रक्तदानका अभियन्ता स्व. महेन्द्र विलासलाई यसरी सम्झना गरियो 



Download our app to get more features


काठमाण्डौ, “रक्तदान जीवनदान”लाई सार्थकरुपमा चरितार्थ गर्न रगत नपाएर छट्पटाइरहेका विरामीहरूलाई सहजरुपमा रगत उपलव्ध गराउने कार्यमा विगत तीन दशक भन्दा अघिदेखि रक्तदान अभियानमा लागिपरेका अभियन्ता स्व. महेन्द्र विलास जोशीको १३ औं दिनको पुण्यतिथिमा काठमाण्डौंमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले श्रन्द्धान्जली सभा सम्पन्न गरेको छ ।

 सभामा ब्लोदानका केन्द्रीय उपाध्यक्ष सह–प्राध्यापक रजनी श्रेष्ठले जोशीको असामयिक निधनले रक्तदानकै क्षेत्रमा अपुरणीय क्षति पुगेको चर्चा गर्दै राष्ट्रिय रक्तदाता दिवस उहाँकै अगुवाइमा दुईपल्ट सम्पन्न भईसकेको र यस कार्यलाई निरन्तर जारी गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले अन्तिम घडिसम्म पनि रगत नपाई छट्पटाइरहेका बिरामीलाई कसरी सहजरुपमा रगत उपलव्ध गराउने भन्ने मात्रै चिन्ता व्यक्त गरिरहने स्व. जोशी सबैका लागि प्रेरणादायक व्यक्तित्व भएको बताउनु भयो । 

उक्त शोकसभा स्व. महेन्द्र विलास जोशीको तस्विरमा माल्यार्पण तथा पुष्प गुच्छा अर्पणका साथै एकमिनेट मौनधारणबाट सुरु गरिएको थियो । ब्लोदान काठमाण्डौ जिल्ला समितिका सदस्य भिक्षु पियदस्सीद्वारा दिवंगत आत्माको चीरशान्तिको लागि शान्ति पाठ, ब्लोदान केन्द्रीय सदस्य राजुराम मुनंकर्मीद्वारा स्व. जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै कोरिएको कविता पाठ र पशुपति मारवाडी सेवा समितिको शोक सन्देश वाचन गरिएको थियो ।

शोकसभालाई सञ्चालन गर्दै ब्लोदानका केन्द्रीय महासचिवसानु बाबु प्रजापतिले “रक्तदान अभियानलाई आजको अवस्थासम्म ल्याउन जीवनपर्यन्त लागी अहम् भूमिका निभाउनु भएका स्व. जोशीको महत्वपूर्ण योगदान रहेको बताए भने ब्लोदानका केन्द्रीय उपाध्यक्ष रमेशध्वज बस्नेतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अग्रज रक्तदाता स्व. महेन्द्र विलास जोशी स्वयंसेवी रक्तदान क्षेत्रका कुशल उत्प्रेरक तथा संगठक रहेको चर्चा गरे । सोहि श्रद्धान्जली सभामा शोक मन्तव्य व्यक्त गर्दै विश्व स्वास्थ्य संघका डा. प्रकाश घिमिरेले स्व. जोशीको योगदानको चर्चा गर्दै “बिरामीहरूको लागि आवश्यक पर्ने स्वस्थ तथा सुरक्षित रगत उपलब्ध गराउन रक्तदान अभियानलाई सबै मिलेर अगाडि बढाउनु नै उहाँप्रति सच्चा श्रन्द्धान्जली हुने” धारणा राखे । त्यस्तै ब्लोदानका संरक्षक एवं नेपालका वरिष्ठ कलाकार हरिवंश आचार्यले स्व. जोशीको सम्झना गर्दै “पीडाको क्षणमा अभिव्यक्त गर्न गाह्रो हुने बताउनुहुँदै महेन्द्र विलास जोशी स्वर्गीय नभई अमर ब्यक्तित्व रहेको धारणा राखे । 

शोक मन्तव्यकै क्रममा ब्लोदानका वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठले युवा देखि सबै तह र तप्काका व्यक्तित्व र सरकारी स्तरसम्म पनि राम्रो सम्वन्ध राख्ने क्षमता भएका जोशीको कार्यशैलीलाई सबैले मनन गर्नुपर्ने बताए । त्यस्तै शोक मन्तव्य राख्नुहुँदै नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक राजकुमार महतो र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले कुशल नेतृत्वका धनी स्व. जोशी समाजसेवी, मृदुभाषी र हँसमुख स्वभावका व्यक्तित्व रहेको बताए । सोहि सभामा परिवारजनको तर्फबाट स्व. महेन्द्र विलास जोशीका कान्छी सुपुत्री रिया जोशीले आफ्नो बुबाको सपना पूरा गर्न सदैव यस क्षेत्रमा लागिरहने प्रण गर्दै स्वस्थ रगत सुलभरुपमा पाउनुपर्ने अभियानलाई सफल पार्न सबैले एक ढिक्का भई लागिपर्नु पर्ने आवश्यकता औंल्याए ।

Last modified on 2017-06-18 17:20:41

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts