राष्ट्रिय मानसिक स्वास्थ्य नीति बन्यो, अब मन्त्रिपरिषद्मा लगिने



Download our app to get more features

काठमाण्डौं, २५ चैत । स्वास्थ्य मन्त्रालयले ‘राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०७३’ पास गरेको छ । 

विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले २०५३ को नीतिलाई खारेज गर्दै २०७३ मन्त्रालयले पास गरेको बताउँदै छिट्टै मन्त्रिपरिषद्मा लाने बताए । ‘मानसिक रोगीलाई घरमै बाँधेर राख्ने गरिएको छ’ मन्त्री थापाले भने ‘ नीति निमार्णसँगै यस्तो अवस्था आउँदैन, अव उनीहरुको उपचारको काम सरकारले गर्छ ।’

मानसिक स्वास्थ्य नीतिमा समेटिएका महत्वपूर्ण पाँच बुँदा यस्ता छन् 

  • सबै नेपाली नागरिकहरुको सहज पहुँचमा हुने गरी आधारभूत गूणस्तरीय मानसिक स्वास्थ्य तथा  मनोसामाजिक सेवा सुनिश्चित गर्ने 
  • मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा प्रभावह गर्नका लागि आवश्यक जनशक्ति  तयार गर्ने 
  • मानसिक रोगले सृजना गरेको हानी कम गर्न र मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि जनचेतना अविभृद्धि गर्ने 
  • मानसिक स्वास्थ्य भएका व्यक्ति तथा मनोसामाजिक अपाङ्गता भएको व्यक्तिको आधारभूत मानवअधिकारको संरक्षण गर्ने 
  • मानसिक स्वास्थ्य कार्यक्रम अन्र्तगत स्वास्थ्य सूचना प्रणाली र अध्ययन अनुसन्धानलाई प्रवद्र्धन र व्यवस्थित गर्ने

‘उदासीनता रोगः खलेर कुरा गरौं’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदैछ । विश्वमा उदासीनता अर्थात डिप्रेसनका बिरामीको संख्यामा वृद्धिसँगै यसको निदान, रोकथाम र उपचारमा जोड दिन यस वर्षको नारा तय गरिएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले डिप्रेसन एक रोग भएकाले यसका बारेमा खुलेर कुरा गर्दा अथवा यथेष्ट प्रचारप्रसार गर्न सकेमा एकै पटक सबै क्षेत्रमा पुग्न सकिने दावी गरे । 

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा करिब नौं लाख डिप्रेसनका बिरामी रहेका छन् । मनोरोग विशेषज्ञ डा. सरोज ओझाका अनुसार डिप्रेसनको समस्या हरेक घर घरको समस्या बनिसकेको छ । डा. ओझाले भने ‘आत्महत्याको ७० प्रतिशतको कारण तत्व डिप्रेसन नै हो ।’ डिप्रेसनको समस्यामा खुलेर कुरा नगर्दा पनि यसको जोखिम बढिरहेको छ । त्यसैले यसका बारेमा खुलेर कुरा गर्दा यसको रोकथाम र उपचारबाट यसलाई निमूल पार्न सकिनेमा डा. ओझाले जोड दिए । 

 

Last modified on 2017-06-18 15:45:52

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts