पत्रकारले भनेः स्वास्थ्य बीमा सन्तोषजनक भयो, उत्साहजनक भएन
काठमाण्डौं, २५ चैत । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुको साताव्यापीे स्थलगत रिपोर्टिङ्ग गरेर आएका सञ्चारकर्मीले बीमा कार्यक्रमको पहिलो वर्ष सन्तोषजनक भएपनि अपेक्षाकृत रुपमा प्रभावकारी नभएको टिप्पणी गरेका छन् ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एकवर्ष पुरा भएको उपलक्ष्यमा आयोजित समिक्षा कार्यक्रममा सञ्चारकर्मीले बीमा सुरु गरिएका जिल्लामा असली विपन्न नागरिक अझै स्वास्थ्य बीमाबाट लाभान्वित हुन नसकेको तथ्य प्रस्तुत गरे ।
कार्यक्रममा हेल्थ टुडेका प्रधानसम्पादक पदमराज जोशीले स्वास्थ्य सेवामा सुविधा अभाव, सरकारी स्वास्थ्यकर्मी नै सकारात्मक नहुनु, एनजिओ र आइएनजिओलाई बीमा कार्यक्रममा संलग्न गर्न नसक्नु जस्ता समस्या रहेको औल्याए ।
हाम्रो डक्टर डटकमका प्रधानसम्पादक उद्धवराज भेटुवालले इलाम जिल्लाको तथ्य प्रस्तुत गर्दै बीमा शहर केन्द्रित र मध्यमवर्गीय परिवारका लागिमात्र जस्तो देखिएको बताए । निम्नआय भएका परिवार बीमाको पहुँचमा नआउनु र उच्च आय भएका परिवारले बीमा गर्नै नचाहनु समस्या भएको उनको टिप्पणी छ । स्वास्थ्य बीमाबाट हजारौं नागरिकले स्वास्थ्य बीमा गराएको सुखद् सुरुवातलाई थप प्रभावकारी बनाउन पत्रकारहरुले सल्लाह दिए ।
नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेले बीमा कार्यक्रमको विशिष्ठता अनुसार प्रचारप्रसार न्यून भएको बताए ।
कान्तिपुर दैनिकका स्वास्थ्य संवाददाता अतुल मिश्रले विपन्न नागरिकलाई बीमाको पहुँचमा ल्याउन र सबै स्वास्थ्यकेन्द्रबाट सहज उपचार र जाँच गराउनतर्फ सरकारको भूमिका कमजोर भएको बताए ।
अन्तरक्रियामा थाहा खबरकी संवाददाता सविना खनाल र इमेज च्यानलकी प्रज्ञा तिमिल्सिनाले पनि स्वास्थ्य बीमा सञ्चालन भएका जिल्लाको अवलोकन भ्रमण प्रतिवेदन प्रस्तुत गरे ।
छ हजारले पाए बीमामार्फत उपचार
स्वास्थ्य मन्त्रालय अन्र्तगत सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७२ चैत्र २५ गते कैलालीबाट सुरु गरेको बिमा कार्यक्रम हालसम्म आठ वटा जिल्लामा सुरु भइसकेको छ । पहिलो वर्ष २५ जिल्लामा बिमा कार्यक्रम सुरु गर्ने भनिएपनि हालसम्म कैलाली, बाग्लुङ्ग, इलाम, बैतडी, अछाम, पाल्पा, म्याग्दी, कास्कीमा मात्र सुरु गरिएको छ ।
समिक्षा कार्यक्रमा बोल्दै सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले एक वर्षमा आठ हजार सात सय ३८ घरधुरीका ४५ हजार दुई सय ७७ जनामा बिमा गरेको जानकारी दिए । उनका अनुसार बिमा गरेका मध्ये ६ हजार ६७ जनाले बिमा बापत स्वास्थ्य सेवा लिएका छन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले स्वास्थ्य बीमा कार्यक्रम उल्लासपूर्ण रुपमा सञ्चालन भइरहेको बताए । ‘बिमा कार्यक्रममा केही कमीकमजोरी भए पनि हतोत्साहित हुनु पर्दैन’ डा. पन्तले भने ‘यसलाई हरेक दिन सुधार गर्दै लानु पर्छ ।’
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>