काँचुली फेर्दे टेकुको सरुवा रोग अस्पताल, यस्तो बन्दैछ सुविधासम्पन्न भवन
काठमाडौं । नेपालको एकमात्र सरुवारोग अस्पतालका रुपमा चिनिने राजधानीको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल सरुवा रोेग अस्पतालको अत्याधुनिक सुविधासम्पन्न भवन बन्ने भएको छ । अस्पतालमा आउने बिरामीको चापअनुसार पर्याप्त ठाँउ नहुँदा बिरामीलाई एकातिर एकै ठाउँमा राखेर उपचार गर्नुपर्ने बाध्यता र अर्कोतिर भवनहरु पुराना अवस्थामा रहेको हुँदा नया सुविधासम्पन्न भवन निमार्ण गर्न लागिएको हो । भवन निर्माणको गुरुयोजना पुरानो भएपनि यसले मूर्तरुप पाउन सकेको थिएन । अस्पतालका यसअघिका निर्देशक केदार सेन्चुरीको पालामा यसको इञ्जिनीयरिङ भएपनि काम भने अघि बढ्न सकेको थिएन । केन्द्रिय सरुवारोग अस्पताल भएपनि भौतिक पूर्वाधारको अभावमा उपेक्षित बनेको टेकु अस्पतालको नयाँ भवन बन्न सकेको खण्डमा इतिहास बोकेको अस्पतालमा कायापलट हुने देखिन्छ ।
कस्तो बन्दैछ भवन ?
सरकारको झण्डै ५६ करोड लगानीमा निमार्ण गरिने गरि योजना बनाइएको ७ तल्ले भवनको गुरुयोजना अस्पताल बोर्डले पास गरेर मन्त्रालय पठाउने अन्तिम तयारीमा रहेको अस्पतालका निर्देशक डा. रमेश खरेलले हाम्रो डाक्टरसँग बताए ।
‘यसअघि ४६ करोड लगानीमा बन्ने गरि गुरुयोजना तयार पारेका थियौं, त्यसको परिमार्जन गरि केही थप सेवा बिस्तार गर्ने गरि ५६ करोडको प्रस्ताव अगाडी सारेका छौ’, निर्देशक खरेलले भने ‘मन्त्री ज्यू र सचिब दुबै सकरात्मक हुनुहुन्छ, मन्त्रालयबाट पास हुनसाथ अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोेगसँग छलफल गरी भवन निर्माण प्रक्रिया अगाडि बढाएर काम सुरु हुनेछ ।’
तत्काललाई ८ करोड मन्त्रालयले दिने
५६ करोडको लगानीमा नँया भवन निमार्ण गर्न लागिएपनि अस्पतालसँग भवन निमाण शीर्षकमा १ करोड ५० लाख रुपैयाँ रहेको छ । नँया भवन निर्माणका लागि सुरुवातमै बजेट अपुग भएपछि अस्पतालले मन्त्रालयसँग बजेट माग गरको छ । जसअनुसार तत्काल मन्त्रालयले ८ करोड उपलब्ध गराउने स्वास्थ्यमन्त्री गगन कुमार थापाले प्रतिवद्धता व्यक्त गरेको अस्पतालका निर्देशक डा. खरेलले जानकारी दिए । अस्पताल निर्माण यसै आर्थिकवर्षमा थालेर नयाँ आवको बजेटमा थप खर्च बन्दोबस्त गर्न पहल गर्ने अस्पतालले जनाएको छ ।
कति शैयाको हुन्छ अस्पताल ?
हाल एक सय शैयाबाट सेवा दिँदै आएको अस्पतालको नँया भवन १ सय ४६ शैयाको बन्ने छ । ८३ वर्षअघि हैजा र झाडापखालाका बिरामी हेर्ने अस्पतालका रूपमा सेवा सुरुवात गरिएको थियो । सरुवा रोगको विशेषज्ञ सेवा दिने मुलुककै एक मात्र केन्द्रीय अस्पतालका रूपमा यो परिचित छ । सरुवा रोगसँग सम्बन्धित बिरामी उपचार गराउन देशभरबाट आउने भएकाले अस्पतालमा चापसमेत बढ्दै गएको छ ।
के के सेवा बिस्तार हुन्छ ?
अब बन्ने नयाँ भवनमा आइसियु वार्ड(सघन उपचारकक्ष), आइसोलेसन वार्ड, क्षयरोगको अति जटिल अवस्था (एमडीआर/एक्सपीआर), टिटानासका बिरामी हेर्ने कक्ष, वृद्धवृद्धा कक्ष, बाल कक्षलगायत सञ्चालन हुनेछन् । झाडापखालाका बिरामीका लागि छुट्टै नवजीवन कक्षसमेत सञ्चालन गरिनेछ । हालसम्म क्षयरोगका अति जटिल बिरामीलाई विशेष सेवा उपलब्ध नहुँदा भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा पठाउनुपर्ने बाध्यता छ ।
भवन बन्न तीनवर्ष लाग्ने
नयाँ भवन ७ हजार १ सय ७४ वर्ग फिटमा तीन वर्षभित्र तयारी गरिसक्ने योजना रहेको अस्पतालले जनाएको छ । जनशक्ति र भौतिक पूर्वाधार अभावमा धेरै बिरामीलाई एकै ठाउँ राखेर उपचार गराउनुपर्दा थप संक्रमणको जोखिम हुने भएकाले नयाँ भवन निर्माणपछि बिरामीले विशेष सेवा पाउनुका साथै उपचारको गुणस्तरमा पनि अझ सुधार हुने निर्देशक डा. खरेलले दावी गरे
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>