सबैले खोप नपाएसम्म पोलियो कार्यक्रम जारी रहने
काठमाण्डौ, २१ फागनु । शनिवार र आइतवार सञ्चालन गर्ने भनिएको पोलियो थोपा खुवाउने कार्यक्रम सबै १६ लाख ९२ हजार बालबालिकाले नपाउँँदासम्म निरन्तर चल्ने भएको छ ।
पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई खुवाउन शनिवारबाट थालिएको खोप कार्यक्रम थप केही दिन जारी रहने स्वास्थ्यमन्त्री गगन थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए । आइतवारसम्म सञ्चालन हुने पूर्व निर्धारित कार्यक्रममा सबै जिल्लाका बालबालिकाले खोप नपाउने भएपछि केहीदिन जारी राखिने भएको हो । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अवरोधकाबीच शनिवारबाट सुरु भएको खोप कार्यक्रम पहिलो दिन १४ वटा जिल्लामा सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
शनिवार सप्तरी जिल्ला बाहेकका जिल्लामा खोप सञ्चालन भएको मन्त्रालयले जनाएको छ । खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन आइतवारदेखि स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनमा जिल्लाहरुमा पर्याप्त सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । सुरक्षाकर्मी परिचालन गरेर भएपनि खोप आवश्यक भएका सबै बालबालिकालाई खुवाउने मन्त्रालयको तयारी छ । सबै १६ लाख ९२ हजार बालबालिकासम्म खोप पर्याउन अरु तीन दिन लाग्नसक्ने मन्त्रालयको अनुमान छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।