विभिन्न चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
काठमाण्डौ, १९ फागुन । लामो समयदेखि रिक्त रहेका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरिएको छ । प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले रिक्त रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुत्तः भएका हुन् ।
सहकुलपति एवं स्वास्थ्यमन्त्री गगनकुमार थापाको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति नियुक्त गरेका हुन् । जसअनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. आरके रौनियार नियुक्त भएका छन् ।
त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.भरत यादव उपकुलपतिमा नियुक्त भएका छन्। त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. बुद्धिबहादुर थापा नियुक्त भएका छन् ।
यसैगरी, डा. राजेन्द्र वाग्ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनेका छन् । सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री गगन थापा संयोजक, स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्यरहेको उपकुलपति छनौट समितिले उपकुलपतिका लागि नाम सिफारिस गरेको हो ।
समितिले उम्मेदवारहरुसँग कार्ययोजनासहित दरखास्त मागेको थियो। जसअनुसार पाटनमा १५, कर्णालीमा ५, धरानमा १६ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १० जनाले दरखास्त दिएका थिए ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।