स्वास्थ्य तथा जनसङ्ख्या बैज्ञानिकको तेश्रो शिखर सम्मेलन हुँदै
काठमाडौ, २७ चैत । दिगो बिकास लक्ष्यमा स्वास्थ्य: के हामी सही मार्गमा छौं ? भन्ने मूल नारा सहित स्वास्थ्य तथा जनसङ्ख्या बैज्ञानिकहरुको तेश्रो शिखर सम्मेलन सोमबारदेखि सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो २६ औ बार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्मेलन तीन दिनसम्म चल्नेछ ।
सम्मेलनका बारेमा जानकारी दिन आइतवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा परिषदका कार्यकारी अध्यक्ष प्रा. डा. अन्जनी कुमार झाले स्वास्थ्य तथा जनसंख्या विज्ञहरुलाई एउटै थलोमा भेला गरी दिगो विकासका लक्ष्य प्राप्तीका लागि छलफल गर्ने तथा जिम्मेवारीपूर्ण अनुसन्धान कार्य गर्न अभिप्रेरित गर्ने सम्मेलनको लक्ष्य रहेको बताए । स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख तथा परिषदका सदस्य डा. भोलाराम श्रेष्ठल चिकित्सक र स्वास्थ्यकर्मीलाई अनुसन्धानमा ल्याउनका लागि यो सम्मेलन निकै प्रभावकारी रहने दावी गरे ।
एक हजार भन्दा बढि स्वास्थ्य तथा जनसङ्ख्या बिषयसँग सम्बन्धित व्यक्ति सहभागी हुने सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित विषयमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ६३ वटा अनुसन्धानमुलक कार्यको मौखिक प्रस्तुति तथा १ सय ४८ पोष्टर गरिनेछ । ३ दिने सम्मेलनको पहिलो दिन आइतवार दिगो विकासका लागि स्वास्थ्य विषयको बारेमा छलफल हुनुका साथै सामाजिक स्वास्थ्य बीमा, नीति तथा कार्यक्रममा प्रमाणिक तथ्यको महत्व तथा वैज्ञानिक लेखन तथा प्रकाशन कसरी गर्ने भन्ने बारेमा प्रस्तुतिकरण तथा छलफल गरिनेछ । त्यसैगरि दोश्रो तथा तेश्रो दिन स्वास्थ्य तथा जनसङ्ख्याका विभिन्न ८ बिधाहरुका प्रस्तुति रहनेछ ।
जसमा नसर्ने रोग, पोषण, मातृ तथा बालस्वास्थ्य, सरुवा तथा उष्ण प्रदेशीय ट्रपिकल रोगहरु तथा वातावरणीय र पेशागत स्वास्थ्य, मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य तथा किशोर किशोरी स्वास्थ्य तथा सिस्टमेटिक रिभ्यू बिषयमा प्रस्तुतिकरण तथा गहन छलफल गरिने परिषदले जनाएको छ । सम्मेलनका क्रममा ६ जना उत्कृष्ट अनुशन्धानकर्तालाई विभिन्न सम्मानित गरिने कार्यक्रम रहेको छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।