देशभरका १ करोड ३७ लाख मानिस कीटजन्य संक्रमणको जोखिममा, बाँकेमा ३९ हजार झुल बाँडियो
नेपालगन्ज, २ चैत। मलेरियाको उच्च जोखिममा रहेका बाँकेका ६ वटा गाविसमा स्वास्थ्य मन्त्रालयले झुल बितरण गरेको छ ।
सेभ दि चिल्ड्रेन नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको झुललाई मलेरियाको उच्च जोखिममा रहेका बाँके जिल्लाको कालाफाँटा, लक्ष्मणपुर, ,कटकुइया, गंगापुर ,बिनौना र बैजापुरका बासिन्दालाई बितरण गरिएको हो । अत्याधिक गर्मी हुने तराईका जिल्लाहरुमा फागुनदेखि कार्तिक महिनामा मलेरिया रोगको संक्रमण बढी हुने गर्दछ ।
मलेरिया, जापानिज इन्सिेफ्लाइटिस, डेङु र हात्तीपाइले जस्ता रोगबाट बच्नका लागि मूख्यतः लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ । लामुखुट्टेको टोकाइबाट बच्नका लागि सुत्ने बेला झुलको प्रयोग गर्नु सबै भन्दा बढी प्रभाबकारी हुने भएकाले करिब ३९ हजार थान झुल बितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य मन्त्रालयको सरुवा रोग नियन्त्रण महाशाखाले सन २०१३मा गरेको एक अध्ययनका अनुसार बाँके लगायतका देशभरका २५ जिल्लाका करिब १ करोड ३६ लाख ३७ हजार जनता मलेरिया लगायत लामखुट्टेको टोकाइबाट सर्ने रोगहरुको उच्च जोखिममा रहेका छन । गतवर्ष नेपालमा ९ सय ९१ जनामा मलेरिया पोजेटिभ भेटिएको थियो ।
सन २००६ मा बाँके जिल्लाको फत्तेपुर, गंगापुर र होलियामा महमारीको रुपमा कडा खालको औंलोको संक्रमण फैलँदा ३३ जनाको मृत्यु भएको थियो ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।