सरकारको १ सय ५० बेडको मेची अञ्चल अस्पतालको विजोग, जहाँ मेसूलाई भेट्नै प्राइभेट क्लिनिक जानुपर्छ
झापा, २३ चैत । मंगलबार दिउसो दुई बजेको समयमा झापामा अवस्थित मेची अञ्चल अस्पताल पुग्दा माहोल अस्पतालको जस्तो लाग्दैनथियो । वातावरण शान्त र सुनसान थियो । साह्रो गर्मी पनि नचढिसकेको हुँदा अपरान्हको हावा त्यति गरम थिएन । एकसय ५० शैयाको भव्य अस्पतालभित्र छिर्दा बाटोमा केही बिरामी तीनका निराशजस्ता देखिन आफन्त, एकजना मेडिकल अफिसर, केही नर्सिङ स्टाफ र केही प्रशासनिक कर्मचारीमात्र भेटिए ।
वार्डमा बिरामीको उपचार भैरहेको थियो भने ओपिडी सेवा बन्द भैसकेको थियो । स्वास्थ्य मन्त्रालयले ओपिडी समय विस्तार गरेर ९ देखि ५ बनाउने भनेपनि त्यो रामशाहपथमै सीमित छ । मेची भद्रपुरको अञ्चल अस्पतालमा त्यसको कुनै छनक देखिएको थिएन । ‘यहाँ त बाह्रबजेसम्ममात्र हो । त्यसपछि त बिरामी नै आउँदैनन् । बिरामी जति सबै प्राइभेटमा जान्छन्, डा. साबहरु पनि त्यतै ।’ बन्द भैसकेको टिकट काउन्टर रुंगेर बसेका एकजना कर्मचारी बोले ।
अस्पताल छिरेर धेरैबेरसम्म तलमाथि गर्दा समेत एकजनापनि चिकित्सक नभेटेपछिमात्र प्रशासनिक भवन जाँदै गर्दा एकजना कर्मचारीले भने ‘मेसू ज्यू त बिर्तामोडको आफ्नै क्लिनिकमा हुनुहुन्छ । २ बजेपछि त यहाँ भेटिनुहुन्न ।’ बिरामी सम्झेर बकेका उनले हातको क्यामरा देखिँदासाथ मेसुले कुन क्लिनिकमा काम गर्ने गरेको भन्ने आफुलाई थाहा नभएको भन्दै पाखा लागे ।
दरबन्दीमात्र भरिभराऊ चिकित्सक नै छैनन्
अस्पतालभित्र २ बज्दा नबज्दै एक्सेर, भिडियो एक्सरे, इसिजी, अल्ट्रासाउण्ड जस्तो सबै सामान्य सेवा बन्द भैसकेका थिए । नहोस् पनि कसरी मेची अञ्चल अस्पतालमा स्विकृत दरबन्दी अनुसार २६ जना डाक्टर हुनुपर्ने हो । तर, जम्मा ९ जना डाक्टर उपलब्ध छन् अस्पतालमा । समग्र कर्मचारी र चिकित्सकको कुरा गर्ने हो भने अस्पतालमा १ सय ३ जनाको दरबन्दी हो । जसमध्ये ५८ जनामात्र उपलब्ध छन् । बाँकी ४६ वटा पदमा कर्मचारी रिक्त छन् । केन्द्रसँग पटकपटक माग गर्दापनि चिकित्सक व्यवस्था नभएको प्रशासनका कर्मचारीले बताए । अस्पतालमा अतिआवश्यक एनेस्थेसियाको डाक्टर नहुँदा कुनैपनि मेजर शल्यक्रिया हुनसक्दैन । जसले गर्दा अस्पताल अञ्चलस्तरीय भन्नपनि लाजमर्दो छ ।
मेसूको आफ्नै क्लिनिक, मेचीका डाक्टरलाई बेच्दै प्राइभेट धन्दा
२ बज्दा नबज्दै अञ्चल अस्पतालमा किन सन्नाटा छायो भनेर बुझ्दै जाँदा थाहा भयो, अस्पतालका चिकित्सकलाई सरकारीमा भन्दा निजीतिर बढी प्रेम रहेछ । जुनकुरा अस्पतालको प्रांगण बाहिर लस्करै झुण्ड्याएका प्राइभेट साइनबोर्ड देख्दापनि थाहा हुन्थ्यो । एकजना कर्मचारीले नाम गोप्य राख्न आग्रह गर्दै भने ‘डा. सावको त विर्तामोडमा आफ्नै क्लिनिक छ । एकदम हिट क्लिनिक । उतै जानुभयो की, हुन त उहाँले हेर्ने क्लिनिक यता बाहिर पनि छ । यतै पो हुनुहुन्छ की !’
अस्पतालका मेसू जनरल फिजिसियन डा. पिताम्बर ठाकुर २ बज्दासाथ बिर्तामोड पुग्दा रहेछन् । त्यसो त उनी अस्पतालै बाहिर रहेको क्लिनिकमा पनि काम गर्छन । उनको नाम झुण्ड्याएर अस्पताल बाहिरै बिरामी रोकिन्छन् । त्यस्तै अर्का बालरोग विशेषज्ञ डा. टंकप्रसाद बराकोटीको पनि आफ्नै क्लिनिक छ । त्यो पनि अस्पताल बाहिरै । विचरा उनले त अलियताको ओम साइपाथिभरा अस्पतालपनि धानिदिएका छन् । उनीमात्र होइन ।
अस्पताल बाहिर मेची अस्पतालका डाक्टर भन्ने नाम बिकाएर रेडियोलोजिष्ट जुनकुमार श्रेष्ठ, सञ्जयकुमार गुप्ता, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. दिलीपकुमार साह, सबैको आआफ्नै क्लिनिक छ । अझै अर्का फिजिसियन डा.गोविन्द कंडेलले त अस्पताल गेटकै सामुन्ने आफ्नो क्लिनिक ठड्याएका छन् । मानौं उनकोमा परामर्श लिएरमात्र अञ्चल अस्पतालमा जानुपर्ने झैं ।
1 Comments
-
नेपाल सरकारको नुन खाईसकेपछी जो कोहीले पनी नुनको सोझो हुनै परछ यदी सरकारको नुन नुनीलो नभयर तितोको अनुभूती छ भने ठाउ खाली गरे हुन्छ ।किनकी याहा तमाम डा़ बेरोजगार छन र जन्ताको कर बाट तलब खानेहरू ले जन्तालाई सेवा नदिने यो कहा संम्मको अन्याए हो राज्यले २००% तलब भत्ता दिन्छु भन्दा पनी नमान्ने यो कस्तो नटेरने डा़ देश हो? राज्यले कडाईका साथ लागु गरेरै छोडनु पछ
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।