कलेजो क्यान्सर : आयुर्वेदीय उपचार पद्धति उपयोगी
काठमाडौँ, २९ माघ । ‘माया मारिसकेका थियौँ आमाको, कलेजोको क्यान्सर भएको पुष्टि भएपछि धन्न आयुर्वेदिक औषधि खाएर ठीक हुनुभयो’, ६४ वर्षीया चित्रमाया खनालका छोरा लेखनाखले सुनाए।
इलाम शान्ति डाँडा–९, निवासी चित्रमायालाई चार वर्षअघि कलेजोको समस्या देखिएपछि अर्बुदको आशङ्काले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा रोग भएको पुष्टि भयो ।
‘बिरामी बोल्न नसक्ने, चम्चाले पानी पिलाएर राखिएको थियो, शल्यक्रिया गर्दा डाक्टरले पाँच प्रतिशत मात्र बाँच्ने सम्भावना हुन्छ भनेपछि शल्यक्रिया गर्न मन लागेन, आयुर्वेदिक औषधि खुवाएँ, अहिले आमालाई पूर्ण रुपमा ठीक छ’, खुसी व्यक्त गर्दै उनले थपे ।
ललितपुरको कुपन्डोल गुरुद्वारा नजिकै रहेको गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी उनले आफ्नी आमालाई चार महिना आयुर्वेदिक औषधि खुवाएका थियो ।
‘वैद्यले त तीन महिना औषधि खुवाए पुग्छ भनेका थिए, मैले नै पूरा ठीक होस् भनेर थप एक महिना खुवाएर पछि परीक्षण गर्दा पूर्ण रुपमा ठीक भएको स्वास्थ्य प्रतिवेदन आयो’, कलेजोका लागि आयुर्वेदीय औषधि अमृत साबित भयो’ उनले आफ्नी आमाले थप जीवन पाएको अनुभव सुनाए ।
चित्रमाया मात्र हैन, उनीजस्ता धेरैले आयुर्वेदिक औषधिबाट पुनर्जीवन पाएका छन् । कपनका ४५ वर्षीय बद्री खड्काले बाँच्ने आशा गुमाइसकेका थिए तर अहिले स्वस्थ जीवन बिताइरहेका छन् । ‘कलेजोमा क्यान्सर भयो भनेपछि आँतले हरेस खाइसकेको थियो, आयुर्वेदिक औषधि तीन महिना खाएपछि ठीक भयो’, उनले अहिले आफूलाई कलेजोको कुनै समस्या नभएको सुनाए ।
आयुर्वेदिक औषधिको प्रयोगले आफूले नयाँ जीवन पाएको राजकुमार केसीको पनि अनुभव छ । बयालिस वर्षीय केसी तीन महिना आयुर्वेदिक औषधिको सेवनपछि अहिले पूर्ण रुपमा ठीक भएका छन् । ‘बाँचुला, यसरी काम गरेका खान सकूँला भन्ने थिएन, कलेजोमा क्यान्सर भएपछि जीवन सकिएजस्तो लागेको थियो, आयुर्वेदिक औषधिले ज्यान बचायो’, उनले बताए ।
रोगीलाई उपचार र परामर्श दिएर पुनर्जीवन दिने गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य राउतले यस्ता धेरै व्यक्तिलाई पुनर्जीवन दिने काम गरेका छन् । उनले आयुर्वेदको खोज अनुसन्धान गर्ने क्रममा विसं २०४६÷०४७ तिर विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा १५ महिने तालिम प्राप्त गरेपछि कलेजो उपचार गर्न सुरु गरेका थिए । उनले २५ वर्षदेखि कलेजोको उपचार गर्दै आउएका छन् ।
कलेजो मानव शरीरको सबैभन्दा ठूलो अङ्ग हो । कलेजो, फियो, आन्द्रा र मिर्गौलाले पाचन प्रक्रियासँग अन्त्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । वैद्य राउतले भने, ‘कलेजो, फियो, आन्द्रा र मिर्गौला शरीर सञ्चालन गर्ने मिटर बक्स नै हुन्, यी अङ्गले रक्त निर्माणदेखि अप्रत्यक्ष रुपमा परेका विषादीलाई पनि शुद्धीकरण गरी बाहिर निकाल्ने काम गर्छन् ।’
कलेजोसम्बन्धी समस्यालाई संस्कृतमा ‘कामला’, नेपालीमा ‘कमलपित्त’, अङ्ग्रेजीमा ‘जन्डिस’ भनेर बुझिन्छ । कलेजो झरझराउँदो कलेजी रङको हुन्छ । विभिन्न कारणले कमलपित्त हुन सक्छ । कमलपित्त भएपछि एसजिपिटी, एसजिओटी र विर्लुबिन अत्याधिक मात्रामा बढ्छ । आफ्नो काम गर्न असक्षम भएपछि रगत उत्पादन हुन सक्दैन । रातो रक्तकोष निर्माणमा कमी हुन्छ ।
कलेजोको समस्या भएमा यसका लक्षण अल्छी लाग्ने, खाना रुचि नहुने र शरीर शिथिल हुँदै गएर छिट्टै मृत्यु हुन्छ । लक्षण थाहा पाउनेबित्तिकै स्वास्थ्य परीक्षण गरेर आयुर्वेदिक औषधि खानुपर्छ ।
‘दक्षिण एसिया आयुर्वेदको जन्मभूमि हो, पाँच हजार वर्षअगाडि चीनको तावो पद्धति (आयुर्वेदीय पद्धति) अपनाएर हालसम्म पनि चीन सरकार उच्च महत्व दिएर नागरिकको स्वास्थ्योपचारमा लागि परेको छ तर चीनमा भन्दा पनि नेपालको आयुर्वेद विज्ञ धेरै गुणा कुशल र सक्षम थिए’, राउतले थपे, ‘जुन कुरा नेपालमा तयार भएको आयुर्वेदसम्बन्धी नेपालको दस्तावेज ‘चन्द्रनिघण्टु’ ले पुष्टि गरेको छ तर त्यसको कार्यान्वयन गर्ने पक्षमा सरकार कमजोर देखिन्छ ।’
पहिल्लो समयमा बोटबिरुवाको तस्बिरसहित पुस्तक निकालिएको छ तर त्यसले कच्चा वैद्य उत्पादन गर्ने कार्य भएको छ जसले गर्दा आयुर्वेद बदनाम भएको छ । चन्द्रनिघण्टुका पारखी धेरै बितिसके ।
‘नेपाल पनि आयुर्वेदको मातृभूमि हो, आयुर्वेदको विकास जरुरी छ किनभने आयुर्वेद विज्ञानले बिनाशल्यक्रिया उपचार सम्भव देखाएको छ’, राउतले आयुर्वेदीय पद्धतिको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिर्ए ।
आयुर्वेदीय औषधि र सचेतना (आहार÷विहार) बाट उपचार गर्न सकिन्छ । कलेजोले विषादीलाई मलमूत्रबाट फ्याँक्ने काम गर्छ । ‘आयुर्वेदीय उपचार पद्धति अपनाउनेले कलेजो प्रत्यारोपण सोच्नु पर्दैन, कलेजो प्रत्यारोपण सामान्य नागरिकको पहुँचमा छैन, विदेशमा करोडौं खर्च गर्नुपर्ने हुन्छ’, राउतले भने । खानेकुरामा ध्यान दिएर आयुर्वेदीय औषधिको सेवन गरेमा कलेजो समस्या ठीक हुने राउतले पुष्टि गरेका छन् । रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>