स्वास्थ्य बीमा गरेका बिरामीले उपत्यकाका ९ वटा अस्पतालबाट उपचार पाउने
काठमाडौ, ८ चैत । स्वास्थ्य बीमा गरेकाहरुले उपत्यकाका ९ वटा सरकारी अस्पतालबाट उपचार सेवा लिन पाउने भएका छन् ।
सरकारले स्वास्थ्य बीमा सुरु गरेसँगै उपत्यकाका विभिन्न १० वटा अस्पतालसँग सहुलियत दरको उपचारका लागि सम्झौता गरिएको छ । जस अनुसार बीमित बिरामीले सम्झौता भएका अस्पतालबाट मात्र बीमाबापतको उपचार सेवा लिन पाउने भएका हुन् । ती अस्पतालहरुसँग बीमाले निर्धारण गरेको शुल्कमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार सेवा लिन रिफर भएर आएका सहुलियत शुल्कमा सेवा दिने गरी सम्झौता गरिएको सामाजिक सुरक्षा बिकास समितिका निर्देशक डा. गुणराज लोहनीले बताए ।
डा. लोहनीका अनुसार स्वास्थ्य बीमा कार्यक्रम लागू भएको जिल्लामा सेवा लिने बीमित बिरामीहरुलाई त्यहाँका अस्पतालहरुले रिफर गरेको खण्डमा उपचार गर्ने शर्तमा सम्झौता गरिएको हो । स्वास्थ्य बीमाका सदस्य बनेका बिरामीले आफ्नो पायक पर्ने नजिकका अस्पतालमा उपचार सम्भव नभए वा चिकित्सकको सल्लाहका आधारमा ठूला अस्पतालमा उपचार गर्न पाइने व्यवस्था छ ।
आफुखुशी राजधानी आए ५० प्रतिशतमात्र सहुलियत पाइने
पायक पर्ने अस्पतालमा उपचार हुने हुँदाहुँदै वा चिकित्सकको सल्लाहबिना केन्द्रका ठूला अस्पतालमा उपचार गराउन चाहेमा भने बीमा कार्यक्रमबाट ५० प्रतिशत मात्र सहुलियत लिन सकिने छ ।
हाल सम्झौता भएका केन्द्रीय अस्पतालमा वीर अस्पताल, गंगालाल राष्ट्रिय हृदय केन्द्र ,मानसिक रोग अस्पताल लगनखेल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, प्रसुति गृह, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बालअस्पताल, पाटन अस्पताल रहेका छन् ।
स्वास्थ्य बीमाका लागि पाँचजनाको परिवारले दुई हजार ५ सय रुपैयाँ प्रिमियम रकम तिरेपछि एक वर्षसम्म ५० हजार बराबरको उपचार निःशुल्क हुने व्यवस्था छ । तर पाँचजना भन्दा बढी परिवारका सदस्य भए ४ सय ५० रुपैयाँका दरले थप शुल्क तिर्नुपर्ने छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।