सरकारलाई निशुल्क औषधि किन्न सकस, औषधिको बजेट रकमान्तर गरेर शहरी स्वास्थ्य केन्द्रलाई
काठमाण्डौ, १७ चैत । ६ महिनादेखि संघर्ष गर्दा पनि स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकलाई निशुल्क वितरण गरिने ७० वटा औषधि यो वर्षका लागि खरिद गर्न सकेको छैन । तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले महत्वकांक्षी योजनाभन्दै ४५ वटा औषधिको संख्या बढाएर ७० थरी पुर्याएका थिए ।
तर, औषधिको संख्या बढे पनि अझै आमनागरिकले भने सबै औषधि निशुल्क रुपमा स्थानीय स्वास्थ्य संस्थाबाट पाउन सकेका छैनन् । ७० थरी औषधिमध्ये १६ वटा औषधि मौज्दात रहेको भन्दै ५४ वटा औषधि खरिदकालागि असोज महिनामा बोलपत्र आह्वान गरेको थियो । तर सरकारी माग अनुरुप आवदेन नै परेन । ४६ वटा औषधि आपूर्तिका लागि मात्र ठेक्का प्रकृया भयो । त्यसमध्ये पनि ३५ वटा औषधिसँग मात्र खरिद सम्झौता भएको स्वास्थ्य मन्त्रालयको प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखाका प्रमुख डा. मोहम्मद दाउदले हाम्रो डक्टरलाई जानकारी दिए ।
बोलपत्र नपरेका औषधि र बाँकी केही थप गरेर महाशाखाले पुनः १९ वटा औषधिका लागि बोलपत्र आह्वान गर्यो । त्यसमा पनि ९ वटा औषधिका लागि मात्र बोलपत्र पर्यो । यसको अन्तिम टुंगो अझै लागिसकेको छैन । यसरी हेर्दा स्वास्थ्य मन्त्रालयले निःशुल्क बाँड्ने मध्ये अहिले खरिद हुन आँटेको ९ थरी जोडियो भनेपनि ४४ वटा औषधिमात्र हुन्छ । २६ वटा औषधि अझै अपुग हुन्छ ।
मन्त्रालयले सबै औषधि केन्द्रमा खरिद हुन नसकेपछि जिल्लाहरुलाई बजेट पठाएर आफै औषधि खरिद गर्न अधिकार दिएको छ । तर जिल्लाले पनि सबै औषधि किन्न सकेको छैन् ।
कति छ बजेट ?
स्वास्थ्य मन्त्रालयमा निशुल्क औषधि खरिदकालागि मोटो रकम बजेट छुट्याइएको छ । यो शीर्षकका लागि मात्र १ अरब ५० करोड बजेट विनियोजन गरिएको छ । यसमध्ये ५२ करोड पैसा जिल्लामा पठाइएको छ । बाँकी रहेको ९८ करोडबाटै ३५ थरी औषधि किनिएको हो । बाँकी नौ थरी औषधि खरिद गर्ने कार्यक्रम छ । र अझै किन्न नसकिएको औषधिलाई पुनःखरिद प्रकृया थाल्ने मन्त्रालयको तयारी छ ।
कति बजेट रकमान्तर भयो ?
स्वास्थ्य मन्त्री गगन थापाले सुरु गरेको शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रकालागि १३ करोड रकम निशुल्क औषधि खरिदको बजेट हो । काठमाण्डौका विभिन्न ८ ठाउँमा खोल्ने भनिएको शहरी स्वास्थ्य क्लिनिककालागि उक्त बजेट रकमान्तर गरिएको हो । मन्त्रालयमा निशुल्क औषधिको बजेट रकमान्तर गर्दा अर्को आवमा निशुल्क औषधिकालागि बजेट न्यूनीकरण हुने भन्ने असहमति आएपनि यस वर्षको बजेट औषधि किन्न नसक्दा फ्रिज हुनेभएपछि पैसा रकमान्तर गरिएको महाशाखाका निर्देशक दाउदले बताए ।
औषधि अभाव हुने संकेत
सरकारले आमनागरिकलाई निशुल्क रुपमा ७० थरी औषधि व्यवस्था गरेको सन्देश छ । तर, ७० प्रकारमा परेका सबै औषधिमा नाफा नहुने देखेपछि उत्पादक एवं वितरकले टेण्डरनै हाल्दैनन् । यसैको परिणाम स्वरुप यो वर्ष पनि जम्माजम्मी ४५ थरी औषधिमात्र खरिद हुने देखिन्छ । यसले गर्दा बाँकी औषधि अभाव हुने निश्चित छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>