डा. नूतन शर्मामाथि लागेको भ्रूणहत्याको आरोप प्रमाणित, तीन महिनाका लागि निलम्बन
काठमाण्डौ, २४ चैत । लिंग पहिचान गराई गर्भपतन गराउन उद्दत गरेको भन्दै ललितपुरको अल्का अस्पतालमा कार्यरत डा. नूतन शर्मामाथि लागेको आरोप प्रमाणित भएको छ ।
२०७२ साउनमा मेडिकल काउन्सिलले भ्रुण हत्यालाई प्रोत्साहित गरेको उजुरी प्रमाणित भएको भन्दै डा. शर्मालाई तीन महिना चिकित्साकर्म गर्न नपाउने गरी निलम्बन गरेको पत्र दिएको थियो । तर डा. शर्माले आफुमाथि लागेको आरोप झुठो भएको भन्दै तत्कालिन पाटन पुनरावेदन अदालत(हालको उच्च अदालत)मा रिट दिएकी दिइन् ।
त्यसपछि अदालतले काउन्सिलको निर्णय तत्काल कार्यान्वयन नगर्न २०७२ साल साउन ३१ गते अन्तरिम आदेश दिएको थियो । त्यसपछि काममा डा. शर्मा काममा फर्किएपनि अदालतले उनीमाथि लागेको कसुर गत असारमा प्रमाणित गर्दै उनको निवेदनलाई बदर गरिदिएको हो ।
यहिसाल साउनमा अदालतले उनको रिट बदर गरिदिएपनि पूर्णपाठ आएको थिएन । ‘अदालतको पूर्णपाठ आएसँगै उहाँलाई निलम्बनको पत्र पठाएका छौं । अब उहाँले तीन महिनापछि प्रकृया पुर्याएरमात्र चिकित्साकर्म गराउन पाउनुहुनेछ ।’ मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्माले हाम्रो डक्टरसँग भने ।
डा. नूतनले अब निलम्बनमा परेसँगै तीन महिना प्राक्टिस गर्न पाउँदिनन् भने तीन महिनापछि पुन दर्ताप्रकृयामा आएर लाइसेन्स नविकरण गर्नुपर्नेछ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।