पोलियो कार्यक्रम नरोक्न स्वास्थ्यकर्मीलाई मन्त्री थापाको अपिल, जवर्जस्ती गरे चुप नबस्ने



Download our app to get more features

काठमाडौ, २० फागुन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवाहरु निर्वाध रुपले संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई आह्वान गरेका छन् । 

मन्त्री थापाले आज विज्ञप्ती जारी गर्दै मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९(ख)को विशेष पदस्थापनाको विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बर्षौदेखि ऐनको उक्त दफा कार्यान्वयन नभईरहेका बेला आफु स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ऐनको उक्त दफा स्वास्थ्यकर्मीहरुको वृत्ति विकासमा बाधकको रुपमा रहेको महशुस गरी समस्या समाधानका लागि आफुले विभिन्न थप कार्यहरु गरेको मन्त्री थापाको दाबी छ । 

उनले  ९(ख) कार्यान्वयनका लागि पुल दरबन्दी सृजना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको र ऐनको दफा ९(ख) बमोजिम स्तर वृद्धि भएका स्वास्थ्यकर्मीहरुको दीर्घकालीन समस्या समाधानका लागि ऐन संशोधन गर्ने सैद्धान्तिक सहमति मन्त्रिपरिषदबाट प्राप्त भई ऐन संशोधन मस्यौदा समितिलाई कार्य जिम्मेवारी समेत दिइसकिएको जानकारी दिएका छन् । 

आउँदो ३ महिना भित्रमा संशोधित ऐनको मस्यौदा व्यवस्थापिका संसदमा पेश गरी सम्पूर्ण समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री थापाले विज्ञप्तीमा उल्लेख गरेका छन् । मन्त्री थापाले मन्त्रालयबाट भएका प्रयासहरुलाई स्वागत गरी सम्पूर्ण स्वास्थ्यकर्मीहरु आ–आफ्नो काममा फर्कनुपर्नेमा स्वास्थ्यकर्मीहरुबाटै थप स्वास्थ्य संस्थाहरुमा तालाबन्दी गर्ने, शनिवार र आइतबार संचालन हुने पोलियो खोपलाई प्रभावित गर्ने, खोपका सरसामानहरु ओसारपसार गर्ने सवारीसाधनहरुलाई अवरोध गर्ने जस्ता अराजक क्रियाकलापहरु भइरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् । मन्त्री थापाले स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्वाद रुपमा पोलियो लगायत नागरिकहरुले पाउने सवै स्वास्थ्य सेवालाई सुचारु गराउन अपिल पनि गरेका छन् । स्वास्थ्य संस्थाहरुलाई निर्वाध रुपमा संचालन गर्नु मन्त्रालयको कर्तव्य भएका उल्लेख गर्दै उक्त कर्तव्य पूरा गर्न मन्त्रालयले जुनसुकै कदम चाल्न समेत बाध्य हुने व्यहोरा समेत मन्त्री थापाले आन्दोलनकारीलाई चेतानी दिएका छन् । 

सुरक्षाका लागि गृहमन्त्रालयलाई पत्राचार

यसैविच, मन्त्रालयले सेवा अवरोध भएका ठाउँहरुमा सुरक्षा व्यवस्था गरी सेवा सुचारु गराउन सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । स्वास्थ्य संस्थाहरुको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सुचारु गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको हो । स्वास्थ्यकर्मीहरुको अवरोधका कारण यसअघि तराईका १२ र काठमाडौ उपत्यकाका ३ जिल्ला गरी १५ जिल्लामा पोलियो खोप कार्यक्रम हुन सकेको थिएन । 

शनिबार र आईतबार कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।

Last modified on 2017-06-19 17:06:00

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. निर्णय सहि हो यो कदम अलि अगाडि चालेकोभए अझ रामरो हुन्थ्यो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts