बैतडीमा एकसय ५५ जना क्षयरोगी भेट्टिए



Download our app to get more features

बैतडी, १८ चैत । चालु आवको साउनदेखि हालसम्म बैतडीमा एकसय ५५ क्षयरोगीका बिरामी भेट्टिएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाइजर देव जोशीका अनुसार एकसय १४ पुरुष र ४१ महिला क्षयरोगी भेट्टिएका हुन् जसमा एकसय नौ फोक्सोको क्षयरोगी (सर्ने क्षयरोगी) र ४६ फोक्सो बाहिरको (नसर्ने क्षयरोगी) रहेका छन् । 

गत वर्ष बैतडीमा दुईसय सात क्षयरोगी फेला परेका थिए जसमध्ये महिला ५५ र पुरुष एकसय ५२ रहेका थिए । ती मध्ये ६० प्रतिशत फोक्सोको सर्ने खालका बिरामी रहेको क्षयकुष्ठ सुपरभाइजर जोशीले भने ‘गतवर्ष फेला परेका क्षयरोगी बिरामीमध्ये ८९ प्रतिशतलाई निको भइसकेका छन् ।’ 

पन्ध्र देखि ३४ बर्ष उमेरसम्मका व्यक्ति क्षयरोगी बढी भेट्टिएको उनले बताए । बैतडीका ६८ ठाउँमा क्षयरोगीका उपचारका लागि डट्स केन्द्र र आठवटा ठाउँमा क्षयरोग निदानका लागि प्रयोगशाला सञ्चालनमा रहेका छन् । साथै समुदायमा लुकेर रहेका क्षयरोगी पत्ता लगाउन बैतडीका ६८ वटै डट्स केन्द्रबाट खकार जाँचका लागि कुरियर सेवा पनि सुरु भएको छ । 

नेपाल सरकारले क्षयरोग लागेका बिरामीको प्रत्येक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । तर सबै क्षयरोगी अझै बाहिर खुलेर आउन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । 

बैतडीको हकमा धेरैजसोले सीमावर्ती भारतको पिथौरागढमा गएर औषधि गर्ने तर औषधिको पूरा मात्रा नखाने हुनाले जीर्ण क्षयरोगको समस्या बल्झिदै गएको छ । 

लगातार दुई हप्तासम्म खोकी लागिरहनु, साँझपख हल्का ज्वरो आउनु, तौल घट्दै जानु, खान मन नलाग्नुजस्ता लक्षण देखापरेमा क्षयरोग हुन सक्ने भएकाले स्वास्थ्यसंस्थामा चेकजाँच गराउन पनि जोशीले आग्रह गरे । क्षयरोग सामान्य रोग भएपनि यसको उपचारमा ढिलाइ ग¥यो भने यसले मानिसको ज्यानसमेत जाने हुन्छ । रासस 
 

Last modified on 2017-06-18 17:24:23

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts