बीमा गरेर निशुल्क उपचार पाउने गंगा सुब्बादेखि गोविन्द माडसावहरुको कथा, इलामको बीमा नालीबेली
इलाम । गत असारमा पूर्वी नेपालको पहाडी जिल्ला इलाममा स्वास्थ्य बीमाको माइकिंग सुरु हुँदा त्यताका मान्छेलाई खासै स्वास्थ्य बीमाको बारेमा जानकारी थिएन ।
विभिन्न कृषिजन्य व्यवसाय, उत्पादन र प्रवद्र्धनका क्षेत्रमा क्रियाशिल इलामेलीहरुका लागि स्वास्थ्य बीमा नौलो चराको नाम थियो । कार्यक्रम सुरु भएर अहिलेसम्म आइपुग्दा त्यहाँका मानिसले स्वास्थ्य बीमाको महत्व र औचित्य बुझ्न थालेका छन् । अघिल्लो साता इलामको सदरमुकामबाट नजिकै रहेको बरबोटे गाविस पुग्दा त्यहाँका तीनजना पात्र भेटिए । जसले स्वास्थ्य बीमा गराएकामात्र छैनन् । बीमा दावी गरेर उपचार समेत पाइसकेका छन् ।
२५ सय तिरेर स्वास्थ्य बीमाका सदस्य बनेकाहरुलाई पहिले त पैसा फोक्कटमा गएको जस्तो पनि लाग्दो रहेछ । तर समयक्रमले यी भ्रमहरुलाई चिरिदिएको छ । बरबोटे पुग्दासाथ सबैभन्दा पहिले त्यहाँकी बीमा दर्ता सहयोगी सीता बेघाले आफैले बीमा गराएकी गंगा सुब्बाको घरमा पुर्याइन् । गंगाले एकमहिनाअघिमात्र जिल्ला अस्पतालबाट रिफर भएर झापाको बीएण्डसी अस्पतालबाट उपचार लिएकी थिइन् । उनले उपलब्ध नभएका केही औषधि बाहेक सबै निशुल्क उपचार गराइन् । उनले लजाउँदो पारामा भनिन् ‘३०–४० हजार लाग्नसक्छ भनेका थिए । निशुल्क उपचार भयो । २५ सय तिरेर बीमा गराएको अहिले सस्तो जस्तो लागेको छ । म सबैलाई स्वास्थ्य बीमा गर्न अनुरोध गर्छु ।’
सुब्बाको भन्दा पल्लो घरका भानुभक्त घिमिरेको घरमा पनि बीमाले खुशी दिइसकेको छ । भानुभक्त, उनकी श्रीमति, छोरी र बुबा सहितको उक्त परिवारले असारमा नै स्वास्थ्य बीमा गराएका थिए । त्यसै बीमा दावी गराएर भानुभक्तले आफ्ना बुबा सागर घिमिरेको निशुल्क उपचार गराइसकेका छन् । उनले स्वास्थ्य बीमा कार्यक्रम आफैमा अत्यावश्यक र क्रान्तिकारी काम भएपनि कार्यान्व्यन प्रभावकारी हुननसकेको बताए । आफ्नो बुबाको बीमा दावी गरेर जिल्ला अस्पतालमा उपचार गराउन जाँदा डाक्टरहरुले गतिलो ‘रेस्पोन्स’ नगरेपछि उनलाई असन्तुष्टि पैदा भएको रहेछ । उनले थपे ‘इलाम अस्पतालका डाक्टरले अलि झर्कोफर्को गरे, सेवाग्राहीलाई गर्ने व्यवहार भएन । पैसा तिरेर उपचार गर्नेहरुको तुलनामा हामीलाई विभेद भयो ।’ सामान्य समस्याहरु सुधार्न सके बीमा प्रभावकारी हुने भानुभक्तको सुझाव छ ।
त्यस्तै, बरबोटेकै स्वास्थ्य स्वयंसेविका समेत रेहेकी बीमा दर्ता सहयोगी सीता बेघाकै ससुराबाले पनि बीमाबापत उपचार गराएका छन् । पिसाब अड्किने समस्याबाट ग्रसित जीतबहादुर लिम्बूले पनि स्थानीय अस्पतालबाट रिफर लिएर झापामा गएर उपचार गराए । उनले आफ्नी बुहारी दर्ता सहयोगी भएकाले बीमा गराएका होइनन् । ‘भोलि के पर्छ के पर्छ भनेर बीमा गराइराखेको सित्तैमा उपचार भयो । अरु के चाहियो र ! मेरा त गाडीभाडामात्र खर्च भयो ।’ तखातामा रंग लगाउँदै गरेका जीतबहादुरले सुनाए ।
यस्तो थुप्रै परिवारले बीमाबापत उपचार पनि लिइसकेकाले पछिल्लो समय बीमाप्रति मान्छेहरु सकरात्मक बनेको सीताले सुनाइन् । पहिले पहिले नेटवर्किङ्ग विजनेशले डुबाएकाहरुले बीमालाई पनि ठगीकै स्वरुपका रुपमा लिने गरेको उनको अनुभव छ । गाउँगाउँमा मान्छेले बुझ्ने गरी बीमाका बारेमा बुझाउन जरुरी रहेको उनको भनाइ छ ।
त्यस्तै, इलाम बरबोटेका शिक्षक गोविन्द भण्डारी र उनकी श्रीमती पनि झापाको बीएण्डसी अस्पतालमा उपचार गराइरहेका भटिए । गोविन्दको तालु पोल्ने समस्या र श्रीमतिलाई मधुमेह भएको रहेछ । इलाम फिकलकी ४६ वर्षीया दिव्या तिमिल्सिनाले पनि बीमामार्फत उपचार गराएल लामो समयदेखि पाठेघरमा केही भएको छ की भनेर जाँच गराएकी छिन् ।
३ हजार ३० जनाले बीमा दावी गरे
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति इलामका बीमा अधिकृत हार्दिक सापकोटाका अनुसार जिल्लाबाट स्वास्थ्य बीमा गराएका ९ हजार ८ सय २८ जनामध्ये ३ हजार ३० जनाले बीमा दावी गरिसकेका छन् । उनीहरुको रोगको प्रकृति वा जोखिम हेरेर उपचार गर्न सहजीकरण गरिएको छ । ती मध्ये धेरैले उपचार पाइसकेको र रकमपनि भुक्तानी भइसकेको उनले जानकारी दिए ।
३ वटा नगरपालिका सहित ४२ गाविस रहेको इलामको कूल जनसंख्या २ लाख ९० हजार रहेको तथ्यांक विभागको तथ्यांक छ । जसमध्ये करिब १० हजारले मात्र बीमा गराएका छन् । पुषमसान्तसम्म ९ हजार माथिले बीमा गरेकोमा चैतसम्म पुग्दा कम्तिमा ११ हजार बीमाको पहुँचमा आउने बताइएको छ । यद्यपी जिल्लाका अझै ७ वटा गाविसमा बीमाका बारेमा कुनै जानकारी पुगेको छैन ।
बीमितलाई औषधि उपलब्ध गराउन फार्मेसीलाई बीउ पुँजी
स्वास्थ्य बीमा कार्यक्रम इलामले बीमा गराएकाहरुले प्राप्त गर्ने ५ सय ३० थरी निशुल्क औषधिको व्यवस्थापना सहित फार्मेसी चलाउन जिल्लाका प्रथमबिन्दु स्वास्थ्य संस्थाका रुपमा रहेको दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रलाई ३–३ लाख बीउ पुँजी उपलब्ध गराएर फार्मेसी स्थापना गरिदिएको छ । बीउ पुँजी पाएपछि जिल्लाका मंगलबारे र पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा आफ्नै फार्मेसी स्थापना भएको छ । जसबाट स्थानीयले उपचारपश्चा आवश्यक औषधि पनि सित्तैमा पाउने गरेका छन् ।
दर्ता सहयोगी नै पुगेन, १२ जनाले काम छाडे
इलाममा स्वास्थ्य बीमा सुरु गर्दा पहिलो चरण अन्तर्गत गत जेठमा ६४ जना दर्ता सहयोगी नियुक्त गरिएको थियो । ती मध्ये अहिलेसम्म ५२ जनामात्र कार्यरता छन् । उनीहरुलाई कमिशनका आधारमा काम लगाइएको छ । एकजाको बीमा गराएबापत उनीहरुले ४० रुपैयाँ लिनेगर्छन । उनीहरुले आफ्नौ स्थानको ५० प्रतिशतभन्दा मुनी जनसंख्यालाई बीमा गराउँदा १० प्रतिशत, ५० भन्दा माथि १५ प्रतिशत र ८० प्रतिशतभन्दा माथि जनसंख्याको बीमा गराएमा प्रिमियम रकमको २० प्रतिशतसम्म कमिशन पाउँछन् ।
दर्ता सहयोगीको अभावमा जिल्लाका सातवटा गाविसमा बीमा कार्यक्रम विस्तार गर्न नसकिएको जिल्लाका दर्ता अधिकारी खेम अधिकारले हाम्रो डक्टरलाई बताए । निर्वाचन आचारसंहिता लागू भएका कारण पछिल्लो समयमा रिक्त दर्ता अधिकारी नियुक्त गर्न नसकिएको उनको जवाफ थियो ।
रिफरल सेन्टर चारवटा अस्पताल, सबैभन्दा बढी निजीमा गए
इलाममा स्वास्थ्य बीमा गरेकाले प्रथम बिन्दु स्वास्थ्यकेन्द्र अन्तर्गत जिल्लाका चारवटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये एउटा वा जिल्ला अस्पतालमध्ये एउटा छान्नुपर्ने हुन्छ । त्यहाँ उपचार सम्भव नभएमा मात्र रिफर लिएर सुविधा सम्पन्न अस्पताल जान पाइन्छ ।
जिल्लामा स्वास्थ्य बीमा गराएकाहरुमध्ये ३ हजार ३० जनाले बीमाबापत प्रथमबिन्दु स्वास्थ्य केन्द्रमा उपचार लिएका छन् ।
कुन स्वास्थ्यकेन्द्रमा कति आए ?
- मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रः १ सय ७ जना
- प्याङ्ग प्राथमिक स्वास्थ्य केन्दः ४ सय ३७ जना
- फिक्कल प्राथमिक स्वास्थ्य केन्द १ हजार १२ जना
- पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्दः ९३ जना
- इलाम अस्पताल: १ हजार ४ सय ४९ जना
यी मध्ये करिब ६ सयले झापा स्थित विभिन्न चारवटा अस्पतालबाट उपचार गराएका छन् भने १० जना राजधानीमा रिफर भएका छन् ।
सबैभन्दा बढी निजीमा
बीमा गराएकाहरुमध्ये सबैभन्दा धेरैले निजी अस्पतालमा रिफर लिएर जाने गरेका छन् । स्वास्थ्य बीमा अन्तर्गत इलामका पाँचवटा स्वास्थ्य संस्थामा उपचार नभएमा झापाको सरकारी मेची अञ्चाल अस्पताल, गैरसरकारी आम्दा अस्पताल, निजी बीएण्डसी अस्पतालबाट उपचार पाइन्छ । त्यस्तै आँखाका बिरामीलाई मेची आँखा अस्पतालमा रिफर गर्ने गरिन्छ । रिफर भएका मध्ये सबैभन्दा धेरै झापामा २ वर्षअघि खुलेको निजी अस्पताल बीएण्डसी अस्पतालमा सबैभन्दा धेरैले उपचार गराएका छन् । इलामबाट आउँदा नजिक हुने र सुविधानसम्पन्न अस्पताल भएकाले धेरैले उपचार गर्ने गरेका हुन् ।
बीएण्डसी अस्पतालमा अहिले सम्म ५ सय ३ जनाले उपचार गराइसकेका छन् । भने ३ सय ७३ जनाको बीमा दावी भुक्तानी गरिसकिएको छ । त्यस्तै मेची अञ्चल अस्पतालबाट ३५ जनाले उपचार पाएका छन् भने १० जनाको बीमा दावी गरिसकिएको छ । आम्दा अस्पतालबाट १ सय ७४ जनाले उपचार पाएका छन् भने सबैभन्दा थोरै मेची आँखा अस्पतालमा २ जनाले उपचार गरेका छन् । जिल्ला बीमा कार्यालय इलामका अनुसार काठमाण्डौ आएर १० जनाले उपचार सेवा लिएका छन् । उनीहरुले राजधानीमा कुनकुन अस्पताबाट उपचार पाएभन्ने चाहीँ जिल्लासँग तथ्यांक नभएको त्यहाँका बीमा अधिकृत हार्दिक सापकोटाले बताए ।
2 Comments
-
इलाम अस्पतालमा पिलो निचोर्न नसकेर बिब्ल्याटे ल्यायेर निचोर्नु पर्छ ।यो अबस्था चही कहिले सुधार हुन्छ नि ।
-
Insurance ma swastha mantralaye le Nisulka upalabdha garaune medicine haru k k hun sabai listing gardinu bhako bhaye jankariko lagi sajilo hunthyo
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।