रौतहटमा जारी स्वास्थ्य शिविरमा अत्याधिक भिड, २ हजार भन्दा बढीले लिए स्वास्थ्य लाभ
रौतहट, १० चैत । रौतहटको गौरमा भईरहेको बृहत स्वास्थ्य शिविरमा दुई दिनमा २२ सय भन्दा बढीलाई निःशुल्क स्वास्थ्य परिक्षण, शल्यक्रिया र औषधी वितरण गरिएको छ ।
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा भएको शिविरको पहिलो दिन मंगलबार ९ सय १२ र दोस्रो दिन बुधबार १३ सय ३५ जानले निःशुल्क स्वास्थ्य परिक्षण गरिएको नेपाली सेनाका कर्नेल दीपक अधिकारीले जानकारी दिए । उनले पहिलो दिन ९ जनाको र दोस्रो दिन २६ जनाको निःशुल्क शल्यक्रिया समेत भएको जानकारी दिनुभयो । शिविरमा पाठेघर, हाइडोशील, हर्निया, पत्थरी, फेस्टुला, बासिर, भगन्दर लगायत करिव एक दर्जन रोगहरुको निःशुल्क शल्यक्रिया मार्फत् उपचार पनि भईरहेको उनले बताए ।
अझै ५ दिनसम्म संचालन हुने शिविरमा आज विहिबार अझै धेरै नागरिक उपचार गर्न आउने अनुमान गरिएको उनले बताए ।
सुरुमा विहान ९ बजेदेखि बेलुका पाँच बजे सम्म मात्रै शिविर संचालन गर्ने भनिएपनि अत्याधिक भिड भएपछि हिजोदेखि विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म संचालन गरिएको र स्वास्थ्यकर्मीहरुको संख्या पनि बढाईएको अधिकारीले जानकारी दिए ।
शिविरका लागि विहान ७ बजेअघि नै २ हजार जना भन्दा बढी लाईनमा बसेकाले त्यसपछि लाइनमा नबस्न आग्रह गरिएको थियो । शिविरमा एक दर्जन भन्दा बढी जिल्लाका बासिन्दा र केही भारतीय नागरिकहरु आएको कर्नेल अधिकारीले बताए ।
उहाँका अनुसार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका गरी ३० जना चिकित्सक सहित एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरु शिविरका लागि खटिएका छन् ।
स्वास्थ्य शिविरमा मोवाइल हस्पीटल मार्फत् ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिइएको छ भने विभिन्न सरकारी अस्पतालका श्रोतसाधनहरुको पनि प्रयोग गरिएको छ ।
शिविर गौरस्थीत जिल्ला अस्पताल र नेपाली सेनाको व्यारेक मैदानमा भईरहेको छ । शिविर निरिक्षणका लागि आज नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्री रौतहट जाँदै छन् भने भोली शुक्रबार स्वास्थ्य मन्त्री गगन कुमार थापा आउने कार्यक्रम रहेको छ ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>