अटिजम भएकाहरुको उपचारमा मन्त्रालयले साझेदारी गर्छः स्वास्थ्यमन्त्री थापा
काठमाण्डौं, १८ चैत । ‘स्वायत्तता र आत्मनिर्भरता तर्फ’ भन्ने नाराका साथ अप्रिल २ मा विश्व अटिजम दिवस मनाइदै छ ।
विश्व अटिजम दिवसमा अटिजम केयर नेपालले पनि विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ । शुक्रवार स्वास्थ्य अनुसन्धान परिषद रामशाहपथमा आयोजित अन्तक्रियामा दिवसमा गरिने कार्यक्रमहरुका बारेमा अटिजम केयर नेपालले जनाएको छ । यो दिवस युएन ले सन् २००८ अप्रिल २ देखि मनाउन थालेको हो ।
अन्तक्रिया कार्यक्रमा स्वास्थ्यमन्त्री गगन थापाले अटिजम केयरमा नेपाल सरकारको उपस्थित नरहेको बताउदै अव सरकार मौन बस्न नसक्ने बताएका छन् । उनले भने ‘तत्कालका लागि कुष्टरोग निवारण महाशाखाको साथसाथै अपाङ्गता भएका बालबालिकालाई पनि हेर्ने गरी अगाडी बढाइएको छ । अव अटिजमबाट प्रभावित परिवारले हिजको जस्तो सरकारले व्यवास्ता गरेर बस्ने अवस्था नरहने भन्दै मन्त्री थापाले यसको जिम्मेवारी सरकारले लिएर साझेदारी गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।
अटिजम एउटा जन्मजात हुने विशेष खालको अपाङ्गता हो । यो कुनै रोग नभई एक प्रकारको विकासात्मक अपाङ्गता भएको अटिजम केयर नेपालकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यले बताइन् । उनले भनिन् ‘आमाको गर्भमा शिशुको विकासका एक प्रकारको जिनले विकार गरी जन्मेको केही समयपछि असमान व्यवहार देखाउने गर्छन् ।’ यस्ता बालकालिकामा बुझ्न र प्रतिक्रियात्यक गर्न नसक्ने समस्या हुन्छ । उनिहरुलाई कुनै पनि कुरा बुझाउनका लागि चित्रको समेत आवश्यक गर्ने डा. अमात्यले बताइन् ।
अटिजम भएका बालबालिका सामान्यतया एक्लै बस्ने, आँखामा आँखा नजुधाउने, केटाकेटीसँग नखेल्ने वा घरलमिल नहुने, बोलाउँदा नबोल्ने तथा कहिलेकाहीँ नसुने जस्तो गर्ने, असान्दर्भिक तरिकाले हाँस्ने जस्ता लक्षण देखा पर्छ ।
विश्व स्वास्थ्य संगठनले अटिजमलाई ‘विश्व जनस्वास्थ्य संकट’ का रुपमा घोषणा गरेको छ । विश्वमा ६८ जना बालबालिकामा एक जनामा अटिजम हुने सेन्टर फर डिजिज कन्ट्रोल अमेरिकाको तथ्याङ्ग रहेको छ । यसैलाई आधार मान्ने हो भने नेपालमा करिब तीन लाख बालबालिकामा अटिजम भएको अनुमान रहेको अध्यक्ष डा. अमात्यले जानकारी दिइन् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>