अटिजमबारे जान्नु आवश्यक



Download our app to get more features

काठमाडौँ– आफ्ना बालबालिकाको शारिरीक र मानसिक विकास राम्ररी नभएको तथ्य धेरै अभिभावकले समयमै बुझ्न नसक्दा अटिजम रोगपीडितले भने जस्तो स्याहार पाउन सकेका छैनन् । 

साधारण बच्चाभन्दा अटिजम भएका बालबालिकालाई अलि फरक तरिकाले व्यवहार गर्नुपर्ने भए पनि यो रोगबारे धेरै अभिभावक अनभिज्ञ हुँदा उनीहरुलाई उपचार वा अन्य थेरापीमा ल्याउन सकेका छैनन् । 

बच्चामा बुझ्न, सीप सिक्न र प्रयोग गर्न कठिनाइ र दोहो¥याएर गर्ने व्यावहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नभएमा उनीहरुलाई अटिजम भएको हुनसक्छ । 

अटिजम भएका बच्चाका अभिभावकद्वारा स्थापित अटिजम केयर नेपाल समाजका अध्यक्ष डा सुनिता मलेकु अमात्य अटिजम विकासात्मक अपाङ्गता भएको र यसको कुनै मेडिकल उपचार नभएकाले विशेष थेरापी नै उपचार विधि भएको बताउँछिन् । 

अटिजम मानसिक र बौद्धिक अपाङ्गता नभए पनि ४० प्रतिशत अटिजम भएका व्यक्तिमा बौद्धिक कमजोरी भने देखिएको उनको भनाइ छ । 

तर उनीहरुलाई दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यकता भएको चिकित्सकको सुझाव छ । 

डा अमात्य भन्नुहुन्छ – “अटिजम रोगीहरु सामाजिक रुपमा सामान्य जीवन बिताउन सक्दैनन् । उनीहरुलाई विशेषखालको स्याहार र व्यवहारको खाँचो पर्दछ ।” 

अजिटम केयर नेपाल समाज यस्तै समस्या भएका बालबालिकाका अभिभावकद्वारा सञ्चालित एक क्रियाशील संस्था हो । यसले नेपालमा अटिजम भएका व्यक्ति र उनका अभिभावकलाई यसबारेका तालिम, थेरापीबारे ज्ञान र जानकारी प्रदान गर्दै आएको छ । 

स्वास्थ्यमन्त्री गगनकुमार थापाले अटिजम जस्तै अन्य मनोसामाजिक समस्या भएका बिरामी अझै पनि पहिचान भई उपचारमा आउन नसक्नुमा सरकारको ध्यान नपुग्नु कारण भएको बताए । 

उनले अटिजमबाट प्रभावित भएको व्यक्तिहरुको सर्वे गरी कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरे । 

संस्थामा महिनामा ६० देखि ८० जनासम्म बालिबालिका थेरापीका लागि आउने गरेको अध्यक्ष डा अमात्यले बताए । 

हालसम्म अटिजम रोकथामका लागि कुनै ठोस विधि पत्ता लागेको छैन । अटिजमको कुनै निदान नभए पनि सही थेरापीद्वारा उनीहरुको अवस्थामा धेरै सुधार ल्याउन सकिन्छ । 

सेन्टर फर डिजिज कन्ट्रोलको तथ्याङ्कअनुसार विश्वमा जन्मिने हरेक ६८ जनामध्ये एकजना अटिजमबाट ग्रसित हुन्छन् । अटिजमको कुनै आधिकारिक तथ्याङ्क नभए पनि नेपालमा सबै उमेर समूहका गरी तीन लाख अटिजम भएका व्यक्ति हुनसक्ने अध्यक्ष डा अमात्य अनुमान गर्छिन्। 
यसै वषैदेखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा राष्ट्रिय मानसिक स्वास्थ्य सर्भेक्षण गर्दैछ । यो सर्भेक्षणमा अटिजम पनि समेटिने छ । 

संयुक्त राष्ट्र सङ्घले सन् २००८ अप्रिल २ तारिखलाई ‘विश्व अटिजम जनचेतना दिवस’का रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै संस्थाले सचेतना दिवस मनाउने गरेको छ । रासस 

 

Last modified on 2017-06-18 16:54:52

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts