वार्षिक ९ हजारभन्दा बढी क्षयरोगी उपचारको पहुँच बाहिर, दैनिक १२ जनाको मृत्यु
काठमाण्डौ, ९ चैत । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय क्षयरोग केन्द्रले नेपालमा दैनिक कम्तिमा १२ जनाले क्षयरोगका कारण ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै रोग न्यूनीकरणमा लाग्न सबैलाई अपिल गरेको छ ।
मार्चा २४ मा मनाइने विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राजधानीमा पत्रकार सम्मेलन गर्दै केन्द्रले क्षयरोग रोगीको डरलाग्दो आंकडा प्रस्तुत गरेको हो । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वार्षिक ४३ हजार मानिसलाई क्षयरोग संक्रमण हुन्छ । तर राष्ट्रिय क्षयरोग केन्द्रको आंकडा अनुसार गत आर्थिक वर्षमा ३२ हजार ३ सय ७९ जनामात्र क्षयरोगीको निदान र उपचार भएको छ । केन्द्रका अनुसार अझै वर्षेनी ९ हजार क्षयरोगीलाई उपचारका पहुँचमा ल्याउन सकिएको छैन । सरकारको टिवी रोग निदानको खोजपड्ताल अभियान सुस्तर र निश्प्रभावी हुँदा क्षयरोगी उपचारसम्म आउन सकेका छैनन् । निदान भएका बिरामीमध्ये ७२ प्रतिशतलाई फोक्सोको टिवी भएको छ भने बाँकी २८ प्रतिशतलाई फोक्सो बाहिर हुने टिवी भएको छ ।
क्षयरोगी मध्ये ३६ प्रतिशत महिला
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार गत आर्थिक वर्षमा ११ हजार ६ सय महिलामा क्षयरोग भेटिएको छ । त्यस्तै १ हजार सात सय ६९ जना बालिबालिका रहेको पत्रकार सम्मेलनका क्रममा केन्द्रका निर्देशक डा. शरदचन्द्र वर्माले जानकारी दिए । पत्रकार सम्मेलनका क्रममा उनले विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्म क्षयरोग मुक्त संसार बनाउने उद्देश्यले अनुसार नेपालले पनि क्षयरोग सम्बन्धी ५ वर्षे रणनीति २०१६–२१ तयार पारेको र अब त्यसअनुसार काम हुने बताए । त्यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले अझै ९ हजारभन्दा बढी बिरामी सम्पर्क बाहिर रहेकाले खोजपड्ताल अभियान र निदान उपचारलाई तीव्रता दिएर क्षयरोग न्यूनीकरण गरिने बताए । उनले यद्यपी नेपाल को क्षयरोग कार्यक्रम विश्वमै सफल कार्यक्रमका रुपमा रहेको दावी गरे ।
कहाँ कहाँ पाइन्छ क्षेयरोगको परीक्षण
सरकारले क्षयरोगको शंका भएका व्यक्तिले छिटो छरितो उपचार गर्ने भन्दै देशका विभिन्न ५ सय ९६ माइक्रोस्कोपी सेन्टरबाट क्षयरोग निदान सेवा चलाएको छ । त्यस्तै देशका विभिन्न २९ वटा क्षयरोग उपचार केन्द्रमा जीन एक्सपर्ट सेवा सञ्चालन गरिएको छ । यो टिवी परीक्षणको अध्याधुनिक प्रविधि हो । यसलाई छिटै देशभरका उपचार केन्द्रमा यो प्रविधि विस्तार गरिएको केन्द्रले जानकारी दिएको छ ।
औषधि प्रतिरोधि टिवीरोगीलाई खुशीको खवर
नेपालमा क्षयरोगीको निदान र उपचारमा केही प्रगति भएपनि पछिल्लो समय औषधि प्रतिरोधी क्षयरोगी नयाँ चुनौतिका रुपमा थपिएको छ । यद्यपी लामो समय औषधि खानुपर्ने यस क्षयरोगीलाई अब सहज भएको छ । २० देखि ३० महिना औषधि खानुपर्ने भएपनि अहिले विश्व स्वास्थ्य संगठनले ९ देखि १२ महिनामात्र खाए पुग्ने औषधि ल्याएको छ । जुन नेपालमा पनि ६ स्थानमा पाइने क्षयरोग केन्द्रले जनाएको छ ।
यद्यपी नियमित औषधि सेवन नगरेका कारण र औषधि प्रतिरोधी क्षयरोगीको सम्पर्कमा आएका कारण आषधि प्रतिरोधी क्षयरोगी बढेको सरकारी भनाइ छ । औषधि प्रतिरोधी क्षमता विकास भएका क्षयरोगीको उपचार तुलनात्मक रुपमा महंगो भएकाले यसको न्यूनीकरण कठिन भएको छ । गत आर्थिकवर्ष २ हजार पाँच सय औषधि प्रतिरोधी क्षयरोगीले उपचार पाएका छन् । यस्तै गतवर्ष ३ सय ५२ जना नयाँ बिरामी थपिएका छन् ।
स्वास्थ्यकर्मीलाई नै क्षयरोग
पछिल्लो समय चुनौति बनेको औषधिप्रतिरोधी क्षयरोगको शिकार स्वास्थ्यकर्मीनै हुनुपरेको चिकित्सकले बताएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका चिकित्सक डा. मोहन प्रसाइले क्षयरोग निदान र उपचारमा संलग्न स्वास्थ्यकर्मी नै क्षयरोगको शिकार भएको भन्दै त्यतातर्फ ध्यान दिन सरकारलाई अनुरोध गरे ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।