चरम श्रमशोषण गरेको भन्दै पाँचवटा मेडिकल कलेजका एमबीबीएस इन्टर्न डाक्टर आन्दोलित
काठमाण्डौ, २५ चैत । न्यून पारिश्रमिक दिएर श्रम ऐन विपरित काममा खटाएको भन्दै पाँचवटा मेडिकल कलेजका इन्टर्न गरिरहेका एमबीबीएस डाक्टरहरुले आन्दोलन थालेका छन् ।
ललितपुरको किष्ट मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, भैरहवाको भैरहवा मेडिकल कलेज, चितवन मेडिकल कलेज र जानकी मेडिकल कलेज धनुषामा इन्टर्न गरिरहेका २ सयजनाभन्दा धेरै विद्यार्थीले संघर्ष थालेका हुन् । उनीहरुले पारिश्रमिक वृद्धि सहितका माग राखेर चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदिश प्रसाद अग्रवाललाई शुक्रवार ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले आफुहरुलाई मेडिकल कलेजहरुले अमानवीय ढंगबाट काममा खटाएको र भत्तापनि सम्मानजनक नदिएको गुनासो गरेका छन् । पटकपटक सम्बन्धित कलेज प्रशासनलाई कार्यअवधि र पारिश्रमिक पुनरावलकोन गर्न दवाव दिँदा समेत वास्ता नगरेपछि दवावलाई बृहत बनाइएको किष्ट मेडिकल कलेज ललितपुरका इन्टर्न डाक्टर अरुण उप्रेतिले बताए ।
इन्टर्न विद्यार्थीलाई निजी मेडिकल कलेजले निर्वाह भत्ता स्वरुप बढीमा दशहजारमात्र दिने गरेको र काम पनि हप्ताको ८० घण्टाभन्दा बढी र कुनकुनैमा १ सय २० घण्टाभन्दा बढी काममा खटाउने गरेको विद्यार्थीहरुले बताएका छन् । चिकित्सक सरह नै काम गर्नुपर्ने इन्टर्नहरुलाई कलेजहरुले खलेयाम श्रमशोषण गरेको भन्दै यसअघिदेखिनै किष्ट लगायत कलेजका विद्यार्थी आन्दोलित हुँदै आएका थिए ।
अति न्यून पारिश्रमिक
त्रिवि आइओएमको सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले एमबीबीएसको इन्टर्न गरिरहेका डाक्टरलाई निर्वाह भत्ताका रुपमा न्यून पारिश्रमिक दिँदै आएको छ । आइओएम महाराजगञ्जले मासिक रुपमा अधिकृत तहको आधा दिने मापदण्ड बनाएर इन्टर्न डाक्टरलाई मासिक १५ हजार २ सय ५० निर्वाह भत्ता दिन्छ । तर निजी मेडिकल कलेजले भने कुनै मापदण्ड नै नबनाई आफु खुशी पारिश्रमिक दिन्छन् । जसमा विद्यार्थीहरुले असन्तुष्टि जनाउँदै संघर्ष गरिरहेका छन् ।
कसले कति दिन्छन् ?
किष्ट मेडिकल कलेज, ललितपुरः ९ हजार ६ सय
चितवन मेडिकल कलेज, चितवनः १० हजार
गण्डकी मेडिकल कलेज, पोखराः ९ हजार ६ सय
भैरहवा मेडिकल कलेज, भैरहवाः ९ हजार ५ सय
जानकी मेडिकल कलेज, धनुषाः ८ हजार ५ सय
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।