महिनावारी सुक्ने उमेर र थाहा पाइराख्नुपर्ने केही कुराहरु ?



Download our app to get more features

जोनोवृति अर्थात महिनावारी सुक्नु महिलाको शरीरमा आउने सामान्य परिवर्तन हो । सामान्यतया महिलाहरुको अण्डाशयवाट डिम्वहरु उत्पादन हुन्छन् । ति डिम्व र अण्डाशयवाट एस्ट्रोजिन र प्रवजेस्टेरोन नाम गरेका हर्मोनहरु निस्कन्छन् । यी हर्मोनहरुको प्रभावले पाठेघरको भित्रीतहमा हुने परिवर्तहरुको फलस्वरुप महिनावारी वा रजस्वला हुन्छ ।

उमेर बढ्दै जाँदा अण्डाशयमा डिम्बहरुको संख्या घट्दै जान्छ र रित्तिन्छ । चालिस वर्षभन्दा बढी उमेरका महिलाहरुमा यी डिम्वहरुको संख्या साह्रै न्यून हुन्छ । बिस्तारै डिम्वहरु सकिन्छ र अण्डाशयवाट अण्ड निस्कनबन्द हुन्छ । जसको फलस्वरुप रजनोबृति हुन्छ । अण्डाशयवाट डिम्वहरु रित्तिने क्रममा शुरुमा महिलाको महिनाबारी अनियमित हुन्छ र बिस्तारै सुकेर जान्छ ।

नेपाली महिलाहरुको महिनावारी सुक्ने औषत उमेर ४७ वर्ष हो । महिनावारी सुक्ने उमेर जीवनस्तरमा सुधार ल्याउँदा बढ्दै जान्छ अर्थात् विकसित मुलुकहरुमा र राम्रो जीवनस्तर भएका महिलाहरुको महिनावारी ढिला सुक्ने गर्दछ ।

बहुसंख्यक महिलामा अनियमित महिनावारी लगायतका विभिन्न लक्षण महिनावरी सुक्नु भन्दा तीनदेखी पाँच वर्ष पहिले देखिनै शुरु हुन्छ । केहि महिलामा यी लक्षणहरु १० वर्ष पहिले नै पनि देखिन सक्छ । यो समय महिलाहरुको बच्चा पाउने उमेरवाट प्राकृतिक तरिकाले गर्भधारण गर्न नसक्ने उमेरमा प्रवेश गर्ने बेला हो । त्यसैले यो उमेरलाई महिला जीवनको संक्रमणकाल पनि भन्न सकिन्छ ।

यो समयमा महिलालाई शरीरमा शक्ति नभए जस्तो हुने, थकाई लाग्ने जस्ता सामान्य समस्याहरुदेखी जिऊ तात्ने, पोल्ने, औडाहा हुने, चिसो पसिना आउने, राति निन्द्रा नपर्ने, अरु मानिस बोल्दा झिँझो लाग्ने, चिडचिडापन हुने तथा डिप्रेसन जस्ता समस्याहरु समेत देखा पर्न सक्छ ।

यी समस्याहरुको समाधानका लागि कतिपय महिलाहरु बिभिन्न विशेषज्ञ चिकित्सकसँग परामर्श लिने सँगै धामि झाँक्री कहाँ समेत धाएको पाइन्छ । हार्मोनको कमी हुने भएकाले रजोनोबृतिले शरीरको सबै अङ्गलाई असर गरेको हुन्छ । त्यसकारण माथी चर्चा गरिएका समस्याहरु बाहेक हाड तथा जोर्नी खिईने र भाँचिने समस्या पनि प्रमुख हो ।

पैँतीस वर्षको उमेरसम्म महिला तथा पुरुषहरुको हाडको पदार्थहरु बन्ने र खिइने प्रकृया एकनास नै हुन्छ । पैँतीस वर्ष नाघेपछि शरीरमा एस्ट्रोजिन हर्मोनको कमिले गर्दा महिलाहरुमा हड्डी खिइने प्रकृया तुलनात्मक रुपमा छिटो हुन्छ । त्यसकारण महिनावारी सुकेका महिलाहरुमा हाडजोर्नी खिइने समस्या बढी हुन्छ । खासगरी ढाड दुख्ने, जोर्नीहरु दुख्ने मेरुदण्डको हाड खिइएर नसा च्यापिने समस्याका कारण हातगोडा झमझमाउने लगायतका समस्याहरु पनि देखिन सक्छ ।

रजोनोबृत्ति भएपछि महिलाको प्रजनन तथा मुत्र प्रणालीमा यि समस्याहरु हुन सक्छन् ।

–    हार्मोनहरुको कमिले महिनावारी त सुक्दछ नै त्यस बाहेक योनी सुख्खा हुन्छ, योनीको बाहिर चिलाउने र पोल्ने समस्या हुनसक्छ ।
–    यौन इच्छा कम हुन्छ ।
–   योनी सुख्खा हुने भएकाले यौन सम्पर्क गर्दा पनि दुखाई हुन्छ ।

एस्ट्रोजिन हर्मोनले शरीरका तन्तुहरु तन्काउन मद्दत गर्दछ । यो हर्मोनको कमी भएपछि पाठेघर तथा पिसाव थैली आफ्नो स्थानमा अड्काइ राख्ने तन्तुहरु पनि खुकुलो तथा कमजोर भएर जान्छन् जसले गर्दा पिसाव थैली र पाठेघर आफ्नो ठाँउबाट तल खस्ने सम्भावना बढी हुन्छ । पिसाव थैली आफ्नो ठाँउबाट खस्केपछि हाँस्दा, खोक्दा, हाच्छीँउ गर्दा तथा सामान उचाल्दा पिसाव झर्ने, पिसाव रोक्न नसकिने, राति धेरै पटक पिसाव फेर्न उठ्नु पर्ने, पटक पटक पिसाव थैलीमा संक्रमण भइराख्ने हुनसक्छ । कसै–कसैमा पिसाव रोकिने समस्या पनि हुनसक्छ । यसरी पिसाव झर्ने र चुहिने समस्याले कैयौं महिला सामाजिक जमघटमा समेत जान चाहँदैनन् ।

एस्ट्रोजिन हर्मोनको कमीले महिलामा मुटुको समस्या देखिने, बिर्सने समस्या हुने तथा छाला सुख्खा हुने जस्ता समस्या पनि निम्त्याउँछ ।

समाधान
महिनावारी सुक्नु तथा माथि उल्लेखित लक्षणहरु देखिनु कुनै रोग होइन र देवताको श्राप पनि होइन भन्ने कुरा सबैले बुझ्नु पर्दछ । यी समस्याहरुका धेरै समाधान छन् ।

जिउ तात्ने, चिसो पसिना आउने तथा निन्द्रा नपर्ने समस्याले यो उमेरका महिलालाई सबैभन्दा दुख दिएको पाइन्छ । बहुसंख्यक महिलामा जीवनशैली परिवर्तन गरेर पनि धेरै समस्याहरुको समाधान गर्न सकिन्छ । केहीलाई सामान्य उपचारको आवश्यकता पर्दछ भने केहीलाई हार्मोनहरु दिएर नै उपचार गर्नुपर्ने हुन्छ ।

जीवनशैलीमा निम्न परिवर्तनहरुले गर्दा जिउतात्ने, चिसो पसिना आउने तथा निन्द्रा नपर्ने समस्या कम हुन्छ ।

–    जिउ तात्दा काम गर्ने ठाँउमा तथा शयन कक्षमा पंखाको प्रयोग गर्ने ।
–   चिसो पानीले नुहाउने ।
–    पातलो र तह भएको लुगा लगाउने ।
–    खाली नबसी केहि न केहि काममा ब्यस्त भइरहने ।
–    योग तथा व्यायाम गर्ने ।
–    तौल बढी भएका महिलाले तौल घटाउने ।
–   धुम्रपान तथा मद्यपान छोड्ने ।
–    खानामा मसालाहरुको प्रयोग सकेसम्म कम गर्ने ।
–   खानेकुरामा भटमास, तोफु, गेडागुडी, सागपात तथा फलफुल र दुधको मात्रा बढाउने ।

यि सबै उपायहरु अपनाउदा पनि फाइदा नभएमा चिकित्सकको परामर्श आवश्यक पर्दछ ।

यस किसिमका सबै समस्याहरु हार्मोनको प्रयोगबाट सजिलै समाधान गर्न सकिन्छ तर हर्मोनको प्रयोग पनि सबै महिलामा सुरक्षित हुँदैन । उदाहरणका लागि निम्न अवस्थाहरुमा हार्मोन प्रयोग गर्न सुरक्षित हुँदैन ।

– पहिले शरीरका रक्तनलीहरुमा रगत जम्ने समस्या भएका महिलाहरुमा ।
– नजिकका आफन्त आमा तथा आमाको दिदी बहिनीहरुको स्तन तथा पाठेघरको क्यान्सर भएका महिलामा ।
–    कलेजोको रोग भएका महिलामा ।
–    पहिलेदेखी मुटुको रोग भएका महिलामा ।
–    उच्च रक्तचाप भएका महिलामा ।
–    धुमपान गर्ने महिलामा ।
–   पाठेघर बाँकी छ र पुनः परीक्षणकालागि आउन सक्दैनन भने ।
–   हार्मोन प्रयोग गर्दा महिनाबारी फेरी हुने भएकाले महिनावारी हुन नचाहने महिलालाई ।

हार्मोन प्रयोग गर्दा महिलाले ध्यान पुर्याउनु पर्ने अत्यावश्यक कुराहरुः

–   समय समयमा स्वास्थ्य परश्रक्षण गराउनु अनिवार्य हुन्छ ।
–   आफ्नो स्तन स्वयं परीक्षण गर्ने आवश्यक परे चिकित्सकको सहयोग लिनु पर्दछ ।
–  स्तनमा गाँठा भेटिएमा तुरुन्त औषधि बन्द गरी चिकित्सक कहाँ जँचाउन जानुपर्छ ।
–    सुविधा भए मेमोग्राम अथवा अल्ट्रासाउन्ड गराउने ।
–  समय समयमा रक्तचाप नाप्ने रक्तचाप बढी भए औषधि बन्द गरी चिकित्सकको सल्लाह लिने ।
–  पाठेघरको भित्रीतहको मोटाई हेर्न अल्ट्रासाउन्ड गर्ने ।

त्यसैगरी हाँस्दा, खोक्दा पिसाव झर्ने, योनी सुख्खा हुने तथा पोल्ने महिलाकालागि योनीमा हर्मोनको क्रिम प्रयोग गर्दा फाइदा हुन्छ ।  पिसाव चुहिने समस्याकालागि पिसाव थैलीको व्यायाम गर्नु पर्दछ । यदी पिसाव थैली तथा पाठेघर निकै खसेको छ भने शल्यक्रियाको सम्भावनालाई पनि नकार्न सकिँदैन ।

जिउ तात्ने तथा चिसो पसिना आउने समस्याहरु धेरै महिलामा समय बित्दै जाँदा कम भएर जान्छ तर पिसाव सम्बन्धि तथा हाडजोर्नी सम्वन्धि समस्याहरु कम हुँदैनन बरु  बढेर जान्छन् । हाड जोर्नी खिइएका महिलाहरुको हकमा नियमित योग, व्यायाम तथा फिजियोथेरापी सहयोगी हुन सक्दछन् तर हाडजोर्नी विशेषज्ञको सल्लाह लिनु अति उपयुक्त हुन्छ ।

Last modified on 2017-06-11 17:37:08

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Very important information. Thank you.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts