सुत्केरीको मृत्युपछि भरतपुर अस्पतालमा तनाव



Download our app to get more features

चितवन, २९ माघ । चितवनको भरतपुर अस्पतालमा एकजना सुत्केरीको मृत्युको विषयलाई लिएर शनिबार तनाव सिर्जना भएको छ ।

सुत्केरी व्यथा लागेर बुधवार भरतपुर अस्पताल ल्याइएकी गोरखा पृथ्वीनारायण नगरपालिकाकी ३४ वर्षिया विमला श्रेष्ठको मृत्युको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । श्रेष्ठले शुक्रबार राति सामान्य शल्यक्रियाबाट स्वस्थ शिशुको जन्म दिएकी थिइन् ।

शिशुको जन्मपछि श्रेष्ठको स्वास्थ्यमा समस्या आउँदा समेत ड्युटीमा खटिएका नर्सहरुले बेवास्ता गर्दा उनको मृत्यु भएको परिवार पक्षको आरोप रहेको छ । यसै विषयलाई लिएर पीडित परिवारले प्रदर्शन गरेपछि भरतपुर अस्पतालमा तनावसिर्जना भएको हो ।

श्रेष्ठको उपचारमा संलग्न चिकित्सकका अनुसार सुत्केरी गराएपछि श्रेष्ठको पाठेघर नखुम्चिएका कारण उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । बच्चा जन्माएको करिब तीन घण्टापछि श्रेष्ठको पुनः शल्यक्रिया गरेर पाठेघर फालिएको भएपनि उनलाई बचाउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रप्रसाद मरासेनीले बताए ।

आक्रोशित पीडित परिवारका मागका विषयमा अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भैरहेको छ । घटनापछि आफन्तले दोषी डाक्टर तथा नर्सलाई कारबाही गर्नुपर्ने, अस्पतालको पोष्टअप वार्डमा अनुगमन गरी सुधार गर्नुपर्ने, जीवनभर नवजात शिशुको अस्पतालले निशुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिदिनुपर्ने लगायतका माग राखेका छन् । अस्पतालमा विवाद बढेर अवस्था असामान्य हुनसक्ने भन्दै घटनापछि भरतपुर अस्पतालमा प्रहरी परिचालन गरिएको छ ।

Last modified on 2017-06-28 16:03:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts