निर्वाचन आयोगको निर्देशनपछि पाँचवटा जिल्लामा स्वास्थ्य बीमा रोकियो



Download our app to get more features

काठमाण्डौ, १३ चैत । चैत महिनाबाट थप पाँचवटा जिल्लामा सुरु हुनुपर्ने स्वास्थ्य बीमा कार्यक्रम स्थगन गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । 

पूर्वयोजना अनुरुप चैतदेखि तनहुँ, गोरखा, चितवन, भक्तपुर र झापामा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुनुपर्ने थियो । तर निर्वाचन आयोगले स्वास्थ्य बीमा कार्यक्रमका प्रकृयाहरु आचारसंहिता विपरित हुने भन्दै रोकेको हो । यी जिल्लामा बीमाका पूर्व निर्धारित अन्य कार्यक्रम पनि रोकिएका थिए । स्वास्थ्यकर्मीको जारी आन्दोलनका कारण पछि सरेको प्रकृयालाई निर्वाचन आयोगले पनि रोकेको हो । 

स्वास्थ्य बीमा कार्यक्रम सुचारु गराउन भन्दै स्वास्थ्य मन्त्रालयले आयोगसँग छलफल गर्न टोली नै बनाएको थियो । जसका लागि स्वास्थ्य बीमा कार्यक्रमका प्रमुख डा. गुणराज लोहनी र मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. किरण रेग्मीको टोलीले आयोगसँग छलफल गरेको थियो । छलफलका क्रममा बीमा नरोकिने प्रतिवद्धता व्यक्त गरेतापनि आयोगले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिलाई पत्र लेख्दै तत्काललाई बीमा कार्यक्रम अघि नबढाउन निर्देशन दिएको हो । 

हाम्रो डक्टरसँग कुरा गर्दै समितिका अध्यक्ष डा. गुणराज लोहनीले आयोगले आचारसंहिता विपरित हुने भएकाले कार्यक्रम अघि नबढाउन निर्देशन दिएको तर कसरी आचारसंहिता विपरित हुन्छ भन्ने चाहीँ नखुलाएको बताए । 

पाँच सय कर्मचारी भर्ना आचारसंहिता विपरित !
स्वास्थ्य बीमा कार्यक्रमका लागि तत् तत् जिल्लामा स्थानीय स्वास्थ्य संरचनाको हिसावमा बीमक अर्थात दर्ता सहयोगी नियुक्त गर्नुपर्ने हुन्छ । जसमा भैरहेका स्वास्थ्यकर्मी र नयाँलाई समेत भर्ना गर्न सकिने व्यवस्था छ । चैतबाट सेवा विस्तार गर्ने भनिएको पाँचवटा जिल्लामा एकसय को दरले पाँच सय दर्ता सहयोगी नियुक्त गर्नुपर्छ । निर्वाचन आयोगले चुनावको मुखमा कर्मचारी भर्ती गर्न नपाइने आचारसंहिता जारी गरे अनुरुप स्वास्थ्य बीमक नियुक्ति नहुने भएपछि कार्यक्रम स्थगन गरिएको हुनसक्ने बताइएको छ । 
  

Last modified on 2017-06-19 12:55:23

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts