आइए पास सीता बेघा, जो बरबोटेको सहारा बनेकी छिन्...



Download our app to get more features

इलाम, २१ चैत । पूर्वी नेपालको सुन्दर र समृद्ध जिल्लाका रुपमा बुझिने इलामको सदरमुकाम इलामबजारबाट १५ मिनेटको सवारी यात्रापछि पुगिन्छ, तत्कालिन बरबोटे गाविस । जुन अव नगरपालिका बनिसकेको छ । बरबोटे गाविसमा पुग्दा हाम्रो समुहलाई स्वागत गर्न आइपुगिन् बरबोटेकी स्वास्थ्य स्वयंसेविका सीता बेघा (लिम्बू) ।

उनले हँसिलो मुहारमा हामीलाई न्यानो स्वागत गरिन् । सडकछेउकै घरको दोश्रो तल्लामा लगिन् र दहीले सत्कार गरिन् । त्यसो त नेपाली समाजमा दहीलाई सगुनका रुपमा लिइन्छ । सगुन शुभको संकेत पनि हो । घरको बरण्डामा दही खाइरहँदा छेवैमा उनका ससुरा जीत बहादुर लिम्बू तखातोमा रंग लगाउँदै थिए । उनी हिजोआज आफ्नी बुहारीको शुभसमाचार सुनेरै गदगद् छन् । छोरा कोरिया पुगेपनि गाउँठाउँमा बुहारीले नाम रोशन गरिदिएकोमा लिम्बू बडा हर्षित देखिए ।

यो हर्षचाहीँ बुहारी स्वास्थ्य स्वयंसेविका भएर होइन, स्वास्थ्य बीमा कार्यक्रमको दर्ता सहयोगी भएर मिलेको हो । स्वास्थ्य स्वयंसेविका भएर सामान्यतः यौन, प्रजनन् स्वास्थ्य, प्राथमिक उपचारजस्ता विषयमा सचेतना विस्तार र सहजीकरण गर्नेमात्र नभै सीता असार महिनायता बरबोटे गाविसको स्वास्थ्य  बीमा दर्ता सहयोगी पनि बनेकी छिन् । बीमा दर्ता सहयोगी भन्नाले सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमको बीमा अभिकर्ता भन्ने बुझिन्छ ।

५ जनासम्मको परिवारसँग वार्षिक २ हजार ५ सय प्रिमियम लिएर ५० हजारसम्मको उपचार सेवादिने गरी वर्षदिनअघि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम इलाम जिल्लामा पाइलटिङकै रुपमा सुरु भएको थियो । इलामका विभिन्न गाविसमा सीताजस्तै थुप्रै अभिकर्ताले सर्वसाधारणलाई बीमा कार्यक्रमको बारेमा जानकारी गराउँदै सदस्य बनाइरहेका छन् । त्यसैमध्ये की एक हुन् सीता पनि । स्वयंसेविका भएर निस्वार्थ गाउँछिमेकीको सहयोगमा क्रियाशिल सीता बीमा दर्ता सहयोगी भएपछि झनै सक्रिय भएकी छिन् । उनी हिजोआज अलि फुर्सद हुनासाथ बीमा गराउनुको आवश्यक्ता र औचित्यका बारेमा बुझाउन गाउँतिर दोडिहाल्छिन् ।

‘प्रजनन् स्वास्थ्यको बारेमा गर्भवति महिलालाई बुझाउने, अस्थायी साधनहरुको बारेमा जानकारी गराउने काम त पहिलेदेखि नै गरेको हो ।’ हाम्रो डक्टरसँग कुरा गर्दै सीताले भनिन् ‘अहिले बीमा दर्ता सहयोगी पनि हुनपाउँदा मानिसहरुको सेवा गर्न पाएकी छु ।’ सँगै रहेको बालख छोरालाई समात्दै सीता बोलिन्, ‘मैले यहाँका ५ सय जनालाई स्वास्थ्य बीमाको सदस्य बनाएकी छु । १ सय २० घरभन्दा बढीले २ हजार ५ सय तिरेर मबाट स्वास्थ्य बीमा गराएका छन् । जसबाट उनीले गुणस्तरीय स्वास्थ्य उपचार पाएका छन् भने मैले पनि अहिलेसम्म ५ हजारभन्दा बढी कमिसन पाएकी छु । अब अर्को चरणको कमिसन आउने बेला भएको छ ।’ यति भनेर उनी मुस्कुराइन् ।  

सीताले स्वास्थ्य बीमा गराएपछि पल्लोघरकी गंगा सुब्बाले असोजमै गएर बीमा दावी गर्दै ४० हजार पर्ने उपचार सित्तैमा गरेर आइन् । आफ्नै ससुरा जीतबहादुर लिम्बूको पनि पिसाव नहुने समस्या भैरहेको थियो । ससुराले पनि बीमा दावी गरेरै उपचार गराएका छन् । उनीहरु दुवैजनाले जिल्ला अस्पताल इलाममा उपचार नभएपछि झापाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा गएर निशुल्क उपचार गराएर फर्किएका हुन् । सीताबाटै बीमा गराएका २०–२५ घरले बीमा दावी गरेर उपचार सेवा लिइसकेका छन् ।  


तखातामा रंग लगाइरहेका जीतबहादुरले बुहारीप्रति पूर्ण कृतज्ञता व्यक्त गर्दै भने ‘बीमा नभएको भए त ५० हजारभन्द माथि पैसा लाग्ने रहेछ । धन्न बीमा गराइयो र निशुल्क उपचार भयो ।’ 
जीतबहादुरले स्थानीय एकजनाको नेताको नामै किटेर असन्तुष्टिपनि व्यक्त गरे ‘नेता भन्छ आफुलाई हाम्री बुहारीले बीमा गर्न १० पटक भन्दा टेरेन , अस्ती बुहारीको सुत्केरी गराउन ९० हजार लागेछ । बीमा गराएको भए त सित्तैमा हुनेथियो नि !’

सीताले इलामको बरबोटेमा बसेर यस्तैगरी गाउँसमाजको सेवा गरिरहेकी छिन् । आइए पास सीतालाई स्कूल पढाउने र जागिर खाने प्रस्तावहरुपनि आए । कोरिया पुगेका श्रीमानले व्यापार गरेर बस्नपनि सुझाव दिए । तरको उनको मन मानेन् । मानोस् पनि कसरी मानवसेवाको लत जो बसको छ । 

‘आफ्नो सेवा त जसले पनि गर्छ नी समाजको सेवा गर्दा र आफ्नो सेवाबाट खुशी भएकाहरु देखेर प्राप्त हुने खुशी अन्त कसैगरी पाइँदैन ।’ छुट्टिँदै गर्दा सीताले भनिन् । उनको समाजप्रतिको बफादारिता साँच्चै सराहानीय छ । 
 

Last modified on 2017-06-18 16:35:04

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts