मोजा गन्हाउने समस्याबाट कसरी बच्ने ?



Download our app to get more features

देशभर गर्मी सुरु भइसकेको छ । गर्मीयाम शुरु भएसँगै अधिकांश मानिसको टाउको दुखाई एउटै हुन्छ, मोजाका कारण खुट्टा गन्हाउने समस्या । तपाईंमध्ये कतिपयले कार्यालय वा विभिन्न व्यक्तिसँग भेटघाटमा जाँदा जुत्ता खोल्नपर्ने समस्याले हैरानी व्यहोर्नुभएको पनि होला । 

गर्मीमा तपाईंको खुट्टा अत्याधिक गनाउँछ भने जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुट्टा खुल्ला राख्नुपर्छ । लामो समयसम्म जुत्तामोजा लगाइराख्दा छालामा परेका स–साना चिराहरु दुख्छन् र तिनीहरूमा संक्रमण हुनसक्छ । 

यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फंगस अर्थात ढुसीलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । 

हरेकदिन तातो पानीले खुट्टा भिजाउँदा छाला केही नरम हुन्छ र फंगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ । नुन पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ ।

खाने सोडाको प्रयोग
तपाईंको खुट्टा अत्याधिक गनाउँछ भने सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केहीबेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा राम्रो हुन्छ ।

जुत्ता सुख्खा पारेर लगाउने
खुट्टा गन्हाउने व्यक्तिले कपडाको जुत्ता लगाउनु राम्रो हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नु नै राम्रो हुन्छ । विशेष गरी गर्मीको समयमा त जुत्ताभन्दा चप्पल र स्लिपर जुत्ता लगाए नै वेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । 
जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नुपर्छ । तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ ।

सूतिको मोजाको प्रयोग
मोजा गन्हाउने समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीको मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनुपर्छ, ताकी त्यसमा फंगसका कुनै चिन्ह नरहुन् । साथै पसिनाको गन्ध पनि जाओस् र खुट्टा नगनाओस् ।

खुट्टा सुख्खा राख्ने
खुट्टा सुख्खा राख्नु अनिवार्य र मुख्य उपाय हो । नुहाई सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नुपर्छ र १०–१५ मिनेट घाममा राख्नुपर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टामा पाउडर लगाएर काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु पर्छ । यसले पसिना आउन कम गर्छ र पसिना कम आएपछि फंगस पनि केही कम हुन्छ ।

मरेको छाला हटाउने
यो समस्या भएमा डल्लो र फोका उठ्ने केही मात्रामा कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनु पर्छ । किन भने यसबाट फेरि संक्रमण हुन सक्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा व्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेष गरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ ।

चप्पलको प्रयोग
स्वीमिगं पुलको वरिपरी, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा राम्रो हुन्छ किन भने यस्तो ठाउँबाट फंगस सर्ने बढी सम्भावना हुन्छ ।

एजेन्सीको सहयोगमा  

Last modified on 2017-06-19 17:39:12

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts