सुनसरीको विजयपुर अस्पतालमा तनाव
सुनसरी १०, फागुन । एपेन्डिसको अप्रेशन गरेको विरामीको मृत्यु भएपछि सुनसरीको विजयपुर अस्पताल तनावग्रस्त बनेको छ । मृतकका परिवार र आफन्तले विरोध गर्दै तोडफोड गरेपछि विजयपुर अस्पताल तनावग्रस्त बनेको हो ।
सोमबार साँझ धरान –१७ का ३० वर्षीय अमीत जोशीको एपेन्डिसको अप्रेशन गरिएको थियो । अप्रेशन पछि चिकित्सकहरुले परिवारलाई अप्रेशन सफल भएको जानकारी दिएका थिए । त्यसको केही घण्टा पनि नबित्दै बिरामी जोशीको मृत्यु भएपछि परिवार आक्रोशित भएका हुन् । जोशीको मृत्यु भएपछि परिवारलाई जानकारी नगराई अस्पताल प्रशासनले पहिला प्रहरी बोलाएको र प्रहरी साथमा राखेर मृत्युको घोषणा गरेको परिवारको आरोप छ । ‘मृत्यु भएको खवर पनि प्रहरी बोलाएर गराएको छ । यो हेलचेक्रयाई नै हो ।’ मृतकका भाउजु चन्द्रमाया श्रेष्ठले भनिन् ।
सोमबार एक्कासी पेट दुखेपछि जोशी आफैले मोटरसाइकल चलाएर बिजयपुर अस्पताल पुगेका थिए । साँझ उनको अप्रेशन डा. रोशन खतिवडाको टिमले गरेको थियो । परिवारहरुले दोषी चिकित्सकलाई कारवाही हुनुपर्ने भन्दै अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन् ।