होमियोप्याथिक चिकित्सा विकास बिस्तार केन्द्रीय संघर्ष समितिको आन्दोलन गर्ने चेतावनी
काठमाण्डौं, १९ चैत । होमियोप्याथिक चिकित्सा विकास बिस्तार केन्द्रीय संघर्ष समितिले होमियोप्याथि चिकित्सालाई सरकारले व्यवास्ता गरेको भन्दै सरकार सामु ९ बुँदे माग राखेको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर चिकित्सा विज्ञानमा संसारकै दोस्रो र बैकल्पिक चिकित्सामा संसारकै पहिलो मानिने होमियोप्याथिक चिकित्सालाई सरकारले व्यवास्ता गरेको भन्दै बिरोध जनाएका छन् ।
समितिले पशुपति होमियोप्याथिक चिकित्सालयको स्वामित्वको जग्गा र भवनलाई उच्च अदालत पाटनले लिने प्रक्रियालाई रोकेर तत्काल पशुपति होमियोप्याथिक चिकित्सालयलाई केन्द्रीय शिक्षण अस्पतालको रुपमा विकास गर्नको लागि माग राखेको छ ।
संयूक्त केन्द्रिय संघर्ष समितिका संयोगक डा. खगेन्द्र कटुवालले सरकारी स्तरमा रहेको एक मात्र पशुपति होमियोप्याथिक चिकित्सालाई आज आएर सरकारले अस्तित्व विहिन बनाउन लागेको भन्दै आक्रोस पोखे । उनले भने ‘होमियोप्याथि चिकित्सालाई सरकारले विकास र वृद्धि गर्नुपर्नेमा सरकारी स्तरको एउटा मात्र चिकित्सालयको पनि अस्तित्वनै समाप्त पार्ने खालको काम हुनु दुःखको कुरा हो ।’
अनौपचारिक अनियमि शिक्षाबाट होमियोप्याथिक चिकित्सा आफ्नो सम्पूर्ण जीवन सर्मपर्ण गर्ने अग्रजहरूको लागि वैधानिक व्यवस्था गर्नुपर्ने, नेपाल सरकारबाट हाल बन्न लागेको आयूर्वेद तथा पुरक चिकित्सा नीतिको परिमार्जन गरी आयूर्वेद, होमियोप्याथिक तथा पुरक चिकित्सा राखी प्रत्येक स्थानिय तहमा अनिवार्य होमियोप्याथिक चिकित्सालयको स्थापना गर्नुपर्ने राष्ट्रिय होमियोप्याथिक चिकित्सा विकास बोर्डको गठन गर्नुपर्ने, होमियोप्याथिक औषधिको उत्पादन नेपालमा नहुने हुदा औषधि आयातमा सरल र सहज व्यवस्था हुनुपर्ने लगायतका माग रहेको समितिका संयोगक डा. कटुवालले बताए ।
समितिका संयोजक डा. कटुवालले आफ्ना मागहरू सरकारले तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । नेपालमा करीब दुई सय होमियोप्याथिक चिकित्सक र पाच सयको हाराहारीमा अन्य विज्ञहरु रहेका छन् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>