“लापरबाहीले नै बिरामीको मृत्यु भएको धुलिखेल अस्पतालद्वारा स्विकार”



Download our app to get more features

काभ्रे, १९ फागुन । धुलिखेल अस्पतालको लापारबाहीले एक जनाको मृत्यु भएको छ । पनौती–१० की ४२ वर्षीय शुभद्रा महतको उपचारको क्रममा मंगलबार धुलिखेल अस्पतालमा मृत्यु भएको परिवारले दाबी गरेको छ । 

पाठघेर र पित्तथैलीको पत्थरीको उपचारको लागि शनिबार भर्ना भएकी महतको मंगलबार राति १० बजे मृत्यु भएको थियो । मृतकका श्रीमान् सहदेव महतले अस्पतालको लापरबाहीले मृत्यु भएको दाबी गरेका छन् । ‘सिकारुलाई उपचार गराउन लगाएर सिनियरलाई जानकारी नहुँदा उसको मृत्यु भएको भन्दै उनले छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

रक्तअल्पता र महिनावारी हुँदा अधिक रक्तश्राव हुने समस्याका कारण उनी अस्पताल भर्ना भएकी थिइन् । आइतबार शल्यक्रिया गरिएकी उनी सोमबारसम्म स्वस्थ नै थिइन् । उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. आभा श्रेष्ठले रगतको कमी देखिएपछि रगत राख्ने क्रममा समस्या देखिएको बताइन् । उनले भनिन् ‘ब्लड ट्रान्सफ्युज गर्दा भएको एनाफाइलेटिक रियाक्सनका कारण यो समस्या आएको हो,’ । ‘१ लाख जनामध्ये १ जनामा यो समस्या देखिन सक्छ ।’ उनले रगतमा नै केही समस्या हो कि भनेर परीक्षण (कल्चर) को लागि पठाइएको समेत बताइन् । उनले समस्या आएलगत्तै डाक्टरको टिमले अनेक प्रयास गर्दा पनि बचाउन नसकिएको दाबी गरिन् ।
 
अस्पताल प्रशासनले भने विज्ञप्ति जारी गर्दै उपचारको क्रममा भएको प्राविधिक त्रुटी आगामी दिनमा नदोर्होयाउने प्रतिबद्धता जनाएको छ । यसअघिका घटनामा व्यवस्थापनबाट प्रतिबद्धता आउने गरे पनि दोषीलाई कारबाही भने भएको छैन ।


 

Last modified on 2017-06-22 13:51:07

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts