उदासीपन विकराल सामाजिक समस्या बन्दै, दक्षिणपूर्वी एशियामा मात्रै ८ करोड ६ लाख मानिसलाई डिप्रेसन



Download our app to get more features

काठमाडौ, २५ चैत । देशभर विश्व स्वास्थ्य दिवस मनाउने तयारी गरिरहेको बेला बिहीबार बिहानै देशकै पुरानो वीर अस्पताल हातामा एक अप्रत्यासिलो घटना घट्यो  । बाग्लुङ, निसी १ की ६० वर्षिया जयकला घर्तिमगरले बिहिवार काठ्माडौको ट्रमा सेन्टर अस्पतालको पाँचौ तल्लामा झुण्डिएर देहत्याग गरिन् । गत चैत ७ गते मेरुदण्डको समस्या लिएर अस्पतालको मेरुदण्ड युनिटमा भर्ना भएर उपचार गराइरहेकी घर्तीमगरले किन आत्महत्या गरिन भन्ने बिषय भने रहस्यकै गर्भमा छ । 

यद्यपि यसरी अस्पताल हाताभित्र आत्महत्या गरेको यो पहिलो घटना भने होइन । केहि समयअघिमात्र त्रिबि शिक्षण अस्पतालमा मृगौला रोगको उपचार गराइरहेका एक युवकले ४ तल्लाबाट हाम फालेर आत्महत्या गरेका थिए । त्यस्तै काठमाडौ मेडिकल कलेज सिनामंगलमा पनि यसअघि एक बिरामीले आत्महत्या गरे । अस्पतालभित्रको घटना भएकाले आर्थिक अभावका कारण आत्महत्या गरिएको हुनसक्ने सबैले अड्कल काटिरहँदा मृतक घर्तिमगरले आर्थिक अभावका कारण उपचार गर्न कठिन भएर आत्महत्या नगरेको दाबी गर्छन ट्रमा निमित्त मेडिकल सुपरिटेन्डेन डा. बिनोद शेरचन । 

उनि भन्छन् ’हामीसँग बिपन्नका लागि छुट्याइएको बेड पनि त्यसै थियो, हामी त्यहाँबाट सेवा दिन्थ्यौ, फेरी बेड चार्ज पनि जम्मा २ सय छ, त्यसैले आर्थिक अभावको कारण चाहीँ पक्कै होइन ।’ ६० बर्षिय बृद्धाले यसरी एक्कासी आत्माहत्या गर्नुको कारणमा आर्थिक कारण भने नभएको अस्पताल प्रशासनको दाबी गरिरहदा कतै मृतक घर्तीमगर कुनै न कुनै प्रकारको मानसिक तनाब, या अदृष्य रुपमा कुनै प्रकारको डिप्रेशनबाट पो गुिज्ररहेकी थिइन कि भन्ने अनुमान लगाउन सकिन्छ ।

सामान्यतया जनमानसमा स्वास्थ्य भन्ने बित्तिकै शरीरमा देखापर्ने रोगहरुको रुपमा बुझ्ने चलन  छ । विश्व स्वास्थ्य संगठन परिभाषा अनुसार स्वस्थ्य मानिस बन्न शारीरिक रुपमा मात्र नभएर मानसिक र सामाजिक रुपमा पनि स्वस्थ हुनुपर्छ । तर मानसिक स्वास्थ्यप्रति समाजले हेर्ने गलत धारणाका कारण मानिसहरु खुलेर नआउने भएकाले पछिल्लो समयमा मानसिक समस्या त्यसमा पनि डिप्रेशनको समस्या बिकराल बन्दै गएको विज्ञहरु बताउछन ।

डिप्रेशन विश्वकै गम्भीर स्वास्थ्य समस्या
‘उदासिनता: खुलेर कुरा गरौं भन्ने मुल नाराका साथ आज विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ । नेपालमा मात्र होइन, मानसिक समस्या बिश्वकै गम्भिर स्वास्थ्य समस्याको रुपमा देखिएको छ । त्यसमाथि पनि डिप्रेशन बिश्वमा देखिएका प्रमुख १० रोगमध्ये छैटौ स्थानमा रहेको बिश्व स्वास्थ्य सघंठनले जनाएको छ । अव तत्काल डिप्रेशनलाई नियन्त्रण नगरेको खण्डमा २०३० सम्ममा यो समस्या एचआइभी पछि दोश्रो ठुलो रोगको रुपमा देखा पर्ने बिश्व स्वास्थ्य संगठनको प्रतिबेदनमा उल्लेख गरिएको छ । 

डब्लुएचओकै अनुसार हाल विश्वमा ३० करोड मानिसलाई डिप्रेशन भएको पाइन्छ । त्यसमा पनि  डिप्रेशन आत्महत्याको प्रमुख कारण मानिन्छ । कोहि मानिस डिप्रेशनको सिकार भए उसले काम गर्न सक्दैन त्यसैले उसको कमाउने उमेर नाश भएर जान्छ, । विद्यार्थीले पढ्न सक्दैन ब्यापारीले व्यापार गर्न सक्दैन, जसले सामाजिक रुपमा अशक्तता निम्त्याउँछ  त्यसैले पनि मानिसलाई सामाजिक रुपमा असक्त बनाउने प्रमुख कारण पनि डिप्रेशन मानिँदै आइएको छ । समाजमा मानसिक रोगको बारेमा गलत धारणाले गर्दा मानिसहरु खुलेर उपचारमा नआउने भएकाले पनि यो रोग निको हुनुको सट्टा झन गम्भीर प्रकृतिको समस्या बढ्दै जाने वरिष्ठ मानसिक रोग बिशेषज्ञ डा. पुष्प प्रसाद शर्मा बताउछन् ।

दक्षिणपूर्वी एशियामा मात्र ८ करोड ६ लाख मानिस डिप्रेसनमा

दक्षिणपुर्वी एशियामा मात्र ८ करोड ६ लाख मानिस डिप्रेसनको घेरामा रहेको तथ्याकं हालै सार्वजनिक गरेको छ ।  बिहिबार नयाँ दिल्लीमा एक कार्यक्रम गर्दै विश्व स्वास्थ्य संगठनले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो उपचारको प्रक्रियामा नआए आत्महत्याको उच्च जोखिममा रहेको विश्व स्वस्थ्य संगठन जनाएको छ  । संगठनले व्यक्ति, समुदाय र राज्यले डिप्रेसन सामान्य मानसिक रोग भएको र यसका विषयमा खुलेर चर्चा गर्दै नवताईएका समस्यासम्म मानिसिक उपचार पुर्याएर महत्वपुर्ण जीवन बचाउन आवश्यक रहेको बताएको छ .
मानिसलाई कुनै पनि उमेरमा यो रोगले आक्रमण गर्न सक्छ जसले सम्बन्ध, काम र सामाजिक परस्पर सम्बन्धमा समस्या आउँछ । विश्व स्वास्थ्य संगठनका दक्षिणपुर्वी एशिया प्रमुख डा. पुनम खेत्रपाल सिंहले बताइन् । डा. सिंहल भनेकी छिन् ‘जुनसुकै समुदायबाट हुर्केको भएपनि डिप्रेसनको उपचार भने संभव छ, त्यसका लागि डिप्रेसनका बिषयमा चर्चा गर्न र यसका लक्षणका बिषयमा चेतना प्रवाह गर्नुे यसलाई कम तथा निको पार्ने उपयुक्त माध्यम हो ।’

डिप्रेसनका बिषयमा खुलेर चर्चा गर्दा र यसका लक्षण र अवस्थाहरुको बारेमा जानकारी भएमा आफुलाई भएको डिप्रेसन कुन तहको हो भनि पत्ता लगाउन सहज हुन्छ । यो कुनै पनि उमेर समुहलाई हुनसक्ने भएपनि बिषेशगरी किशोर अवस्था, युवा अवस्था, गर्भवती महिला र ६० बर्ष नाघेकाहरुमा अत्याधिक हुने उल्लेख गरिएको छ ।

के हो डिप्रेशन ?
डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ । चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रशय पाउदै बिस्तारै केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने जस्ता समस्या बढ्दै गइ कडा प्रकारको डिप्रेसन देखा पर्ने डा. शर्मा बताउँछन् । 
रोगको तीव्रता बढ्दै गएमा डिप्रेशनको चरमसीमा आत्महत्यासम्म पुग्न सक्ने भएकाले समयमै आवश्यक परामर्श तथा उपचार सेवा लिनु जरुरी भएको डा. शर्मा बताउँछन् ।  

जनिराखौ डिप्रेसनका प्रमुख लक्षणहरू

  • उदासीपना लगभग सधैं भइरहनु
  • खुशी महसुस गर्न असमर्थ हुनु
  • इच्छाहरू मरेर जानु
  • नकारात्मक र निराशावादी विचार आउनु
  • मर्न मन लाग्नु
  • ध्यान केन्द्रित गर्न गाह्रो हुनु
  • विर्सने बानी भएको महसुस हुनु
  • जिउ भारी हुनु, गल्नु वा दुख्नु
  • टाउको भारी हुनु, गल्नु वा दुख्नु
  • चिडचिडाहट हुनु
  • निद्रा गडबडी हुनु
  • खाना रुची कम हुदै जानु
Last modified on 2017-06-18 15:47:53

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts