेको छ । त्यसैगरी तीनसय जनाको निःशुल्क शल्यक्रिया गरेको छ ।
तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित राईको बिपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियोे । रु पाँच लाख चन्दा सङ्कलनबाट उनको शल्यक्रिया गरिए पनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेको थिएन । रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>