अब एम्बुलेन्स दर्ता नविकरण गर्नुपर्ने, चौमासिक रिपोर्ट पनि अनिवार्य
काठमाण्डौ, २९ माघ । अबदेखि एम्बुलेन्सले अनिवार्य दर्ता, नविकरण तथा चौमासिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ । एम्बुलेन्सको दर्ता, सञ्चालन र संजाल निर्माण गर्न भन्दै स्वास्थ्य मन्त्रालयले तयार गरेको एम्बुलेन्स निर्देशिका यी लगायत विभिन्न व्यवस्था गरिएको छ ।
मस्यौदा तयार गरेर रायका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको निर्देशिका छिटै जारी गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । निर्देशिका अनुसार अब देशभरको एम्बुलेन्सको सञ्जाल बनाएर एउटै साइरन प्रयोग गराइने छ भने एम्बुलेन्सको ट्रयाकिङ पनि गरिने छ । निर्देशिकामा एम्बुलेन्स चालकले अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको छ । एम्बुलेन्सको प्रकृति र सेवासुविधा हेरेर क, ख र ग वर्गमा बर्गिकरण गरिने निर्देशिकाको मस्यौदामा उल्लेख छ ।
हाल संचालनमा ग बर्गका मात्रै एम्बुलेन्स रहेको र आगामी दिनमा सुविधासम्पन्न क र ख बर्गको एम्बुलेन्सलाई प्रोत्साहित गरिने बताइएको छ । ती सबै एम्बुलेन्सले कति विरामी कहाँ कहाँ सेवा दिएको भन्नेबारे चौमासिक प्रतिवेदन बुझाउनु पर्नेछ।
निर्देशिकामा एम्बुलेन्स सञ्जाल बनेसँगै राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।